शुक्रबार झुन्डिएको अवस्थामा मृत भेटिएका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलबारे छानबिन भइरहेको खुलेको छ।
घटनास्थलमा प्रहरीले सुसाइड नोट भेट्टाएको थियो। जसमा यसबारे उल्लेख गरिएको एकजना प्रहरी अधिकारीले बताएका छन्।
फार्मेसीको औषधि हिनामिना प्रकरणमा बिहीबार अस्पताल प्रशासनले गठन गरेको छानबिन समितिले उनीसँग स्पष्टीकरण पनि सोधेको थियो।
उनले उक्त सुसाइड नोटमा पनि त्यही घटनालाई जोडेका छन्। उक्त घटनामा आफूलाई फसाउन खोजेको गुनासो उनले उल्लेख गरेको अनुसन्धान अधिकारीले बताए।
त्यही आरोपका कारण उनलाई फार्मेसी इन्चार्जको जिम्मेवारीबाट हटाइएको थियो।
अर्घाखाँची घर भएका ३५ वर्षीय पोखरेल शुक्रबार अस्पतालको दुई तलामाथि झुण्डिएको अवस्थामा शुक्रबार बिहान मृत फेला परेका थिए।
तर पोखरेलको शव भने आफन्त र कर्मचारीले उठाउन दिएका छैनन्। उनीहरुले घटनाको निष्पक्ष छानबिन माग गरेका छन्। पोखरेलकी श्रीमती पनि त्यही अस्पतालकी नर्स हुन्।
सुसाइड नोटमा उल्लेख भएका विषयमा छानबिन हुनुपर्ने उनीहरुको माग छ।
सुसाइड नोटमा छानबिन भइरहेका विषयहरु उल्लेख रहेका ती अधिकारीले बताए। उनले आफूलाई फसाएर केही व्यक्ति जोगिन खोजेको पनि उक्त नोटमा उल्लेख गरिएको प्रहरी अधिकारीले बताए।
आफन्तले यसमा संलग्नलाई आत्माहत्या दुरुत्साहनमा मुद्दा चलाउन माग गरेका छन्। जाहेरी परेको अवस्थामा आवश्यक देखिए अनुसन्धान हुने प्रहरीको जवाफ छ।
काठमाडौं परिसरका प्रवक्ता एवम् एसपी सीताराम रिजालले यो घटनाबारेमा महाराजगञ्ज वृत्तले अनुसन्धान गरिरहेको बताएका छन्।
Shares

प्रतिक्रिया