ad ad

समाज


अन्नपूर्ण गाउँपालिकाकामा ३३ वर्षदेखिको सीमा विवाद समाधान

अन्नपूर्ण गाउँपालिकाकामा ३३ वर्षदेखिको सीमा विवाद समाधान

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार २२:३, काठमाडौँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुईवटा वडाका बासिन्दाहरुबीचको ३३ वर्षदेखिको सीमा विवाद समाधान भएको छ। अन्नपूर्ण गाउँपालिका–१ दोवा र २ भुरुङ्गतातोपानीका बासिन्दाबीच दुवै वडाको सीमा क्षेत्रमा पर्ने बस्ती, खेतीयोग्य जमिन, वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद रहँदै आएको थियो।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, दोवाका वडाअध्यक्ष दिलीप गर्बुजा, भुरुङ्गका वडाअध्यक्ष ओम फगामी, जिसस सदस्य देव गर्बुजा, वडा सदस्य र दुवै वडाका प्रतिनिधिहरुको बैठकले विवादलाई सहमतिमा टुङ्ग्याएको हो। 

विसं २०४६/४७ मा गाविस विभाजन हुँदा दोवाका बासिन्दा बसोबास गर्दै आएको सुनारीको बस्ती, जग्गा र लेकको चरन तथा वन क्षेत्र प्राविधिक त्रुटिका कारण भुरुङ्ग तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर दुवै गाउँका बासिन्दाबीच तीव्र विवाद रहेको थियो।

सीमा विवादको विषयलाई लिएर असार ८ गते शुक्रबार दोवाका बासिन्दाले अन्नपूर्ण गाउँपालिकाको कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए।

नक्सामा जे भए पनि भोगचलन गर्दै आएको सिमानाअनुसार नयाँ नक्सा तयार पार्न प्रक्रिया अघि बढाउने र सीमा क्षेत्रको जङ्गल दुवै गाउँका उपभोक्ताले आफूलाई जहाँ पायक पर्छ त्यही उपभोग गर्ने २०७४ साल कात्तिक १९ गतेको सहमति कार्यान्वयन गर्ने निर्णय भएको छ।

सीमा विवादको विषयलाई लिएर भुरुङ्ग तातोपानीका पूर्वगाविस अध्यक्ष कुलवीर राम्जाली, वडाअध्यक्ष फगामी र पूर्ववडा सदस्य बुद्धि पुनमाथि दोवाका बासिन्दाले सामाजिक सञ्जाल र प्रदर्शनका क्रममा लगाएको आरोपको दोवाका बासिन्दाका तर्फदेखि क्षमायाचना मागिएको छ।

नक्साको त्रुटि सच्याएर नयाँ बनाउन विशेष गाउँसभाबाट निर्णय गरेर संघीय सरकारसँग प्रक्रिया अघि बढाउने र दुई वडाको विकास योजनाका लागि बजेट विनियोजनमा भूगोलका आधारमा नभएर हालकै अनुपातलाई आधार मान्ने सहमति पनि भएको भुरुङ्गका वडाअध्यक्ष फगामीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .