ad ad

समाज


सुनिनै छाडे असारे भाका

सुनिनै छाडे असारे भाका

फाइल तस्बिर


रासस
असार १६, २०८० शनिबार १०:३४, काठमाडौँ

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खीर,
घरमा छैन शितलु वचन, मनमा छैन थिर।
छुपुमा छुपु खेतमै रोपूँ, हातको बीउ छउञ्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल।।’

लोकगायिका हरिदेवी कोइरालाको स्वरमा रेहेको यस्तै–यस्तै शब्दमा रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन्।

असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने चलन थियो। असारे भाका लोप हुने अवस्थामा पुग्दा पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाकी खिनी तिमिल्सिना निकै चिन्तित देखिन्छिन्। 

शुक्रबार हेमजामा भएको रोपाईं महोत्सवमा खिनी तिमिल्सिना श्वास पुर्‍याइ–नपुर्‍याइ असारे भाका गाउन थालिन्। गीत गाउँदा उनी एक्लै परिन्।

आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन्। पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारेगीत नसुनिएको खिनीले बताइन्। पछिल्ला दिनमा बढ्दो आधुनिकतासँगै असारमा पहिलेजस्तो उल्लास पाइन छाडेको उनको भनाइ छ।

आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन्।

उमेरले ७१ वर्ष लागेकी खिनीले बिमारले छोएपछि केही वर्ष गाउन छाडिन्। नयाँ पिँढीलाई असारे गीत गाउनै आउँदैन। खिनीलाई असारे भाका हराउँछ कि भन्ने चिन्ता लागेको छ। 'म बिरामी भएर गाउन सकिनँ,' उनले भनिन्, 'मैले छोडेसी अरुले पनि गाउन छाडे खासमा नजानेर रहेछ।'

बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने गर्ने हुँदा असारे गीतको रौनक घटेको उनी बताउँछन्। पछिल्लो सयममा रोपाइँको क्रममा असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको उनले बताइन्।

आजकल रोपाइँको मौलिकता हराउँदै गएकामा पाका नागरिक चिन्तित छन्। कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन्। हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ। फेरि उनले भाका हाल्न सुरु गरिन्

‘असार मासको छिपछिपे हिलो, छिः मलाई घिन लायो
जेठी र कान्छी नगरे झगडा
कान्छीलाई दिम्ला गइरीको खेत, जेठीलाई बगर
चुधरी चोलियामै सिलाइ दिउँदा बाहुली पसार
पूर्वको ढोका उघारी हेर्दा लाएछ असार’ 

लोप हुने अवस्थामा पुगेको असारे भाका पुस्तान्तरका लागि तिमिल्सिनाले पहल पनि गरेकी छन्। 'अरुलाई सिकाउँछु भन्ने त लाग्छ नि सिकाउन पनि तयार छु,' उनले भनिन्, 'अहिलेका केटाकेटी माया पिरतीका गीतभन्दा अरु त गीत नै होइन जस्तो गर्छन्।' संसार छोडेर जाने बेलामा आफूसँग भएको प्रतिभा पुस्तान्तरण गर्ने उनको रहर छ। 

शुक्रबार नै पोखरा पर्यटन परिषद्ले आयोजना गरेको १८ औँ असारे रोपाइँ महोत्सवमा पनि असारे गीत वीरलै सुनियो। महोत्सव हेर्न पुगेका युवायुवती हिलो खेल्न व्यस्त भए पनि उनीहरुलाई असारे गीत, धान रोपाइँ र बिउ काट्ने कुनै चिन्ता थिएन। त्यही हुलमा पोखरा महानगरपालिका–२८ को काफलघारी आमा समूह भने जानी नजानी गीत गाउन सिक्दै थिए।

‘वनमा खेल्ने चरा र चुरी माछी त लेउमा 
यो ८० सालको रोपाइँ महोत्सव वियजपुर छेवैमा।।
माझठानाको टारी बैदामको बारी नामै छ प्रख्यात
आर्वाको घारी रमाइलो गरौँ अहिलेको वर्ष त।।’

आमा समूहको उद्देश्य पनि हराउँदै गएको असारे भाका जोगाउने भन्ने नै थियो। आमाहरुले जस्तै खाट्टी असारे भाका आफूहरुलाई पनि नआउने काफलघारी आमा समूहकी अध्यक्ष अम्बिका भण्डारीले बताइन्।

'असारे गीत पहिलाका बूढाबूढीले जस्तो गाउन जानिँदैन। यो संस्कृति जोगाउनका लागि जानी नजानी गाइएको हो,' उनले भनिन्, 'अब आउने पुस्ताका लागि सिकाउन बूढाबूढीलाई भेटेर गाउन लगाएर मोबाइलमा सेभ गरेर राख्ने अनि हामीले सिक्ने छोराछोरीलाई पनि सिकाउने योजना छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .