समाज


पूर्वी भेगमा बाढी पहिरो : कहाँ के भयो?

पूर्वी भेगमा बाढी पहिरो : कहाँ के भयो?

नेपालखबर
असार ३, २०८०, आइतबार , काठमाडौँ

गएराति देशको पूर्वी भेगमा परेको पानीका कारण आएको बाढी पहिरोबाट विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति पुगेको छ।

बाढी तथा पहिरो पीडितको उद्धार, राहत तथा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

पाँचथरको फालेलुङ गाउँपालिका–३ खोलाघारीस्थित गएराति पहिरो जाँदा पहिरोमा परी सोही ठाउँस्थित मामाघर बस्दै आएको सोही गाउँपालिका-४ मेमेङ घर भएका प्रदिप साउदेनकी छोरी ८ वर्षीया जुना साउदेनको मृत्यु भएको छ। पहिरोमा परेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको छ।

साथै, पहिरोले फालेलुङ गाउँपालिका–३ खोलाघारी बस्ने ६८ वर्षीय मनप्रसाद राईको घर पुरिएर अन्नपात, लत्ताकपडा, भाँडाबर्तन पूर्णरुपमा क्षति भएको छ।

यता, इलामको फाकफोकथुम गाउँपालिका–१ पतेवास्थित आमचोक-पंचमी भित्री सडक खण्डमा गएराति आएको अविरल वर्षाको कारण पहिरो जाँदा सडक अवरोध भएको छ। सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।

यसैगरी ईलामकै माङसेबुङ गाउँपालिका–२ पावास्थित गजुरमुखी-दमक भित्री सडक खण्डमा अविरल वर्षाका कारण गएराति पहिरो जाँदा सडक अवरोध भएको छ।

ताप्लेजुङको सिरीजंघा गाउँपालिका-१ सिनाम हैरङ्गे र सोसुङ्वास्थित तेल्लोक थर्पु सडक-खण्ड, पाथिभरा याङबरक गाउँपालिका-१ सेसम्बुस्थित उत्तर-मेची राजमार्ग, आठराई त्रिबेणी गाउँपालिका-१ मालबासेस्थित भित्री सडकखण्ड, मेरिङ्देन गाउँपालिका-३ मैवाखोलास्थित दोभान ढुङ्गेसाँघु सडकखण्डमा गएराति अविरल वर्षाका कारण पहिरो जाँदा अवरोध भएको छ भने सिदिङ्वा गाउँपालिका-४ स्थित पाँचथर ताप्लेजुङ जोड्ने ईन्द्रावती खोलास्थित ताप्लेजुङ तर्फको पुलको साईडको सडक अविरल वर्षाका कारण गएराति खोलाले बगाउँदा सडक पूर्ण रुपमा अवरोध भएको छ।

साथै मैवाखोला गाउँपालिका-३ र ४ जोड्ने ताम्राङ खोलास्थित पक्की पुल बगाएको भने झोलुङ्गे पुल बाढीले लतारी कोल्टे परेको छ।

यसैगरी ताप्लेजुङ, सिरीजंघा गाउँपालिका-३ स्थित अस्थाई प्रहरी चौकी काँडेभन्ज्याङको कम्पाउण्ड वाल करिब ५ मिटर आइतबार बिहान पहिरो जाँदा कार्यालय भवन जोखिममा परेको छ भने सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरो जाँदा स्वास्थ्य चौकी भवन पूर्ण रुपमा क्षति भएको छ।

संखुवासभा चैनपुर नगरपालिका-११ कावा खोलामा गएराति आएको बाढीको कारण चैनपुर नगरपालिका-११ लुहाकोट बिजुवा सामुदायिक लिफ्ट खानेपानी आयोजना अन्तर्गत सभाखोलाबाट मोटर पम्प, मोटर ट्रान्सफर्मर, १ वटा भवन र सोही ठाउँ बस्ने रेलबहादुर राई समेत ८ जनाको खेत बाली बगाएको छ।

साथै सोही बाढीले ५ जनाको घर तथा गोठ र खाँदबारी नगरपालिका-९ सभाखोला पुल छेउमा रहेको १ वटा टिपरसमेत बगाई आधार पुरिएको अवस्थामा फेला परेको छ।

यसैगरी संखुवासभा, पाँचखपन नगरपालिका-८ दोभानेस्थित हेवा खोलामा बाढी आई सोही ठाउँ बस्ने सूर्यबहादुर न्यौपाने, धन कुमारी सुवेदी, अर्जुन कुमार कार्की समेतको घर र हेवा खोलामा निमार्णाधिन पक्की पुलको निर्माण सामग्रीहरु भाईब्रेटर ५ थान, गाडा ५ थान, नुजल ५ थान, प्लाष्टिक पाईप २ रोल, पानी तान्ने मेसिन १ थान, युजक क्लेम्प, विभिन्न हाते औजारहरु, पानी राख्ने ड्रम ९ थान, त्रिपाल ३ थान, करिब २५ लाख रुपैयाँ मूल्य बराबरको फलामको डण्डीहरू बगाएको छ।

यस्तै धान खेत लगायत बिभिन्न सर सामानहरू, चैनपुर-बाह्रविसे जोड्ने पाँचखपन नगरपालिका-८ र चैनपुर नगरपालिका-४ हेवा खोलाको निमार्णाधिन मोटरेवल पुलको विभिन्न सामानहरु, ट्रयाक्टर १ थान, लिफ्ट वाला मिक्चर मेसिन १ थान समेत गरी करिब १ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको धनमाल क्षति पुग्नुको साथै पुलमा आंशिक क्षति भएको छ।

बाढी पहिरो गएको स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य तथा अनुसन्धान गरिरहेको छ।

 

असार ३, २०८०, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .