समाज


प्राधिकरणले मेयर शाहलाई सोध्यो स्पष्टीकरण, चित्त नबुझे कारबाही गर्ने

प्राधिकरणले मेयर शाहलाई सोध्यो स्पष्टीकरण, चित्त नबुझे कारबाही गर्ने

फाइल तस्बिर


नेपालखबर
असार १, २०८० शुक्रबार १५:४१, काठमाडौँ

नेपाल नागरिक उड्ययन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग ७ दिने स्पष्टीकरण सोधेको छ।

प्राधिकरणका उपप्रबन्धक प्रकाशचन्द्र शर्माले शुक्रबार काठमाडौं महानगरपालिकाको नाममा पत्र लेखेर स्पष्टीकरण पेश गर्न भनेका हुन्। 

प्राधिकरणले काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित विमानस्थल क्षेत्रको फेन्सिङ तारबार काटेर लैजाने कार्यमा प्रत्यक्ष संलग्नता रहेको भन्दै मेयर शाहसँग स्पष्टीकरण मागेको हो।

प्राधिकरणले महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेससहितका नगरप्रहरीको टोलीले यही जेठ ३२ गते सिनामंगलस्थित विमानस्थलक्षेत्रको फेन्सिङ तार काटेको आरोप लगाएको हो। 

‘नगर प्रहरी उपरीक्षक राजु पाण्डेसमेतले कुनै जानकारी नदिई अन्य नगर प्रहरीलाई आदेश दिएर फेन्सिङ तारबार काट्न लाग्दा प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेका थिए। तर त्यस कुरालाई अटेर गरी जबरजस्ती कानुनविपरीत कार्य गरे गराएको र त्यससम्बन्धी जानकारी माग गर्दा हामीले नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो भन्ने जवाफ आयो’, प्राधिकरणले भनेको छ, ‘त्यहीँ सोध्न जानुस भनी जवाफ दिएकाले तारबार फेन्सिङ काटी लैजाने कार्यमा तपाईंको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५(१) बमोजिम सजाय किन नगर्ने हो?’ 

प्राधिकरणले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न पनि भनेको छ। ‘म्यादभित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम भइजाने व्यहोरासमेत यसै पत्रबाट सुचित गरिन्छ’, प्राधिकरणले भनेको छ। 

यसअघि मेयर शाहले सिनामंगलस्थित प्राधिकरणको नयाँ भवन नक्सा पास नै नगरी बनाएको भन्दै निर्माणमा रोक लगाइ दिएका थिए। त्यसपछि प्राधिकरणले पनि शाहलाई फेन्सिङ तार काटेको आरोपमा स्पष्टीकरण सोधेको हो।

प्राधिकरणले सिनामंगलस्थित नयाँ भवनको नक्सा पास प्रक्रिया अगाडि बढाउन काठमाडौँ महानगरपालिकालाई गत फागुन ९ गते नै पठाइसकिएको दाबी गरेको छ। प्राधिकरणले महानगरबाट कुनै जवाफ नआएकोले पुनः उक्त नक्सा पास प्रक्रिया अगाडि बढाउन महानगरपालिकालाई पत्राचार गरिएको दाबी पनि गरेको छ। 

यसअघि गत जेठ २४ गते महानगरले प्राधिकरणलाई पत्र लेखेर प्रचलित कानुन बमोजि उक्त भवन निर्माण भएको छ कि छैन भनेर विवरण मागेको थियो। उक्त भवनको नक्सा पास नभए कानुनबमोजिम नक्सा पास गर्न निर्देशन पनि महानगरले दिएको थियो।

प्राधिकरणले ८ वर्षअघि उक्त भवन निर्माण थालेको थियो । यो ११ तले भवन निर्माणका लागि प्राधिकरणले पौने दुई अर्ब रूपैयाँ खर्च गरेको थियो। प्राधिकरणको यो भवनमा एरोड्रोम र इन्जिनियरिङ विभाग सरिसकेको छ।

यस्तोमा केही दिनअघि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली पुगेर उक्त भवनको निर्माणाधीन संरचना अघि नबढाउन भनेका थिए। त्यसयता महानगर र प्राधिकरणको द्वन्द्व सतहमा आएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .