ad ad

समाज


बढ्दै मौसम बदली र वर्षा, घट्दै तापक्रम

आज पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी पर्ने
बढ्दै मौसम बदली र वर्षा, घट्दै तापक्रम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ २९, २०८० सोमबार ६:५०, काठमाडौँ

आज (सोमबार) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

त्यसो त यो खबर तयार गरिरहँदा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए। 

महाशाखाका अनुसार आज दिउँसो पनि कोशी  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

आज अपराह्नतिर काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानांगले जानकारी दिए।

यसबाहेक दिउँसो कोशी प्रदेश, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा (घाम लाग्नु) रहने महाशाखाले जनाएको छ। 

यस्तै राति पनि कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

यसबाहेक राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

हिजो कहाँ कहाँ पानी पर्‍यो?
मौसमविद् राजु प्रधानांगका अनुसार कोशी, बागमती, गण्डकी प्रदेश र मधेश प्रदेशको पूर्वी भूभागमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ। 

‘हिजो राति काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ’, उनले भने। 

तापक्रम घट्दै
वर्षासँगै देशको पूर्वी क्षेत्रमा तापक्रम केही कम हुँदै गएको मौसमविद् प्रधानांगले बताए। 

‘देशको पूर्वी क्षेत्रमा तापक्रम घटेको छ’, उनले भने, ‘अझै मध्य र पश्चिम क्षेत्रमा भने तापक्रम यथावत् छ।’

उनका अनुसार मौसम बदली र वर्षा हुने क्रम बढेकाले अब अन्य क्षेत्रमा पनि क्रमशः तापक्रम कम हुँदै जानेछ। 

बेलुका पानी परेकाले काठमाडौं उपत्यकामा पनि अन्य दिनको तुलनामा आज बिहान केही शीतल अनुभव भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .