समाज


जनकपुरमा पत्रकार कुट्नेमाथि कारबाही गर्न प्रशासन सहमत

जनकपुरमा पत्रकार कुट्नेमाथि कारबाही गर्न प्रशासन सहमत

शैलेन्द्र महतो
पुस २८, २०७६ सोमबार १५:५०,

जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा मेयर लालकिशोर साहकाे कार्यकक्षमा पत्रकारहरुमाथि भएको कुटपिटमा संलग्नमाथि कारबाही गर्न प्रशासन सहमत भएकाे छ। 

जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा सोमबार भएको सर्वपक्षीय बैठकमा नेपाल पत्रकार महासंघ धनुषा शाखा र सरकारी निकायबिच ९ बुँदै सहमति भएको हो।

घटनामा संलग्नलाई दोषी पहिचान गरी प्रहरीले तत्कालै कारबाही प्रक्रिया अघि बढाउने, जानकी मन्दिरको फूलबारी अतिक्रमणको बिषयमा नापजाँच प्रतिवेदनका आधारमा कार्यान्वयन गर्नेरगराउने, उपमहानगरपालिकाका कर्मचारी लगायत आन्दोलित पक्षले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने, उपमहानगरपालिका कार्यालयमा अविलम्ब सूचना अधिकारीको व्यवस्था गरि सहज सूचना प्रवाह गर्ने लगायतकाको ९ बुँदे सहमति भएको जनाएको छ।

सर्वपक्षीय बैठकमा राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस धनुषाका सभापति महेश शंकर गिरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनुषाका सचिव दिपक यादव, राष्ट्रिय जनता पार्टी नेपाल धनुषाका अध्यक्ष मण्डलका संयोजक प्रमोद कुमार यादव, समाजवादी पार्टीका नगर संयोजक विष्णुदेव साह, जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट निमित्त प्रशासकीय अधिकृत मेहिलाल यादव, कर अधिकृत प्रमेश झा, कर्मचारी यूनियनका नेता कृष्ण कुमार झा, नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल कुमार मिश्र, पत्रकार श्याम सुन्दर शशी, आन्दोलन संघर्ष समितिका सदस्य राजेशकुमार कर्ण, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेती लगायतकाहरुको सहभागिता थियो।

गएको पुस २२ गते उपमहानगरपालिक कार्यालयमा जानकी मन्दिरको फुलबारी जग्गा अतिक्रमण विषयमा मेयर साहकै कार्यकक्षमा पत्रकारहरुमाथि कुटपिट भएको थियो। नगरपालिकाले उल्टै पत्रकारहरुले महिला कर्मचारीहरुमाथि कुटपीट गरेको आरोप लगाएको थियो।

सहमती भएका बुँदाहरुमाथि चाँडै कारबाही प्रक्रिया अगाडि नबढाइए गठित आन्दोलन संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन बाध्य हुने नेपाल पत्रकार महासंघ धनुषा शाखाले चेतावनी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad