ad ad

समाज


पुनः पश्चिमी वायु प्रवेश गर्दैै, वर्षा र हिमपातको सम्भावना कस्तो छ?

पुनः पश्चिमी वायु प्रवेश गर्दैै, वर्षा र हिमपातको सम्भावना कस्तो छ?

नेपालखबर
पुस २८, २०७६ सोमबार ०:५०,

केही दिनयता उल्लेखनीय मौसम प्रणाली नरहेको नेपालमा आज (सोमबार) पुनः पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्ने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार देशको सुदूरपश्चिम क्षेत्रको आकाशमा पश्चिमी न्यून चापीय प्रणालीको बादल आउने क्रममा छ।

‘आज (सोमबार) रातिसम्ममा यो प्रणाली सुदूरपश्चिम आइपुग्ने देखिन्छ,’ सोमबार बिहान उनले नेपालखबरसँग भने, ‘यसले पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना छ।’

साथै पश्चिम पहाड तथा तराईका केही स्थानमा हल्का वर्षा गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले भित्रिने प्रणाली कमजोर किसिमको भएकाले यसको प्रभाव पश्चिमी क्षेत्रमा मात्र सीमित हुने र देशका अन्य स्थानमा खासै असर नपार्ने वरिष्ठ मौसमविद् पौडेलको अनुमान छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  जारी गर्दै भनेकाे छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने भएकाले हुस्सु/कुहिरो लागेका स्थानमा राम्रो सँग घाम नलाग्ने भएकाले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपाय अपनाउन हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ।

साेमबार प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणाली मंगलबार रातिदेखि नै कमजोर हुने महाशाखाले जनाएको छ।

‘बरु शुक्रबार पुनः अलि बलियो खालको पश्चिमी न्यून चापीय प्रणाली भित्रिने देखिन्छ,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘त्यसले चाहिँ देशैभर प्रभाव पार्ने देखिन्छ।’

आजको मौसम
यतिबेला (सोमबार बिहान) तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा मौसम सामान्यतया सफा छ। अहिले काठमाडौं उपत्यकामा समेत हल्का हुस्सु देखिएको वरिष्ठ मौसमविद् पौडेलले बताए।

‘उपत्यकाको हुस्सु घाम लागेसँगै हटेर जान्छ तर तराईका हुस्सु/कुहिरो हट्न समय लाग्छ,’ उनले भने, ‘आज पहाडी क्षेत्र तथा तराईका पनि कपितय स्थानमा घाम लाग्ने सम्भावना छ।’

महाशाखाका अनुसार अहिले पश्चिमी, मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ र अपराह्नपछि बिस्तारै सुधार हुँदै जानेछ। 

पश्चिम तराईअन्तर्गत कञ्चनपुर कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपुर/परासी,  मध्य तराईअन्तर्गत चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा तथा पूर्वी तराईअन्तर्गत सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापालाई महाशाखाले राखेको छ।

सोमबार बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री सेल्सियस रहेको वरिष्ठ माैसमविद् पाैडेलले जानकारी दिए।

आगामी तीन दिनको मौसम पूर्वानुमान :
पुस २८ गते (सोमबार)
दिउँसो : देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने  सम्भावना  छ। 

राति : देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी  भूभागका एक-दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ।

पुस २९ गते (मंगलबार)
दिउँसो : देशका पश्चिमी भूभागमा  सामान्य बदली भई अन्य पहाडी भूभागमा आंशिक बदली  रहनेछ। पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यमसम्म  हिमपात हुने सम्भावना छ।

राति : देशकाे पश्चिमी भूभागमा  सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी  भूभागका एक-दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

माघ १ गते (बुधबार)
दिउँसो : देशका पश्चिमी भूभागमा आंशिकदेखि  सामान्यसम्म बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी  भूभागका एक(दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

राति : देशभरको मौसम सामान्यतया सफा रहनेछ। 

स्राेत : जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .