प्रहरीले विभिन्न हात हतियार र लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
धरान उपमाहनगरपालिका १५ बस्ने सरोज गुरुङसहित तीन जनालाई प्रहरीले विभिन्न हतियार र लागुऔषधसहित पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले विभिन्न हातहतियार, अवैध लागुऔषध र नगदसहित ३ जनालाई बिहीबार बिहान उनीहरुकै घर र कोठाबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा धरान उपमहानगर–१५ धरान बस्ने ३९ वर्षीय सरोज गुरुङ, धरान –११ डेरा गरी बस्ने भोजपुर हतुवागडी गाउँपालिका–२ घर भएका ३१ वर्षीय सुरेश राई र साेही ठाउँ बस्ने भोजपुर आमचोक गाउँपालिका–६ घर भएका २९ वर्षीय विजय राई रहेका छन्।
विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुको घरकोठा र कम्पाउन्डबाट पेस्तोल २ थान, त्यसको म्याग्जिन १ थान, एसएलआरको गोली १४ राउन्ड, पेस्तोलको गोली ११ राउन्ड, लागुऔषध डाइलेक्स डीसी ४ बोतल, खैरो हेरोइन २ ग्राम ७ सय ३० मिलिग्राम, खुकुरी २ थान, फलामको नक १ थान, मुखुन्डो ३ थान, मोबाइल ३ थान, को २५ प ४९८९, को९प ४३९८, को५ प ३७५७ नम्बरका तीन थान मोटरसाइकल, डाईसको गोटी ६ थान, नगद १५ हजार १ सय ३५ रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया