ad ad

समाज


अस्पतालबाट सडकसम्म पुग्यो नर्स र गिभिनाबीचको विवाद

संघ भन्छ : हाम्रो गल्ती छैन, गिभिनाका समर्थक भन्छन् : नर्सहरु सुध्रियुन्
अस्पतालबाट सडकसम्म पुग्यो नर्स र गिभिनाबीचको विवाद

फाइल तस्बिर


समृद्धा केसी
जेठ ९, २०८० मंगलबार १९:४८, काठमाडौँ

२७ वैशाखमा बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरको आकष्मिक कक्षमा भएको नर्स र सामाजसेवी रुपमा परिचित गिभिना मगरबीचको विवादले सामाजिक सञ्जाल तातेको छ। गिभिनासँगको विवादका कारण नर्सहरु अहिले सडक आन्दोलनमै उत्रिएका छन्। 

क्यान्सरकी बिरामी एक बालिकाको उपचारका विषयमा विवाद हुँदा नर्सहरुले  आफूमाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै  गिभिनाले त्यसको  भिडिओ टिकटकमा अपलोड गरेकी थिइन। 

उक्त भिडिओ सार्वजनिक भएपछि विवाद झनै चुलिएको छ। नर्स र उनीहरुको पेशालाई आपत्तिजनक गालीगलौज गरेको भन्दै देशका विभिन्न अस्पतालका नर्सहरु सोमबारदेखि माइतीघरमण्डलमा आन्दोलित छन्।

उनीहरुले काम गर्ने सुरक्षित वातावरण नभएको बताएका छन्। सामाजिक सञ्जालमा नर्सहरुमाथि हुने आपत्तिजनक टिकाटिप्पणी रोकिनु पर्ने मागसहित उनीहरु धर्नामा उत्रिएका छन्। 

उता गिभिनाले बिरामीको उपचारका लागि जुटाउने सहयोगलाई नर्सहरुले भिख र आफूलाई भिखारी भनेको आरोप गिभिनाले लगाएकी छन्। 

के थियो चितवनको घटना? 
नर्सहरु र गिभिनाबीचको लफडा २७ वैशाखबाट सुरु भएको हो। एक १६ वर्षीया किशोरी भरतपुर क्यान्सर अस्पतालमा एक वर्षदेखि उपचाररत थिइन्। 

अहिले गिभिनासँग विवादमा उत्रिएका नर्सहरुले नै ती किशोरीको रेखदेख गरिरहेका थिए। आर्थिक अवस्था कजोर भएकी ती बालिकाको परिवारले उपचार खर्च धान्न नसेपछि अस्पतालबाट घर लगेका थिए। 

त्यसपछि उनको उपचारका लागि गिभिनाले पाँच दिनमा झन्डै ११ लाख रुपैँया जुटाइन्। त्यसपछि फेरि उपचार गर्न भरतपुर क्यान्सर अस्पताल लगिन्। 

अघिल्लो दिन ती किशोरीलाई २४ घण्टामा दिइने सुई अर्को दिन पनि त्यही समयमा लगाउनु पर्ने थियो। 

अघिल्लो दिन उनलाई सुई लगाइदिएकी नर्सको ड्यूटी समय सकिएकाले अर्को नर्सलाई जिम्मा लगाएकी थिइन्। त्यही बेला गिभिना अस्पताल पुगिन्। उनले हिजोकै समयमा सुई लगाउनु पर्नेमा ढिलो भइसक्यो भनेर नर्सलाई प्रश्न गरिन्। 

तर ड्युटीमा रहेकी ती नर्सले आफू व्यस्त भएको भन्दै अर्का बिरामी हेरेर एकक्षणमा सुई लगाउने जवाफ दिन्छिन्। त्यहीबेला नर्स र गिभिनाबीच चर्काचर्की सुरु हुन्छ। 

त्यही विवादको भिडिओ गिभिनाले खिचिसकेकी थिइन्। उनले उक्त भिडिओ तीन दिनपछि १४ लाखभन्दा बढी फलोअर्स भएको आफ्नो टिकटक एकाउन्टमा अपलोड गरिन्। 

दुई पक्षबीचको विवादको उक्त भिडिओ टिकटका मात्रै सिमीत बन्दैन, फेसबुक र यूटुबमा पनि फैलिन्छ।

उक्त भिडिओमा आफूहरुलाई अपशब्द प्रयोग गर्दै कमेन्टको वर्षा भएपछि नर्सहरुले जिल्ला प्रशासन कार्यलय चितवनमा उजुरी दिन्छन्। 

अनुमतिबिना खिचेको भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेपछि नर्सहरुलाई जथाभावी गाली बर्षा हुँदा स्थानीय प्रशासनले गिभिनालाई बोलाएर माफी माग्न भन्छन। उक्त विवदको भिडिओ पनि डिलिट गर्न लगाइन्छ। फेरि शुक्रबार उनको उक्त भिडिओ अर्को एकाउन्टमा पनि राख्छिन्। त्यसपछि यो भिडिओ झनै भाइरल भयो।

नर्सहरुलाई अपशब्दसहित कमेन्ट गरेकाले नर्सहरुले रिर्पोट गरेपछि गिभिनाको उक्त टिकटक अकाउन्ट अहिले ब्यान्डमा परेको छ। गिभिनाले टिकटक एकाउन्टबाटै सहयोग जुटाउने गरेकी थिइन्। 

के भन्छ नर्सिङ संघ? 
गिभिनाले राखेको भिडिओमा नर्सहरुलाई अपशब्द प्रयोग भन्दै नर्सहरुले साइबर ब्यूरो र जिल्ला प्रशासन कार्यलयमा पनि उजुरी दिएका छन्। नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक मनकुमारी राईले कारबाही अघि बढाएको सुनाइन्। 

भरतपुर क्यान्सर अस्पतालको घटनाबारे जानकारी आएपछि संघले बुझ्दा नर्सको कुनै गल्ती नदेखिएको राईले बताइन्। यसबारे आफूहरु स्वास्थ्य मन्त्रालय पनि पुगेको उनले बताइन्। 

‘गिभिनाले सामाजिक सञ्जालमा राखेको भिडिओ मैले पनि हेरेँ। त्यसमा नर्सहरुलाई तल्लोस्तरको गाली गरिएको छ। ती सबै कमेन्ट मैले पढ्न सकिनँ,’ अध्यक्ष राईले भनिन्। 

गिभिनाभन्दा उनको फलोअर्सहरुले नर्सहरुलाई जथाभावी गाली गैलोज गरेका छन्। नर्सहरु आफ्नो पेशागत सुरक्षाका लागि आन्दोलित हुनु परेको अध्यक्ष राईले बताइन्। 

‘सामाजिक अभियान्त हो, लाखौँ फलोअर्स छन् भनेर चिकित्सा पेशालाई बदनाम गर्ने गरी गाली गर्न मिल्दैन,’ अध्यक्ष राईले भनिन्, ‘उहाँ र उहाँको फलोअर्समाथि कारबाही हुनुपर्छ भनेर पहल गरिहेका छौं।’ 

गिभिनाका सर्मथकले नर्स पेशालाई  नै अश्लील शब्दहरुसहित गाली गरिहेका उनले बताइन्। त्यसलाई नरोकेर उल्टो नर्सहरुसँग जुध्न आएकाले त्यसको विरोध गर्नुपरेको उनको तर्क छ।

‘यस्ता घटनाहरुले नर्सहरुको मनोबल कसरी बढ्छ? असुरक्षा हुँदा काममा मन लाग्न सक्दैन’, अध्यक्ष राईले भनिन्। 

अस्पताल प्रशासनको अनुमति नलिई गिभिनाले खिचेको भिडिओको सत्यतथ्य नबुझी एकपक्षीय रुपमा नर्सिङ पेशाप्रति अपमानजनक शब्द प्रयोग गर्दै गाली गर्नु नहुने उनको तर्क छ। यसले नर्सहरुको आत्सम्मानमा चोट पुगेकाले सडकमै उत्रिनुपरेको उनले सुनाइन्।

संघले नर्स पेशाप्रति नकरात्मक असर फैलाउन खोज्ने सामाजिक सञ्जालका प्रयोगकर्तालाई साइबर अपराधमा कारबाही गर्न माग पनि गरेको छ। 

उनीहरुले नर्सिङ पेशाको मर्यादा कायम राख्न, नर्सहरुलाई सुरक्षित रुपमा काम गर्ने वातावरण दिलाउन पनि आन्दोलित हुनुपरेको राईले बताएकी छन्।

यो प्रकरणमा गिभिनाको पक्षमा सामाजिक सञ्जालका धेरै प्रयोगकर्ता उत्रिएका छन्। उनीहरुले नर्सहरुको व्यवहारमा पनि सुधार हुनुपर्ने तर्क गरिरहेका छन्। 

यसबारे गिभिनाले अहिलेसम्म धारणा सार्वजनिक गरेकी छैनन्। नेपालखबरले उनको मोबाइल फोनमा सम्पर्क गर्दा अफ रहेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .