समाज


तराईमा व्यापक हुस्सु/कुहिरो, चिसोबाट बच्न र यात्रामा होस पुर्‍याउन आग्रह

तराईमा व्यापक हुस्सु/कुहिरो, चिसोबाट बच्न र यात्रामा होस पुर्‍याउन आग्रह

नेपालखबर
पुस २७, २०७६ आइतबार ०:५०,

अहिले (आइतबार बिहान) देशको तराई क्षेत्रमा व्यापक हुस्सु/कुहिरो लागेको छ भने पहाडी भेगमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला पश्चिमदेखि पूर्वसम्मै तराई क्षेत्रमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। पूर्वी तराईका हुस्सु/कुहिरो दिउँसो १/२ बजेपछि बिस्तारै हट्दै जानेछ भने मध्य र पश्चिम तराईका हुस्सु/कुहिरो अपराह्नबाट केही पातलो भएर जानेछ तर पूर्ण रूपमा हट्ने सम्भावना नरहेको मौसमविद् बासीले बताइन्।

जसले गर्दा तराई क्षेत्रमा अहिले चिसो अत्यधिक बढेको छ र त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।

‘यसअघि भएको वर्षाको पानी वाफ बनेर उड्ने भएकाले तराई क्षेत्रमा हुस्सु/कुहिरो बढेको हो,’ मौसमविद् बासीले भनिन्।

माैसम पूर्वानुमान महाशाखाले  आइतबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : तराई भूभागमा हुसु/कुहिरो लाग्ने  सम्भावना  रहेकाले हुसु/कुहिरो लागेका स्थानमा राम्रोसँग घाम नलाग्ने भएकाले चिसो नै रहने देखिन्छ। तसर्थ चिसोबाट बच्ने उपाय अपनाउन हुन साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ।   

यता काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा भने आज घाम लाग्ने सम्भावना छ। आइतबार बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ सेल्सियस डिग्री छ। पुनः पौने ९ बजे मापन गरिने मौसमविद्ले बताएका छन्।

सोमबार बेलुकीबाट पुनः पश्चिमी वायु
भोलि अर्थात् सोमबार बेलुकीबाट भने पुनः पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्ने सम्भावना छ।

मौसमविद् मञ्जु बासीका अनुसार त्यसको प्रभावले सोमबार बेलुकीबाट पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ भने तराई क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

‘सोमबार बेलुकी प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणाली पहिलेको जस्तो सशक्त खालको छैन, त्यसैले यसको असर काठमाडौंसम्म पनि आइपुग्दैन,’ उनले भनिन्, ‘पश्चिमी क्षेत्रमा मात्र यसले प्रभाव पार्ने देखिन्छ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान : 
पुस २७ गते (आइतबार)
दिउँसो : देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तराई भूभागहरुमा हुसुरकुहिरो लाग्ने  सम्भावना  छ।  

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पुस २८ गते (सोमबार)
दिउँसो : देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तराई भूभागमा हुसुरकुहिरो लाग्ने  सम्भावना  छ।

राति : देशका पश्चिमी भूभागमा  सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी  भूभागका एक-दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानमा हल्कादेखि मध्यमसम्म  हिमपात हुने सम्भावना छ।

पुस २९ गते (मंगलबार)
दिउँसो : देशका पश्चिमी भूभागमा  सामान्य बदली भई अन्य भूभामा आंशिक बदली  रहनेछ। पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानमा हल्कादेखि मध्यमसम्म  हिमपात हुने सम्भावना छ।

राति : देशका पश्चिमी भूभागमा  सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी  भूभागका एक-दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

स्राेत : जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad