ad ad

समाज


काठमाडौंसहित देशका केही स्थानमा वर्षाको सम्भावना

अब छैन चक्रवातको प्रभाव
काठमाडौंसहित देशका केही स्थानमा वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८० मंगलबार ७:१८, काठमाडौँ

यतिबेला (मंगलबार बिहान ७ बजे) देशका पहाडी भेगमा आंशिक बदली (२६ देखि ५० प्रतिशत आकाश बादलले ढाक्नु) र बाँकी स्थानमा मौसम सामान्यतया सफा (२५ प्रतिशतजति मात्र आकाशमा बादल देखिनु) रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो पनि पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई बादल विकास हुनेछ। यस्तै तराईमा पनि अलिअलि बदलीको सम्भावना छ। 

‘कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई/स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको छ’, मौसमविद् झाले भने। 

उनका अनुसार अपराह्नतिर काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना देखिएको छ। 

आज तराई क्षेत्रमा भने खासै वर्षाको सम्भावना नरहेको जानकारी उनले दिए। ‘कोशी प्रदेशको तराईमा अलिअलि बदली र वर्षाको सम्भावना छ’, उनले भने अन्य प्रदेशका तराईमा यो सम्भावना छैन।’

यसैबीच बंगालको खाडीमा विकास भई म्यानम्यार र बंगलादेश प्रवेश गरेका ‘मोखा’ नामक शक्तिशाली चक्रवातको अब कुनै असर नेपालमा नआउने जानकारी पनि उनले दिए। ‘त्यो म्यानमारको जमिनमा झरिसकेकाले कमजोर भइसक्यो’, उनले भने, ‘त्यसको प्रभावले नेपालमा अलिअलि बादल उछिट्टिएर आएको थियो, अब भने त्यसको कुनै प्रभाव छैन।’  

म्यानमार र बंगलादेशमै पनि अब त्यसको प्रभाव निकै कम भइसकेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .