ad ad

समाज


टेकनारायणको मोबाइलबाट खुल्यो बालकृष्णसँगको आर्थिक लेनदेन

टेकनारायणको मोबाइलबाट खुल्यो बालकृष्णसँगको आर्थिक लेनदेन

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार १८:४०, काठमाडौँ

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद् विघटनलाई सर्वोच्च अदालतले अवैध ठहर गरिदिएपछि २८ असार २०७८ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।

तत्कालीन पाँच दलीय गठबन्धनबाट देउवा प्रधानमन्त्री बनेपछि उनका निकट सहयोगीसमेत रहेका बालकृष्ण खाँणले गृहमन्त्रालयको जिम्मेवारी सम्हाले। उनी २०७८ असार २९ देखि २०७९ पुस ११ गतेसम्म गृहमन्त्रीको भूमिकामा रहे।

खाँण गृहमन्त्रीमा आएपछि गृहसचिवमा पनि फेरे। उनले तत्कालीन गृहसचिव महेश्वर न्यौपानेलाई हटाएर २०७८ साउन २५ गते टेकनारायण पाण्डेलाई ल्याए। 

पाण्डे त्यसअघि २०७७ साउनदेखि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवका रुपमा कार्यरत थिए। भूमिसुधारबाट गृहमा ल्याइएका पाण्डे २०७९ असोज २ गतेसम्म त्यहीँ रहे। गत असोजदेखि गृहमा आएका विनोदकुमार सिंह पनि बुधबारदेखि हटेका छन्। अब त्यहाँ गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबारदेखि नै दिनेश भट्टराईलाई सचिवमा ल्याइसकेका छन्। 

गत असोजदेखि उपराष्ट्रपतिको कार्यालयमा रहेका पाण्डे गत वैशाख २० गते काठमाडौंकै एक रिसोर्टबाट समातिए। उनीमाथि भुटानी शरणार्थीको नक्कली फाइल खडा गरेर गिरोहबाट करोडौँ रुपैयाँ बुझेको आरोप थियो।

पाण्डेलाई भूमिसुधारबाट गृहमा ल्याउने मन्त्री उनै बालकृष्ण खाँण थिए। पाण्डे पक्राउ परेसँगै खाँण पनि तानिन सक्ने आकलन गरिएको थियो। 

सिंहदरबार बृत्तको हिरासतमा रहेका पाण्डेले नक्कली शरणार्थी प्रकरणमा खाँणको पनि नाम पोलेको कुरा मंगलबार सार्वजनिक भयो। 

बयानमा पाण्डेले तत्कालीन गृहमन्त्री खाँणकै निर्देशनमा आफूले फाइल खडा गरेको उल्लेख गरेका थिए। पाण्डेको बयान चलिरहँदा खाँण भने काठमाडौंबाट गृहजिल्ला रुपन्देहीमा ओहोरदोहर गरिरहेका थिए।

घरमा नबसेर रिसोर्टमा लुकिरहेका पाण्डेलाई पक्राउ गरेपछि प्रहरीले उनले प्रयोग गरेको मोबाइल फोन जफत गर्यो। तर उनले उक्त फोनका सबै विवरण फर्म्याट गरेका प्रहरी स्रोतले जनाएको छ।

मोबाइल फोन फर्म्याट गरिए पनि रिकभर हुने आशासहित थप परीक्षणका लागि प्रहरीले फरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबमा मोबाइलको डेटा रिकभर र परीक्षण भइरहँदा यता पाण्डे भने नक्कली शरणार्थी प्रकरणमा तत्कालीन मन्त्री खाँणको संलग्नता नकारिरहेका थिए। 

तर, जब ल्याबमा सबै डेटा रिकभर भएर आयो तब प्रहरीले नक्कली शरणार्थी प्रकरणमा पाण्डे र खाँणबीच आर्थिक लेनदेन भएको प्रमाण पनि फेला पार्‍यो। आर्थिक लेनदेनका प्रमाण र त्यससम्वद्ध म्यासेजसमेत प्रहरीले प्रमाणका रुपमा बटुलेपछि पाण्डे बयानमा मुख खोल्न बाध्य भए। 

नक्कली शरणार्थीको फाइल खडा गर्दा गिरोहबाट लिएको रकम खाँणसँग लेनदने गरेको कुरा उनको मोबााइलबाट पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ। ती प्रमाण देखाएपछि पाण्डेले बयानमा खाँणलाई मुछ्दै उनकै निर्देशनमा आफूले नक्कली प्रतिवेदनसहितका फाइल बनाएको कुरा प्रहरीसँग सकारेका छन्। 

‘टेकनारायणको मोबाइल फोन परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएका थियौँ। फरेन्सिक ल्याबको रिपोर्टमा दुईजनाबीच लेनदेन नै खुल्ने म्यासेजहरु भेटिए’, अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकारीले नेपालखबरसँग भने, ‘तिनै प्रमाणबाट पनि नक्कली शरणार्थी प्रकरणमा बालकृष्णको पनि संलग्नता खुल्यो। उक्त प्रमाण भेटिएपछि पाण्डेले पनि खाँण र आफ्नो संलग्नता स्वीकारेका छन्।’

पाण्डेले समेत बयानमा सकारेपछि प्रहरीले खाँणलाई बुधबार बिहान चाबहिलको मैजुबहालस्थित निवासबाटै पक्राउ गरिसकेको छ। उनीसँगै उनका निजी सहयोगी नरेन्द्र केसी पनि प्रहरीको हिरासतमा पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .