झापा घर भएका विनोद विकले लुट्नकै लागि कपन सरस्वतीनगरकी भाँडा पसले निरु भन्ने नीरा पाण्डेको हत्या गरेको खुलेको छ।
यसअघि चारवटा डिस्कोमा बाउन्सरका रुपमा काम गरिरहेका उनी पछिल्लो समय बेरोजगार थिए। बेरोजगार उनी वैशाख सुरुदेखि भक्तपुरको लोकन्थलीस्थित साथीको घरमा बस्दै आएका थिए।
साथीको घरमा बस्दै आएका उनी वैशाख ७ गते लोकन्थलीबाट गाडी चढेर चाबहिलस्थित केएल टावरअगाडि झरेका थिए।
त्यहाँबाट उनी चाबहिलमै डिस्कोमा काम गर्दा पहिले नै परिचित सरस्वतीनगरतिर पैदलै निस्केका थिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता दिनेश आचार्यका अनुसार करिब २ बजे आसपास निरुको भाँडा पसलमा छिरेका उनी आधा घण्टासम्म त्यहीँ अलमलिएका थिए।
उनले त्यहाँ आफूलाई आवश्यक परेको भन्दै केही भाँडा पनि रोजेर निरुलाई प्याकिङ गर्न लगाएका थिए। तर भाँडा प्याकिङ गरिसकेपछि उनी दिउँसो २ बजेर ३३ मिनेटतिर पैसा चाहिने भन्दै निकाल्ने बहानामा एटीएम जान्छु भन्दै हिँडेका थिए।
'एटीएमबाट पैसा लिएर आउँछु भनेर विनो दिउँसो २ बजेर ३३ मिनेटतिर पसलबाट निस्केको देखियो', आचार्यले भने, 'त्यसपछि उनी दिउँसो २ बजेर ४४ मिनेटमा पसलमा पसेर निरुमाथि पछाडिबाट आक्रमण गरेका भेटियो। उनले निरुको हत्यामा पसलमै रहेका छुरीको प्रयोग गरेको पत्ता लागेको छ।'
प्रहरीका अनुसार निरुको पसलमा सीसीटीभी जडान नगरेकाले विनोद सजिलै उम्किएका थिए। 'निरुको पसलमा सीसीटीभी जडान गरिएको थिएन', आचार्यले भने, 'त्यहीकारण उनी त्यहाँबाट सजिलै निस्किएर लुक्न सफल भए। तर अन्यत्रको सीसीटीभी फुटेजले उनले लगाएको जुत्ता, बोकेको झोला र लुगाले पहिचान गर्न सजिलो भयो।'
Shares

प्रतिक्रिया