ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा मान्छे मारेको ठाउँ आसपास फेरि देखियो बाघ, स्थानीय त्रसित

चिडियाखानामा राखिएको बाघकै जोडी हुनसक्ने आशंका
कञ्चनपुरमा मान्छे मारेको ठाउँ आसपास फेरि देखियो बाघ, स्थानीय त्रसित

नेपालखबर
बैशाख १७, २०८० आइतबार १५:५४, कञ्चनपुर

कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तर्गत पर्ने बेलौरी नगरपालिका–८ पचुईँसँग सीमा जोडिएको भारतीय गाउँ राघापुरीमा बाघ देखिएको छ। बाघ देखिएपछि नेपाल र भारत दुवैतर्फका स्थानीय त्रसित छन्। 

पचुईस्थित सीमा स्तम्भ नम्बर ३८ नजिकै भारतीय गाउँ राघापुरीमा बाघ देखिएको सव–डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले जानकारी दिए। ‘सीमा स्तम्भ नं ३८ को अन्दाजी ५०० मिटर दक्षिणतर्फ भारतीय भू–भागमा अहिले बाघ देखिएको खबर आएको छ,’ उनले भने।

बेलौरी नगरपालिका–८ का अध्यक्ष बिश्राम रानाका अनुसार घाँस काट्न गएकी पचुईँकी महिलाले बाघ देखेको थिइन्। ‘झाडीमा बाघ लुकेको महिलाले देखेकी रहेछन्, त्यसपछि भागेर उनी एसएसबी क्याम्पमा पुगिन्,’ वडाध्यक्ष रानाले भनिन्।

एसएसबीले महिलाले भनेको ठाउँमा बाघ देखिएको हुँदा सतर्क रहन नेपाली प्रशासनलाई पनि अनुरोध गरेको छ। अहिले बाघ देखिएको ठाउँमा भारतीय वन टोली, त्यहाँको प्रहरी, एसएसबी लगायत स्थानीयहरुले खोजी गरिरहेको छ।

उक्त बाघ नेपालतर्फ आउन सक्ने सम्भावना रहेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै जनप्रतिनिधि र स्थानीय पनि गस्ती गरिरहेका छन्। केही दिनअघि पचुँईकी ४२ वर्षीया गंगादेवी चन्द खप्टिनाला क्षेत्रमा घाँस काट्न गएको बेला बाघले आक्रमणमा परेकी थिइन्।

बाघको आक्रमणबाट चन्दको ज्यान नै गएको थियो। उक्त पोथी बाघलाई नियन्त्रणमा लिएर ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ।

मानिसमा आक्रमण गरेको क्षेत्र आसपासमा देखिएको बाघ चिडियाखानामा राखिएको बाघकै जोडी हुनसक्ने स्थानीयले आशंका गरेका छन्। बाघले ज्यान लिएको क्षेत्र आसपासमा फेरि बाघ देखिन थालेपछि स्थानीय त्रसित बनेका छन्।

पचुईँमा बाघको आक्रमणबाट ज्यान गएपछि स्थानीयमा त्रास बढेको छ। घटनापछि स्थानीय त्रसित बनेको बेलौरी नगरपालिका–८ का स्थानीय महेन्द्र बिष्टले बताए। 

‘घटनापछि बाघ हिँडेको नयाँ पाइलाहरु देखिएका थिए, आज बाघ नै देखिएको छ’, उनले भने, ‘यसले स्थानीयमा त्रास थपेको छ, सामान्य अवस्थामा फर्किन सकेका छैनौँ।’

उनका अनुसार बाघको आक्रमणपछि त्रसित स्थानीयको दैनिकी नै प्रभावित भएको छ। ‘घाँसपात जान पनि महिलाहरू डराएको अवस्था छ, कति बेला के हुन्छ भनेर ढुक्कसँग खेतीपाती भित्र्याउन पनि सकेका छैनन,’ उनले भने।

यसअघि चैत १० भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुनर्वास नगरपालिका–१० मदनटोलकी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको थियो।

एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो। 

पुनर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणका मानिसको ज्यान गएपछि र बाघलाई नियन्त्रणमा लिएपछि पनि त्यस क्षेत्रमा बाघ देखिएपछि स्थानीय त्रास बढेको हो। 

बाघले महिलाको ज्यान लिएको खप्टी नालासहित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीले साइरन बजाएर गाडीमा गस्ती गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .