ad ad

समाज


घुर्ने समस्या छ? ज्यानै जान सक्छ

घुर्ने समस्या छ? ज्यानै जान सक्छ

तस्बिर: एजेन्सी


समृद्धा केसी
बैशाख १६, २०८० शनिबार १२:१९, काठमाडौँ

घुर्ने मान्छेसँग कुनै दिन सँगै सुत्नुभएको छ? साथीभाइसँग कहिलेकाहीँ कोठा साझा गर्नु त सामान्य होला! तर यही समस्याका कारण साथीभाइसँग पनि सम्बन्ध बिग्रिन सक्छ।

कहिलेकाहीँ त आफन्तबाटै टाढिनुपर्ने अवस्था पनि आउन सक्छ।

घुर्ने समस्याकै कारण श्रीमान्-श्रीमतीबीच सम्बन्धविच्छेदसम्म भएका घटना बेला-बेला सार्वजनिक भइरहेका हुन्छन्।

यी त भए घुर्ने समस्यका कारण अरुलाई हुने सास्तीका कुरा। तर के तपाईंलाई थाहा छ? सामान्य मानिने घुर्ने समस्याले आफैँलाई पनि ठूलो हानी गर्न सक्छ। यसले ज्यानै पनि लिनसक्छ।

सामान्यतया मोटोपनाको समस्याले घुर्ने समस्या निम्तिन्छ। बढी घुर्ने समस्या सामान्य नभई रोग नै भएको वीर अस्पतालका छाती तथा निद्रा रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ बताउँछन्। 

नेपालमा कडा घुराइका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन। तर अमेरिकी एक संस्थाले गरेको अध्ययन अनुसार विश्वको कुल जनसंख्यामध्ये २० प्रतिशतलाई यस्तो समस्या भएको देखिएको डा. श्रेष्ठ बताउँछन्। सोही तथ्यांकलाई आधार मान्दा नेपालमा १८ देखि २० लाख मानिसमा कडा खालको घुर्ने समस्या हुनसक्ने अनुमान गरिएको उनले बताए।

डा. प्रज्वल श्रेष्ठ

वीर अस्पतालमा निद्रा अर्थात घुर्ने जस्ता समस्या लिएर धेरै बिरामी आउने गरेको जानकारी उनले दिए। विगत चार वर्षदेखि अस्‍पतालले त्यस्ता समस्या लिएर आउने बिरामीको पहिचान गरेर निजी अस्पतालमा पठाउने गरेको उनले बताए। 

‘काठमाडौंका एक-दुई वटा निजी अस्पतालले निद्राको प्रयोगशाला सञ्चालन गरेर सेवा दिइरहेका छन्,’ डा श्रेष्ठले भने, ‘निजीमा उपचार गराउँदा १४ देखि २० हजारसम्म लाग्छ तर वीरमा एक रातको तीन हजार लिने गरेका छौँ।’  

जीवनशैलिसँग जोडिएर बढेका दिर्घरोगहरूसँगै स्लिप एप्निया पनि बढिरहेको डा श्रेष्ठले जानकारी दिए। 

कडा घुराइको समस्या लिएर धेरै बिरामी आउन थालेपछि अस्पतालले चार महिनाअघि निद्रा प्रयोगशाला (स्लिप ल्याब) स्थापना गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए। 

वीर अस्पतालस्थित स्लिब ल्याब

स्लिप ल्याबमा निद्रासम्बन्धी बिरामीलाई उपचार गरिन्छ। सामान्यतया निद्रासम्बन्धी धेरै रोगहरू हुने गर्छन्। तर स्लिप ल्याबमा जाँच गर्ने भनेको मोटोपनका कारण देखिने घुर्ने समस्याको जाँच भएको डा. श्रेष्ठ बताउँछन्।

‘अन्य व्यक्तिको तुलनामा मोटोपन भएकामा घुर्ने  समस्या बढी हुन्छ,’ उनले भने, ‘तर धेरै कमलाई मात्र यो रोग हो भनेर थाहा छ। कडा घुराइ ज्यान नै लिने पनि हुनसक्छ। त्यसैले घुर्ने समस्यालाई बेवास्ता गर्नु हुँदैन।’

धेरै घुर्ने व्यक्तिमा सुतेको बेला सासै रोकिएर ब्युँझिने,  गहिरो निद्रा नपर्ने र दिउँसो धेरै  निद्रा लाग्ने जस्ता समस्या देखिने जानकारी उनले दिए।

काम गर्ने ठाउँमा र गाडी, स्कुटर वा बाइक चलाउँदाचलाउँदै निदाउने समस्या पनि देखिन्छ। जसलाई मेडिकल भाषामा स्लिप एप्निया भनिन्छ।

डा श्रेष्ठका अनुसार चिकित्सा विज्ञानका लागि पनि यो रोग निकै नयाँ हो । धेरै पुराना डाक्टरलाई यो रोग बारेमा थाहा पनि छैन। 

मोटोपनको समस्या हुने मानिसको घाँटीमा बोसो बढ्छ र हावा जाने नली साँघुरिन्छ। गहिरो निद्रामा हुँदा घाँटीको मांसपेशी आराम गर्छन् र नली झन् बन्द हुन्छ जसले गर्दा  बिरामीलाई सास फेर्न गाह्रो हुन्छ। यसरी घुर्ने समस्या देखिन्छ।

घुराइ कतिबेला रोग बन्छ?
प्रायः मानिस कुनै न कुनै बेला घुरेकै हुन्छन्। तर त्यो घुराइ सुत्दा सास रोकिने, बारम्बार ब्युँझिने र दिउँसो निद्रा लाग्ने समस्यामा बदिलन्छ त्यतिबेला रोगमा परिणत हुन्छ। 

स्लिप एप्निया पनि भनिने यस्तो समस्या हुँदा   दिउँसो निद्रा धेरै लाग्ने हुन्छ। जसकारण काममा ध्यान दिन नसक्ने जस्ता समस्या बढ्दै जाने डा. श्रेष्ठको भनाइ छ। 

सडक दुर्घटनाको तथ्यांकअनुसार अमेरिकामा लगभग ३२ देखि ३५ प्रतिशत दुर्घटनाको स्लिप एप्नियाका कारण हुने उनले बताए। 

स्लिप एप्निया भएका बिरामीमा उच्च रक्तचाप, मधुमेह, हृदयाघात, मष्तिकाघात र प्यारालासिसस हुने सम्भावना अन्य सामान्य व्यक्तिको भन्दा २ देखि ३ गुणा बढी समेत हुने उनको भनाइ छ।

मोटोपनले बढाउँदै स्लिप एप्निया
कडा घुर्ने रोग(स्लिप एप्निया) देखिएकामध्ये ९० देखि ९५ प्रतिशतमा समस्याको कारण मोटोपन देखिएको डा. श्रेष्ठले बताए। बाँकी ५ देखि १० प्रतिशतमा जन्मजात घाँटी र चिउँडोको बनावट बिग्रिएर घुर्ने समस्या हुने जानकारी उनले दिए।

‘स्लिप एप्नियाका बिरामी राति बारम्बार पिसाब लागिरहने, बिहान उठ्दा घाँटी दुख्ने तथा खस्खसाउने, रुघा लागेको जस्तो हुने जस्ता समस्या लिएर अस्पताल आउँछन्। यसको मूल जरो भनेको मोटोपन नै हो,' उनले भने। 

वीरमा पुग्ने धेरै बिरामीमा कडा खालको घुर्ने समस्या रहेको उनले बताए। यसको समयमा उपचार नभएमा सुतेको बेला शरीरमा अक्सिजनको मात्रा कम भएर हृदयाघात र मतिष्काघात भई सुतेकै बेला मृत्यु समेत हुनसक्ने जोखिम हुने उनले बताए। त्यसैले यस्तो समस्या भएका व्यक्तिले बेलैमा जाँच गरेर उपचार गर्न आवश्यक हुन्छ।

घुर्ने रोगको कुनै औषधि नभएको उनले बताए। बिरामी प्रयोगशालामा आएर एक रात बसेपछि कस्तो खालको घुराइ हो भन्ने पहिचान गरेपछि थेरापीको माध्यमबाट यसको निदान गर्न सकिने उनले बताए।

घुर्ने समस्या समाधानका लागि पहिलो उपचार पद्धति तौल घटाउने र सिप्याप थेरापी विधि हो। यस्तो थेरापीका कारण घुर्ने समस्या बिस्तारै कम हुँदै जाने जानकारी उनले दिए।

सुलभ छैन प्रयोगशाला, २ महिनासम्म कुर्नपर्छ पालो
कडा घुर्ने बिरामीका लागि संचालनमा ल्याइएको वीरको स्लिप ल्याब हप्ताको एक दिन मात्र संचालन हुँदै आएको छ। जसकारण बिरामीले दुई महिनासम्म पालो कुर्नपर्ने अवस्था रहेको ल्याब इन्चार्ज नर्स विनीता पौडेलले बताइन्। 

‘मलाई तालिम दिइएको छ, म एक्लैले मात्र बिरामीलाई रातभर हेर्नुपर्छ,' उनले भनिन्, 'जनशक्ति अभाव र मेसिन पनि एउटा मात्र भएकाले हप्तामा एक पटक मात्र ल्याब चल्छ जसकारण बिरामीले दुई महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ।'

स्लिप ल्याब प्रयोगशालामा प्रयोग हुने मेसिन

बिरामीको शरीरमा लिडहरू राखेर प्रयोगशालामा एक रात राखिने गरेको उनले बताइन्। 

बिरामीको शरीरमा राखिएको लिडहरूले निद्राको परीक्षण गर्छ। बिरामी गहिरो निद्रा कति सुत्यो, कति घुर्यो, अक्सिजन कति बढ्यो, कति घट्यो र सास कति पटक रोकियो भनेर सबै रिपोर्ट त्यसमा देखिने जानकारी उनले दिइन्।

रिपोर्टकै आधारमा कडा, मध्यम र सामान्य कस्ता खालको घुर्ने समस्या छ भनेर थाहा हुने र सोही अनुसार उपचार गरिने उनले बताइन्। 

‘कडा घुर्ने बिरामीहरूलाई धेरै गाह्रो हुने रहेछ,’ उनले भनिन्, ‘बिरामीलाई प्रयोगशालामा सुताइएको हुन्छ म बाहिर हुन्छु उहाँहरू घुरेको बाहिर नै सुनिन्छ।’

बिरामी धेरै घुर्ने भएकाले परिवार र साथीभाइसँग पनि सम्बन्ध बिग्रिएका कतिले गुनासो समेत गर्नेगरेको अनुभव उनले सुनाइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .