ad ad

समाज


राजा वीरेन्द्र बसेयता ३४ वर्षदेखि प्रयोगविहीन छ वीरको भीभीआईपी कक्ष

राजा वीरेन्द्र बसेयता ३४ वर्षदेखि प्रयोगविहीन छ वीरको भीभीआईपी कक्ष

वीर अस्पतालस्थित भीभीआइपी कक्षमा विरामीलाई राखिने बेड। तस्बिर : समृद्धा केसी/नेपालखबर


समृद्धा केसी
बैशाख १५, २०८० शुक्रबार १६:४०, काठमाडौँ

देशकै जेठो वीर अस्पतालस्थित सुविधासम्पन्न विशिष्ट उपचार कक्ष ३५ वर्षदेखि कोही भीभीआईपीहरु पुगेका छैनन्। 

२०३५ सालमा भीभीआईपी र भीआईपी कक्ष सञ्चालन ल्याइएको थियो। २०४५ सालमा भीभीआईपी क्याबिनमा तत्कालीन  राजा वीरेन्द्र शाह भर्ना भएका थिए। त्यसयता प्रधानमन्त्री र राष्ट्रपतिसहितका कोही विशिष्ट त्यहाँ व्यक्ति भर्ना भएका छैनन्।

वीरमा तयार गरिएको भीभीआईपी कक्षा प्रयोगविहीन हुँदा शीर्ष नेता र विशिष्ठ व्यक्तिहरु सानोतिनो विरामी हुँदा पनि विदेश नै पुगिरहेका छन्। ३५ वर्षदेखि वीरको भीभीआई क्याबिन सजाएर राखिएको छ तर विशिष्ठ व्यक्ति भर्ना भएका छैनन्। 

राजपरिवारका सदस्यहरुले प्रयोग गर्न बनाइएको भीभीआईपी क्याबिनलाई गणतन्त्रपछि विशिष्ट नेताहरुको उपचार गर्ने भनिको थियो। 

भीभीआईपी क्याबिनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश  सभामुख र राष्ट्रिय सभा अध्ययक्षले सेवा लिन पाउँछन्। उनीहरुकै उपचारका लागि अस्पतालले उक्त  क्याबिनलाई पाँच तारे होटल जस्तै सुविधायुक्त बनाएको छ। 

भीभीआईपी क्याबिनमा उपचारका लागि आवश्यक सम्पूर्ण उपकरण राखिएको छ। अक्सिजन, भेन्टिलेटर, एमआरआई,  सिटी स्क्यान जस्ता आपतकालीन उपकरण पनि छन्। 

वीर अस्पतालको भीआईपी कक्षा

क्याबिनहरुको सजावट पनि उत्तिकै राम्रो छ। आकर्षक कार्पेट, भित्तामा  वालपेपर, एट्याच बाथरुम, सुविधाजनक बेड, सोफा, एसी र बत्ती पनि उत्तिकै सजाइएको छ। बिरामी कुरुवाका लागि सुत्ने छुट्टै सुविधाजनक कोठा र भान्साकोठा पनि छ। 

बिरामी क्याबिन, कुरुवा सुत्ने, भेटघाट गर्ने कोठा, नर्स, डाक्टर र सुरक्षाकर्मी सबै गरेर भीभीआईपीका लागि आठ कोठा छन्। 

भीभीआईपी र भीआईपी कक्ष दुरुस्त राख्न साताको एक दिन सफा गरिन्छ। दुवै कक्षका सामान बिग्रिन नदिन प्लास्टिकले ढाकेर राख्ने गरिएको छ।

वीरको भीभीआईपी तथा भीआईपी उपचार कक्षको इन्चार्जका रुपमा सीता घिमिरेले काम गरेको चार वर्ष भयो। तर उनका अनुसार अहिलेसम्म भीभीआईपी क्याबिन प्रयोगमा आएकै छैन। 

राजा वीरेन्द्र शाह बसेयता २०४५ सालदेखि भीभीआईपी कक्षमा उपचार गराउन कोही विशिष्ट व्यक्ति नआएको वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए। 

पहिला विशिष्ट व्यक्ति विरामी हुँदा वीरबाहेक उपचार गर्न जाने विकल्प थिएन। तर अहिले अरु विकल्प हुँदा पनि सर्वसाधारणहरु उपचारका लागि धेरैजसो वीरमै आउने गरेको डा. पौडेलले बताए। 

‘तर ०४६ सालपछि मेडिकल कलेज खोलियो, निजी क्षेत्रमा पनि  विशिष्ठीकृत उपचार गर्ने गरि सुविधासम्पन्न अस्पताल बने’, उनले भने, ‘त्यहीकारण बिरामी हुँदा उपचार गराउन कहाँ जाने भन्ने व्यक्तिको इच्छामा भर पर्छ।’

भीभीआईपी र भीआईपीहरु आर्थिक रुपमा सक्षम भएपछि जहाँ पनि जाने सक्ने भएकाले जवरजस्ती वीरमा आऊ भनेर तान्न नमिल्ने डा. पौडेलको तर्क छ।

राज्यको केन्द्रीय अस्पताल भएकाले भीभीआईपी आउन सक्ने विश्वासले सेवाका लागि आफूहरु जुनसुकै बेला तत्तपर भएर बसेको डा. पौडेलले सुनाए। 

राष्ट्रपति उपचारका लागि भारत गएको विषयमा उनले टिप्पणी गर्न चाहेनन्। तर राष्ट्रपतिले नेपालमा हुँदा सरकारमातहतकै त्रिवि शिक्षण अस्पतालमा उपचार गरेको उनको तर्क छ। 

‘नेपालमा हुँदा राष्ट्रपतिज्यूले निजी अस्पतालमा नगएर सरकारी अस्पतालमै भर्ना हुनु भएको थियो’, उनले भने, ‘राष्ट्रपति भवनबाट शिक्षण अस्पताल नजिक पर्ने भएकाले उहाँलाई त्यहाँ जान सहज भयो होला।’

आठ वर्षमा ४० भीआईपी
वीरको भीआईपी क्याबिनमा भने उपचारका लागि नेतादेखि मन्त्रीसम्म पुग्ने गरेका छन्। 

२०७१ देखि ०७९ सम्मको आठ वर्षमा ४० जना भीआईपीहरु उक्त क्याबिनमा भर्ना भएको इन्चार्ज घिमिरेले बताइन्। 

घिमिरेका अनुसार २०७७ सालमा सांसदहरू शान्ता चौधरी र मीनबहादुर विश्वकर्मासहित पाँचजना भीआईपी रुममा भर्ना भए। 

२०७८ सालमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वसभामुख दमननाथ ढुङ्गाना, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई र तत्कालीन मन्त्री रामकुमारी झाँकीसहित ८ जनाले भीआईपी कक्षमा उपचार सेवा लिएका छन्।

२०७९ मा तत्कालीन स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीसहित ४ जनाले सेवा लिए। 

‘भीआईपी कक्षमा वर्षमा बढीमा सात–आठजनाले सेवा लिनु भएको छ’, उनले भनिन्, ‘तर, भीभीआईपीमा अहिलेसम्म कोही आएको थाहा पाएको छैन।’

राष्ट्रपति भारत जाँदा विवाद
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचाररत छन्। 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको सल्लाहमा भारत लगिएको हो। शिक्षणका चिकित्सक र एम्ससँगको परामर्शपछि पौडेल एयर लिफ्ट गरेर उपचारका लागि दिल्ली पुगेका हुन्। 

उपचारका लागि विदेश पुग्ने राष्ट्रपति पौडेल पहिलो नेता होइनन्। अरु शीर्ष नेताहरु पनि स्वास्थ्यमा सामान्य समस्या देखिनेबित्तिकै विदेश धाउने गर्छन्। नेताहरुको यो प्रवृत्तिको जनस्तरबाट पटक पटक विरोध हुने गरेको छ। 

राष्ट्रपति पौडेल पनि उपचारका लागि भारत गएपछि विरोध हुँदा शीतल निवासले बचाउन गर्नुपरेको छ। शीतल निवासले राष्ट्रपति आफैँ जान नमानेको अवस्था

चिकित्सकको सुझावअनुसार लगिएको जिकिर गरिरहेको छ। 

नेपालमै दक्ष चिकित्सक हुँदाहुँदै राष्ट्रपति पौडेललाई उपचारका लागि विदेश लिएको भन्दै वीर अस्पतालककै नेफ्रोलोजिस्ट डा.अनिल बरालले तत्कालै प्रश्न गरेका थिए। 

‘एम्सबाटै छातीरोग विषयमा डीएम उपाधि लिइसकेका ३ जना वरिष्ठ कन्सल्ट्यान्ट वीर अस्पतालमा कार्यरत छन्। स्रोत साधन र उपकरण पनि राम्रै छ। के कारणले विदेश लानु परेको हो? देशले थाहा पाउनुपर्ने होइन र?  हामी त सधैँ कोही नहुनेलाई मात्रै हेर्ने डाक्टर भइयो छ्या!’, उनले भनेका थिए

वीरका निर्देशक पौडेलले त्रिवि शिक्षण अस्पतालका चिकित्सकको सल्लाहमै राष्ट्रपति भारत गएकाले आलोचना उचित नहुने बताए। 

‘टिचिङका चिकित्सकको सल्लाहमा उहाँ भारत गएको भन्ने छ। कि त नेपालका चिकित्सकले उहाँलाई ट्रिट गर्ने आत्मविश्वास गुमाए भन्नु पर्‍यो। हामीले पढ्ने त टिचिङले जारी गरेको प्रेस नोट हो’, उनले भने, ‘राष्ट्रपतिलाई भएको के हो ‘कोर क्लिनिकल’ कुरा हामीलाई थाहा छैन।’

छातीमा पानी जम्ने कारणहरुमा संक्रमण, क्यान्सर र क्षयरोगमध्ये कुनै समस्या हुन सक्ने डा. पौडेलले बताए। 

‘उहाँको छातीमा पानी जम्नुको कारण पत्ता लगाउन भारत लगिएको  होला’ डा. पौडेलले भने, ‘डाक्टरका रुपमा भन्दा केही आशंकाले पनि जानु भएको होला भन्ने मलाई लाग्छ।’

सामान्य उपचारमा विदेश जाने प्रवृत्ति हटाऊँ
राष्ट्रपति पौडेल उपचारका लागि बाहिर जाने कुरामा विरोध गर्न नहुने स्वास्थ्य मन्त्रालयका पूर्व सचिवमा डा. किरण रेग्मी बताउँछिन्। 

‘अहिलेसम्म उहाँलाई के भएको हो? खुलाइएको छैन’, डा रेग्मी भन्छिन्, ‘पुरा रिर्पोट आउँछ भनिएको छ। यदि रिर्पोटमा समान्य समस्या देखि पुरानै परम्परा दोहोरिएको मानिएला। तर ठूलै समस्या भए सरकारको सुविधा मानवीयताका लागि लिनु भएको मान्नु पर्छ।’

राष्ट्रपति कार्यलयले निकाले विज्ञप्तिमा पनि चिकित्सकै आग्रहमा पौडेल भारत गएकाले गलत भन्न नहुने जनाइएको छ। त्यसकारण नेपाली उपचालाई विश्वास नगरी बाहिर दैडिने प्रचलनलाई राष्ट्रपति पौडेलले अनुशरण गरेको भन्न नमिल्ने डा. रेग्मीले बताइन। 

‘राष्ट्रपतिज्यूको व्यवहार त्यस्तो छैन, हामीले पटक पटक दैख्दै आएका छौं’, डा रेग्मी भन्छिन्, ‘उहाँले भारत जान नमानेको विज्ञप्ति आइसेको छ। गाह्रो भएरै लगिएको भन्ने लागेको छ। अब हेरौं रिर्पोटमा के आउँछ।’ 

भारत जाने राष्ट्रपतिको इच्छा नभए पनि नेपालका चिकित्सकले जोखिम मोल्न नचाहेको हुन सक्ने उनको भनाइ छ। परिवारले पनि सरकारको उपचार सेवा लिँदा हुने ठानेर भारत लगिएको हुन सक्ने उनले बताइन्। 

‘जनताले जस्तो उपचार भए पनि नेपालमै लिनु पर्ने बाध्यता छ। तर नेताहरु अस्पताल सुधार्नुको साटो सामान्य समस्या हँुदा पनि विदेश जाने परम्परालाई अब तोड्नु पर्छ’, उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .