सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको छ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन्।
सोमबार मन्त्रालयको कार्यप्रगति विवरणबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा उक्त कामलाई सुरु गरिएको पनि स्पष्ट पारे।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले उक्त कामलाई अघि बढाउने गरी कार्ययोजना बनाउनु परेको स्पष्टीकरण दिए।
‘सवारी साधनहरुमा राखिने इम्बोस्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेको हो। प्रारम्भमा त्यसबारे प्रक्रिया अघि बढेको पनि हो', उनले भने, 'अहिले अंग्रेजीमा छ। तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्रीको परामर्श र निर्देशनमा इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्य योजना अगाडि बढाएको छ।'
उनले त्यसका लागि सम्बन्धित एजेन्सीसँग छलफलको प्रक्रियामा रहेको बताए। 'त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गईरहेका छौँ', उनले भने।
उपप्रधानमन्त्री श्रेष्ठले उक्त कामलाई अघि बढाउन सम्बन्धित एजेन्सीसँग छलफल गरेकाले सरकारले त्यो कामलाई तीव्रता दिने पनि बताए।
प्रतिक्रिया