समाज


आज पनि देशैभर वर्षा र हिमपातको सम्भावना, सतर्क रहन सुझाव

आज पनि देशैभर वर्षा र हिमपातको सम्भावना, सतर्क रहन सुझाव

नेपालखबर
पुस १९, २०७६ शनिबार १:९,

आज (शनिबार) पनि काठमाडौं उपत्यकासहित देशैभर वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

केही दिनदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि पश्चिमदेखि पूर्वसम्मै उच्च पहाडी र हिमाली भेगमा हिमपात तथा मध्य पहाडी र तराई क्षेत्रमा वर्षा हुने सम्भावना रहेको हो।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले बिहानदेखि नै ती क्षेत्रमा हिमपात तथा वर्षाको सम्भावना छ।

‘आज (शनिबार) पनि हिजो (शुक्रबार) जस्तै दिनभर वर्षा र हिमपात हुने सम्भावना छ,’ नेपालखबरसँग शनिबार बिहान मौसमविद् मानन्धरले भनिन्, ‘आज साँझदेखि केही सुधार हुने अपेक्षा गर्न सकिन्छ।’

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जरी गर्द भनेको छ : मौसम बदलीसँगै हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ।

शुक्रबार उच्च पहाडी तथा हिमाली भेगमा व्यापक हिमपात हुँदा जनजीवन कष्टकर भएको छ। वर्षा र हिमपातका कारण कतिपय राजमार्ग र विमानस्थलसमेत अवरुद्ध भएका छन्।

कहाँ कति वर्षा भयो?
शुक्रबार सबैभन्दा बढी दिपायलमा ६२.३ मिलिमिटर वर्षा भएको छ। यस्तै वीरेन्द्रनगरमा ३८ दशमलव ७, डडेल्धुरामा ३५ मिलमिटर वर्षा भएको छ भने पोखरामा ३०, दाङमा २४ दशमलव ९ र भैरहवामा ३१ दशमलव ३ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकााम भने ३.८ मिलिमिटर वर्षा भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

उनका अनुसार यो शुक्रबार साँझ पौने ६ बजेसम्मको रेकर्ड हो। त्यसयताको रेकर्ड शनिबार बिहान पौने ९ बजे प्रकाशन गरिनेछ।

‘यो रोकिँदै पर्दै गरेको पानी भएकाले भारी वर्षा भन्न मिल्दैन,’ उनले भनिन्, ‘यो कलेक्सन रेकर्ड हो।’

नत्र ५० मिलिटरभन्दा बढी वर्षा भएमा भारी वर्षा मानिन्छ।

तीन/चार वर्षयताकै ठूलाे हिउँदे वर्षा
वर्षाले कतिपय स्थानमा जनजीवन कष्टकर पारेको भए पनि किसानलाई भने फाइदा पुगेको मौसमविद् बताउँछन्।

बालीनालीका लागि यो हिउँदे वर्षा फाइदाजनक हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

‘यसपालि हिउँदे याम सुक्खा हुन पाएन, यसले किसानलाई खुसी नै बनाएको हुनुपर्छ,’ नेपालखबरसँग उनले भनिन्, ‘यस्तो खालको वर्षा बेलाबेला भइराख्छ, ३-४ वर्षको अन्तरालमा।’

यस हिसाबले यसपालिको हिउँदे वर्षा बालीनालीका हिसाबले ३-४ वर्षकै राम्रो वर्षा हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .