ad ad

समाज


भारतीय आतंकवादी ठानेर नियन्त्रणमा लिइएका व्यक्ति निर्दाेष परेपछि...

भारतीय आतंकवादी ठानेर नियन्त्रणमा लिइएका व्यक्ति निर्दाेष परेपछि...

दीपक खरेल
पुस १८, २०७६ शुक्रबार १५:५१,

२०७६ पुस १५ (३१ डिसेम्बर २०१९) चाइना साउथर्न एयरको सिजेड ६०६७ जहाज नियमित समयमै गोन्जाओबाट काठमाडौं अवतरण गर्‍याे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ बजेर २५ मिनेटमा अवतरण भएको विमानमा अधिकांश यात्रु नेपाल घुम्न आएका पर्यटक थिए। अमेरिका र युरोपेली देशहरुबाट चीनको गोन्जाओमा लिंक भएको यो उडानमा पर्यटक यात्रुको सख्या अधिक थियो। विमान अवतरणसँगै सबै यात्रु अध्यागमन कार्यालय आईपुगे।

यही विमानमा एकजना युवा थिए– गुरप्रित सिंह। पंजाबी मूलका उनी अमेरिकाको लस एञ्जलसबाट नेपाल घुम्न आएका थिए। भारतीय पासपोर्टधारी उनी ट्राभल डकुमेन्ट सहित ९० दिनको पर्यटक भिसा उतैबाट लिएर आएका थिए।

उनी अध्यागमन डेस्कमा पुगे। त्यहाँ खटिएका अध्यागमन अधिकृतले सबैको जस्तै उनको पनि विवरण जाँच गरे। यो जाँच अपराधी र कालो सूचीमा रहेका तथ्यांकमा पुगेर रोकियो।

अध्यागमन विभागलाई उपलब्ध इन्टरपोलको रेड नोटिसमा गुरुप्रितको नाम देखियो। गुरप्रित सिंहका नाममा पञ्जाब प्रहरी हुँदै भारतको केन्द्रीय अनुसन्धान इकाईको अनुरोधमा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो।

इन्टरपोलको नोटिसमा गुरप्रित सिंहमाथि भारतको कुख्यात नाभा जेल ब्रेक, आतंकबादीका चन्दा संकलन, आतंकबादी गतिविधी गरेको लगायत दर्जन बढि हत्या र हत्या प्रयासका आरोप थिए।

अध्यागमन अधिकृत झस्किए। हेर्दा सामान्य देखिएका गुरप्रित यति खुंखार अपराधी भएको पत्याउन अध्यागमन अधिकारीलाई पनि धौधौ प¥यो। अध्यागमनमा उपलब्ध विवरणमा उनको नाम र ठेगाना मिल्थ्यो।

फोटो पगरी लगाएको युवाको थियो। अध्यागमन डेस्कअघि उभिएका युवा सफाचट् दाह्री काटेका थिए। पगरी थिएन।

अध्यागमन अधिकारीहरुले उनलाई कार्यालयको गोप्य कोठामा लगेर राखे। तत्काल विमानस्थल सुरक्षाकर्मीलाई खबर गरियो। उनी अब बन्द कोठामा प्रहरीको पहरेदारीमा बसे।

विमानस्थल अध्यागमन कार्यालय प्रमुखले यसको जानकारी माथिल्लो निकायलाई गराए। उनलाई विभागमा ल्याउन निर्देशन भयो। कार्यालयले कडा सुरक्षासहित उनलाई कालिकास्थान विभागको कार्यालयमा पुर्यायो।

यतिबेलासम्म नियन्त्रणमा रहेका गुरुप्रितले कुनै प्रतिकार गरेनन्। मात्र अध्यागमन अधिकारीहरुलाई आफ्नो कसुर सोधिरहे। उनले अधिकारीहरुले सोधे अनुसार अमेरिकाको लस एञ्जलसस्थित आफ्नो घर ठेगाना बताए।

बाबुआमाको र आफु काम गर्ने कार्यालयका अधिकारीको नाम बताए। टेलिफोन नम्बर दिए। उनले आफ्नो गल्ती बताईदिन अनुरोध गरिरहे। तर अध्यागमन अधिकारीहरुले इन्टरपोलको नोटिसका आधारमा नियन्त्रणमा लिएका गुरप्रित यतिबेलासम्म खुङ्खार भारतीय आतंकबादी नै थिए।

गुरुप्रितले नयाँ वर्षको अघिल्लो रात (इभ) ठमेलको कुनै पबमा मनाउने र त्यसको तस्बिर अमेरिका र भारतमा रहेका साथीहरुलाई पठाउने योजना बनाएका थिए। पुरा हुन पाएन। उनले सन २०१९ को अन्तिम रात अध्यागमन विभागको हिरासतमा बिताए।

यतिबेलासम्म अध्यागमन अधिकारीहरुले नियन्त्रणमा लिएका गुरप्रित र इन्टरपोलको रेड नोटिसमा रहेका ब्यक्ति एकै हुन वा होइनन भने जाँचसहित सोधपुछ गरिरहेको थिए।
अग्रेजी नयाँ वर्षको अपरान्ह ती नियन्त्रणमा लिएका गुरप्रित भारतीय खुङ्खार आतंकबादी गुरप्रित सिंह सेखु नभएको खुल्यो।

भारतमा २०७३ मंसिर १२ मा पञ्जाबको पलियालास्थित नाभा जेल तोडेर खालिस्तान लिब्रेसन फोर्सका प्रमुख हरमिन्दर सिंह मिन्टु सहित ५ जना भागेको घटनाका एक आरोपी गुरप्रित अध्यागमन नियन्त्रणमा रहेका युवा नभएको खुलेको हो।

यो घटनामा सुरक्षाकर्मीको भेषमा कारागारमा प्रवेश गरेका १० जनाको टोलीले सुरक्षाकर्मीको हत्या गर्दै आफ्ना मान्छेहरु छुटाएर लगेका थिए। हरमिन्दर बिरुद्ध १० ब्यक्तिको हत्या, आतंकबादी गतिविधी र आर्थिक संकलनजस्ता गंम्भिर आरोप थिए।

भारतमा उच्चपदस्थ सुरक्षा अधिकारी समेत मुछिएको यो घटना ‘नाभा जेल ब्रेक’ काण्डका नामले कुख्यात छ। नाभाबाट भागेका आरोपी हङकङमा समेत पक्राउ परेकाले अध्यागमन अधिकारीहरुले गुरप्रितलाई नियन्त्रणमा लिन बल पुगेको जनाएका छन्।

‘हामीले कालो सूची अनुसार उहाँलाई नियन्त्रणमा लिएका थियौं,’ अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले नेपालखबरसँग भने ‘उहाँको नाम र अन्य विवरण मिलेकाले त्यसको जाँचका लागि हामीले हिरासतमा राखेका हौं।’ महानिर्देशक पौडेलका अनुसार गुरप्रितलाई बुधबार नै रिहा गरेर होटलमा बस्ने ब्यवस्था मिलाईएको थियो।

अध्यागमन विभागमा बिहीबार आवश्यक कागजी प्रक्रियाका लागि आएका गुरप्रितले नेपालखबरसँग आफुले भन्दाभन्दै एकदिन हिरासतमा राखेकोमा दुखेसो पोखे। उनी पछिल्लो पाँचवर्ष देखि परिवारसहित अमेरिकामा बस्दै आएका रहेछन्।

अमेरिकामा काम गर्ने उनले उतैको ग्रिन कार्डका आधारमा ट्राभल डकुमेन्ट बनाएर नेपाल घुम्ने र पशुपतिनाथको दर्शन गर्ने योजना बनाएका रहेछन्। विभागबाट रिहा भए लगत्तै पशुपति क्षेत्रकै एउटा होटलमा बसिरहेका गुरप्रितले भने जीवनको यो पहिलो अनुभव निकै पीडादायी भयो।

‘मैले मेरो कसुर सोध्दा केही बताइएन,’ गुरप्रितले नेपालखबरसँग भने ‘यो अनभुवले म अझै तर्सिदै छु, अब कसरी घुम्न मन लाग्छ, खाना पनि खान सकिरहेको छैन्।’ उनले यो घटना भुल्न आफुलाई अप्ठेरो भइरहेको बताउदै थपे ‘पोखरा र काठमाडौंमा एक महिना बिताउने योजना थियो, के गर्ने निकै अलमलमा परेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .