आज (बिहीबार) पनि काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज दिउँसो देशका पहाडी भेगका थोरै स्थान र तराई क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
‘खासगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा वर्षा हुने सम्भावना छ, बागमती प्रदेशमा पनि वर्षा हुने सम्भावना त छ तर अलि कम छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘तराईको हकमा कोशी प्रदेशका तराई क्षेत्रमा वर्षाको सम्भावना बढी छ।’
उनका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना छ। ‘काठमाडौँमा पनि आज वर्षा हुने सम्भावना छ, खण्डखण्डमा हुन सक्छ’, उनले भनिन्।
मौसम महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति पनि देशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ।
यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्। तर यो अहिले ८:४५ बजे अपडेट हुनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्टेसनका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक गर्नेछ।
Shares

प्रतिक्रिया