समाज


गाउँ रित्तिए, बजार भरिए

गाउँ रित्तिए, बजार भरिए

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ८:५१, बागलुङ

एक दशक अघिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश गाउँमै बस्थे, पशुपालन र कृषि पेशा गरेर जीवन निर्वाह गर्थे।

स्थानीयमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए। 

स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो। साना बजार ठूला सहरमा परिणत हुँदै गए। बागलुङ, गलकोट र बुर्तिबाङलाई जिल्लाका मुख्य बजारका रूपमा लिइन्थ्यो। 

पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ । ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ। अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ। 

निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयत ठाउँ बजारमा परिणत हुँदैगएका छन्। 

गाउँमा विकासले गति लिए पनि सहर जाने क्रम रोकिएको छैन् । गाउँ रित्तिँदै तर बजार भरिँदै गएका तमानखोलाका अध्यक्ष जोकलाल बुढामगरले बताए। ‘अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने लहर चलेको छ’, उनले भने। 

तमानखोलाबाट बुर्तिबाङ झर्नेको सङ्ख्या बढी  छ। योसँगै पोखरा, काठमाडौँ, बुटवललगायत सहर बसाइँसराइ गर्ने अत्यधिक छन्। बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्नुपर्नेमा बुढामगर बताउँछन्।

‘बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवासुविधा नहुनु हो,’ अध्यक्ष बुढामगरले भने, ‘हुनेखाने सब सहर बजार जान थालेका छन्।’  

निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजार बसाइँसराइ गर्नेको सङ्ख्या बढेको छ । बागलुङमा सबैभन्दा बढी गलकोट बसाइँसराइ रहेका गलकोट  नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी बताउछन्।

‘गाउँमा विकास भइरहेकै छ, तर पनि बसाइँसराइ कम भएको छैन्,’ उनले भने, ‘अहिले गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ । गाउँका घर जीर्ण बन्दै गएका छन्। घर र खेतीयोग्य जमिन प्रयोग गर्नेको सङ्ख्या घट्दै गएको छ।’

गलकोट–७ का विष्णु थापाले बसाइँसराइले गाउँ रित्तिदा कृषि उत्पादनमा कमी आएको बताए। धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिएका छन् । गाउँ उराठ बन्दै गएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad