नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्जिनियर विभाग प्रमुख सरोज कुमार उपाध्यायको शनिबार दिउँसो निधन भएको छ।
राजधानीको शंखमुलस्थित एक क्याफेबाट हाम फालेका उपाध्यायको उपचारका क्रममा निधन भएको हो।
पार्टीका अध्यक्ष माधव कुमार नेपालका सहोदर भाइ उपाध्ययले क्याफेबाट हाम फाल्नुको कारणबारे केही खुलेको छैन। प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।
उनी तीन दिनदेखि लगातार सोही क्याफेमा जाने गरेका थिए। उपाध्याय बिहान १० बजेतिर क्याफेमा पुगेर दिउँसो २/३ बजेसम्म क्याफेमै बस्ने गरेका थिए।
उनी प्रत्येक दिन क्याफेको छैटौँ तलामा गएर बस्ने गरेका थिए।
प्रहरी स्रोतका अनुसार उनले त्यहाँ अरु कोही मान्छे लिएर जाने गरेका थिएनन्। दुई दिनअघिमात्र उनले सञ्चालकलाई ‘आफूलाई क्याफे मन परेको’ पनि बताएका थिए।
‘बिहान १० बजेतिर त्यहाँ जाने गर्नुभएको रहेछ। दिउँसो २/३ बजेतिर त्यहाँबाट फर्कने गर्नुभएको रहेछ,’ काठमाडौ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले नेपालखबरसँग भने, ‘उहाँले २ दिनअघि आफूलाई क्याफे मन परेको बताउनु भएको रहेछ। तर किन हाम फाल्नुभयो भन्नेबारे अनुसन्धान हुँदैछ।’
उनले शनिबार क्याफेमा पुगेर मःम अर्डर गरेका थिए। एसएसपी कार्कीका अनुसार खाँदै गरेको प्लेटमा २ वटा मःम बाँकी थिए।
‘आज चाहीँ मःम मगाएर खानुभएको रहेछ,’ कार्कीले भने, ‘२ वटा मःमको डल्ला पनि बाँकी थियो। कारण केही खुलेको छैन।’
उनको निधन भएपछि एकीकृत समाजवादीका नेताहरू अन्नपूर्ण न्युरो अस्पतालमा जम्मा भएका थिए। अहिले शवको पोस्टमार्टम गरेर अन्तिम संस्कारको तयारी हुँदैछ।
Shares

प्रतिक्रिया