ad ad

समाज


जाँदाजाँदै मन्त्री गिरीले देखाए स्वास्थ्य क्षेत्रका यी विकृति

सुधार प्रयास थाल्दै गर्दा सरकार छाड्नुपरेको गुनासो
जाँदाजाँदै मन्त्री गिरीले देखाए स्वास्थ्य क्षेत्रका यी विकृति

निवर्तमान स्वास्थ्य मन्त्री पदम गिरी। तस्बिर : नेपालखबर


समृद्धा केसी
फागुन १६, २०७९ मंगलबार १४:४५, काठमाडौँ

सोमबार मात्रै स्वासथ्य मन्त्रीबाट राजीनामा दिएका एमाले सांसद पदम गिरीले जाँदाजाँदै स्वास्थ्य क्षेत्रका अनेक विकृति उजागर गरेका छन्। 

३ माघमा पदभार ग्रहण गरेका उनले त्यही दिन नै कान्ति बाल अस्पताल पुगेर बालबालिकाहरूको गुणस्तरीय उपचारमा ध्यान दिन आग्रह गरेका थिए। 

गिरीको पहिलो निर्णयका क्रममा उनले सबै अस्पतालमा न्यूनतम् सेवा लागू गर्ने र कुनै पनि बिरामी उपचार अभावमा मर्नु नपर्ने अवस्था ल्याउने बताएका थिए। 

स्वास्थ्य क्षेत्रबारे जानकारी नभए पनि उनले मन्त्री भएको केही निमै विस्तृत अध्ययन गरेको सुनाए। स्वास्थ्य क्षेत्रको जति अध्ययन गरे पनि राम्रो पक्ष नभेट्टाएको उनले मंगलबार सुनाए। स्वास्थ्यका सबै क्षेत्र भद्रगोल भेटेको उनले बताए। 

स्वास्थ्य क्षेत्र भद्रगोल अवस्थामा रहेको बताउँदै उनले आफू मन्त्रालयमा रहँदासम्म सुधार प्रयास गरेको उल्लेख गरे। 

‘अझै पनि सरकारी अस्तालमा अप्रेशन गर्नु पर्ने संख्या नौ हजार हारहारी छ’, उनले जाँदाजाँदै भने, ‘सरकारी अस्पतालमा उपचार जटिल छ। बरु अमेरिकी भिसाको मिति छिटो आउँछ तर यहाँ अप्रेशनको समय पाइँँदैन। यस्तो हालतमा छ।’

उनले स्वास्थ्य क्षेत्रमा अनावश्यक राजनीति भइहरेकोमा दुखेसो पोखे। कुनै दल नभनी राम्रो काम गरेर सेवा विस्तार भए नेपाली नागरिकले नै राम्रो सेवा पाउने स्थिति बन्ने उनको तर्क छ। 

‘स्वास्थ्य क्षेत्रमा यति धेरै राजनीति, यति धेरै भद्रगोल, यति धेरै समस्या छन्’, उनले भने, ‘सञ्चारमाध्यम, मन्त्री र कर्मचारी तीनै पक्ष एक नहुने हो भने सुधार्न सकिँदैन।’

स्वास्थ्य क्षेत्रमा निकै जोखिमका कामहरु रहेका बताउँदै उनले अहिलेसम्म खासै प्रगति नदेखिएको उनले बताए। 

भद्रगोल र विकृतियुक्त स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि आफूले अध्ययन गरेको उनले बताए। तर काम सुरु गर्ने बेला आफैँ बिदा हुनु परेको गुनासो उनले गरे।

‘स्वास्थ्य क्षेत्रमा धेरै जटिल समस्या रहेको कुरा मन्त्री भएपछि थाहा पाएँ। ४२ दिनमा सम्बन्धित पक्षहरुसँग अन्तरक्रिया गरेर कहाँ के समस्या छन्, तिनको समाधानका उपाय पनि खोजिरहेँ।’

आमनागरिकसँग जोडिएकाले स्वास्थ्य क्षेत्र नसुधारेसम्म कसैले परिर्वनतको अनुभूति गर्न नपाउने उनले बताए। 

गिरीले चाँडै स्वास्थ्य मन्त्रालय छाडे पनि स्वास्थ्य क्षेत्रका विकृतिबारे संसदबाट कुरा उठाइरहने उनले बताए।

यस्ता थिए योजना, उनकै शब्दमा 
नीतिगत क्षेत्रमा कहाँकहाँ सुधार गर्नु पर्छ? त्यसका लागि दीर्घकालीन काम गर्दा राम्रो हुने सोच बनाएको थिएँ। त्यसका लागि मैले अनौपचारि रुपमा पाँच सदस्यीय टोली बनाएको थिएँ।  

चिकित्सा विज्ञान प्रतिष्ठानमा भिसी नियुक्ति, डिन बनाउने, निर्देशक, रजिष्टार नियुक्त गर्ने, गाडीघोडा सवार गर्ने, कर्मचारी आफूसुखी नियुक्त गर्ने, डाक्टर कतै सरुवा हुनु नपर्ने। काम गरे पनि नगरे पनि भयो। यस्ता विकृति देखिएकाले एउटा छाता ऐन बनाउने तयारी थियो। 

अस्पतालहरुले छिटोभन्दा छिटो सेवा दिने उपाय र सरकारी अस्पतालको सुधार गरेर बिरामीलाई गुणस्तरीय सेवा दिन एउटा टोली त्यता खटाएको थिएँ। उनीहरुले राम्रोसँग गृहकार्य गरिरहेका थिए। 

अहिलेको स्वास्थ्य बीमा खासमा बीमा नै होइन। राज्यले एकमुष्ट अनुदान दियो। एक परिवारले वर्षमा ३५ सय तिरेर एक लाखसम्मको सेवा लियो। यो पोलिसी त बीमा नै होइन। स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने जरुरी छ। त्यसका लागि बीमितलाई दिने उपचार सेवा १ लाखबाट बढाएर ५ लाख बराबर पुर्‍याउनु पर्ने जरुरी थियो। त्यसका लागि अर्थमन्त्रीसँग कुरा गरेर अघि बढाउन लाग्दै थिएँ।

कतिपय अस्पतालले किनेका महंगा स्वास्थ्य सामग्री एक वर्षमै बिग्रिने भइरहेको छ। बिग्रिएको हो कि बिगारिएको हो। यसका लागि सबै स्वास्थ्य सामाग्रीको अभिलेख तुरुन्त तयार गर्ने योजना थियो। कुनको अवस्था कस्तो छ? बिग्रेको भए बनाएर चलाउने काम भइरहेको थियो। 

बजारमा १० प्रतिशत गुणस्तरहीन औषधि रहेछ। सबै ठाउँमा जाँच गर्ने हो भने यो बढेर २०÷२५ प्रतिशत पुग्न सक्छ। यो निकै डर लाग्दो हो। मानव स्वास्थ्यमाथि निकै खेलवाड भइरहेको छ। त्यसकारण तत्काल सम्बोधन गर्नु पर्छ भनेर सातै प्रदेशमा निकाय बनाएर गुणस्तर मापन अगाडि बढेको थियो। 

अत्यावश्यक औषधि हामीले नै उत्पादन गर्ने योजना बनिसकेको थियो। त्यसका लागि जीटुजी माध्यबाट औषधि उत्पादन गरेर अस्पतालसम्म पुर्‍याउने योजना थियो।  जसले गुणस्तर र सस्तोमा औषधि उपलब्ध हुन्थ्यो। यसका लागि हामीले गृहकार्य अघि बढाएका थियौँ।  

नेपाल स्वास्थ्य क्षेत्र रणनीति योजना पारित नभएकाले ६ अर्ब बढी बजेट रोकिएको थियो। त्यसैले यसलाई पास गर्न मैले फाइल क्याबिनेटमा पठाइसकेको छु। त्यो कार्यन्वयनमा आउँछ। 

सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेट व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने प्राथमिकतासाथ अघि बढाएको। 

अस्पताल सुधारसँग जोडिएको अर्को कुरा अस्पतालालई डिजिटल प्रणालीमा लैजानु पर्‍यो। घरबाटै अस्पतालमा बेड खाली छ कि छैन भनेर एपबाटै हेर्न मिल्ने बनाउन कार्ययोजना तयार गर्दै थियौँ।

डिजिटल प्रणालीबाट स्वास्थ्यकर्मीको अभिलेख राख्नु पर्‍यो। कुन स्वास्थ्यकर्मी कहाँ कहाँ छन्? कस्तो अवस्थामा छन् भनेर अभिलेख राख्ने योजना थियो। 

अस्पताल सुधार अभियानका क्रममा फोहोर नराख्ने भनेर कान्ति, वीर, भेरी र टोखासम्म पुगेको थिएँ। अस्पताल दुर्गन्धित होइन, बास्नादार हुनु पर्छ भनेर निर्देशन दिएँ। दीर्घकालीन रुपमा सरकारी अस्पताल बास्नादार कसरी बनाउने भनेर योजना बनिरहेको थियो।

सातै प्रदेशका अस्पालबाट विशष्टकृत सेवा दिन आवश्यक काम भइरहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .