ad ad

समाज


जसले सहर सफा राख्छन्, उनीहरू नै सुरक्षित छैनन्

जसले सहर सफा राख्छन्, उनीहरू नै सुरक्षित छैनन्

समृद्धा केसी
फागुन १२, २०७९ शुक्रबार ११:२७, काठमाडौँ

‘छि! कस्तो गन्ध आएको, यो बाटो त बिहान हिँडिसक्नु हुँदैन’ चार पाँचजना पैदलयात्री नाक र मुख थुन्दै यसो भनिरहेका थिए। तर त्यही दुगन्र्धित फोहोरको डंगुरमा मास्क पनि नलगाइ मिहिनेतसाथ कुहिने र नकुहिने फोहोर छान्दै थिइन् अनिता तामाङ। 

फोहोर छानिरहेकी २९ वर्षीया अनिताको मुखमा न मास्क थियो न  हातमा पञ्जा नै। सुरक्षाका लागि उनले बुटबाहेक केही लगाएकी थिइनन्। 

काठमाडौंका घरघरबाट निस्किने फोहोर छानेरै अनिताले ११ वर्षदेखि जीविका चलाइरहेकी छन्। यो ११ वर्षमा उनी कयौँ पटक बिरामी भइन्, कयौँ पटक फोहोर छुट्याउँदा छुट्याउँदै हात गोडा काटिए। 

‘जति छिटो फोहोर छान्यो त्यति नै बढी आम्दानी हुन्छ, यही कमाइबाट चार जनाको परिवार पालेकी छु’, उनले भन्नि, ‘पञ्जा लगाउँदा फोहोर छान्न ढिलो हुन्छ। मास्क लगाए पनि सास फुलिएर आउँछ त्यसैले लाउँदिनँ।’

पञ्जा नलगाएर फोहोर छान्दा अनितालाई धेरै पटक सिसाले काटेको छ भने सुईले पनि घोचेको छ। तर जोखिम हुँदा हुँदै पनि फोहोर छान्न ढिलो हुने भएकाले सुरक्षाका सामान नलगाएको उनले सुनाइन्। 

‘पढेकी छैन। सानैमा बिहे भइगयो। श्रीमान् पनि केही गर्दैनन्। धेरै काम खोजे, कतै नपाएपछि यसैमा लागेँ’, उनले भनिन्, ‘फोहोर छान्न निकै गाह्रो हुनै रहेछ। सुरुमा छुन पनि घिन लाग्थ्यो, गन्धले टाउको पनि दुख्थ्यो, अहिले त बानी  भएँ। अहिले सिसाले हातखुट्टा काटिरहन्छ।’

अनिता जस्तै ३० वर्षीया सीताको दैनिकी पनि फोहोरको थुप्रोमा बित्छ।

सीता पनि काठमाडौं महानगरका घरबाट उठाइएका फोहोर छान्ने काम गर्छिन्। सीताले सुरक्षाका लागि बुट लगाएर माथिबाट प्लाष्टिकले बाँधेकी छन्। त्यसबाहेक अरु सुरक्षाका उपाय अपनाइएको छैन।

‘केही महिनाअघि फोहोर केलाउँदा केलाउँदै सिसाले हात काटेर १२ टाँका लगाएँ। चोट लागेपछि १५ दिन बिदामा बस्नुपरेको थियो’, उनले भनिन्, ‘त्यसपछि त केही समय पञ्जा लगाएर काम गरेँ, तर झन्झट लाग्यो, अहिले खाली हातले फोहोर छान्छु।’

सीताले फोहोको थुप्रोमाथि काम गर्न थालेको १० वर्ष भयो। फोहोरमा काम गर्दा गर्दै अहिले श्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ। तर, उनले अहिलेसम्म अस्पताल पुगेर जँचाउन सकेकी छैनन्। उनी पनि मास्क लगाएर काम गर्नै नसकिने बताउँछिन्। 

‘कहिले काम गर्दागर्दै हात खुट्टामा चोट लाग्छ, कहिले गन्धले टाउको दुख्छ, आँखा पोल्छ। आजभोलि धेरै बिरामी हुन थालेकी छु’, उनले आफ्ना दुःख सुनाइन्। 

फोहोर उठाउने जिम्मा पाएको संस्थाले बिरामी हुँदा छुट्टी दिए पनि उपचारमा सहयोग नगरेको गुनासो उनले पोखिन्। तलबबाहेक अरु सुविधा नभएको उनले बताइन्। 

काठमाडौंको फोहोर व्यवस्थापन गर्दा स्वास्थ्य जोखिममा परेका अनिता र सीता प्रतिनिधि पात्र मात्रै हुन्। यस्ता थुप्रै सरसफाइकर्मीले ज्यान नै जोखिममा राखेर शहर सफा गरिरहेका छन्। 

दीर्घकालीन समस्या 
सुरक्षित स्वास्थ्य सामाग्री उपलब्ध नहुँदा र फोहोर व्यवस्थापन गर्ने संस्थाले पनि ध्यान नदिँदा उनीहरुको स्वास्थ्यमा जटिलता आउने जनस्वास्थ्यविद् डा. शरद वन्तले बताए। 

उद्योग र अस्पतालबाट निस्किने फोहोरमैलाले पार्ने असरबारे अध्ययन भए पनि घरबाट निस्कने फोहोरको असरबारे अझैसम्म अनुसन्धान नभएको डा. वन्त बताउँछन् । फोहोरको प्रवृत्तिले नै स्वास्थ्यमा पार्नेे असर निर्धारण गर्ने उनले बताए।

‘घरबाट निस्किने फोहोर लामो समय राखेर निकालिएको भए सरसफाइकर्मीले छान्दा स्वास्थ्यमा निकै असर पार्न सक्छ’, पन्तले अगाडि थपे।

उनका अनुसार कुनै फोहोर कति पुरानो भन्ने कुराले त्यसको असरलाई निर्धारण गछर्। ‘लामो समयदेखि राखिएको फोहोरमा किटाणु हुन्छ’, उनले भने, ‘जसले रुघाखोकी, पखला र टाइफाइट जस्ता रोग लाग्ने जोखिम उच्च हुन्छ।’

वीर अस्पतालका जनरल फिजिसियन सुरेश नेपाल सफाइकर्मीलाई धारिला वस्तुले काट्ने जोखिम धेरै हुने बताउँछन्। जसले घाउचोट लाग्नुका साथै हेपटाइटिस, एचआइभी र अन्य सरुवा रोग सर्ने जोखिम उच्च हुने उनले बताए।

‘धेरैजसो सफाइकर्मी झाडापखला, टाइफाइट, हेपाटाइटिस जस्ता रोगहरु लिएर  वीर अस्पतालमा आउने गरेका छन्’, उनले भने, ‘पछिल्लो समय यस्ता सफाइकर्मीको संख्यामा वृद्धि भएको छ।’

फोहोरको चर्को गन्ध, धुलो र धुवाँल दीर्घकालीन रुपमा दम जस्ता रोग लाग्न सक्ने उनले बताए। फोहोरको थुप्रोमा काम गर्दा मास्क र पञ्जा अनिवार्य लगाउनुपर्ने उनले सुझाए।

फोहोर व्यवस्थापन गर्नेहरुमा संक्रामक रोग र दम जस्ता स्वासप्रशवाससम्बन्धी रोगहरु धेरै देखिएको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए। 

डा. पुनले फोहोरमैलामा काम गर्नेहरुमा बढीजसो टाइफाइट, झाडापखला, रुघाखोकी र टिटानस जस्ता समस्या देखिने उल्लेख गरे। 

‘केमिकल बढी भएको क्षेत्रमा फोहोर व्यवस्थापन गर्नेहरुलाई अझ बढी नसर्ने रोगहरुको जोखिम हुन्छ,’ उनले सुनाए। 

फोहोर व्यवस्थापनमा निरन्तर खटिएका केही सफाइकर्मीको विभिन्न रोगका कारण अल्पायुमै मृत्यु भइरहेको काठमाडौं महानगरपालिकाको वातावरण विभागकी पूर्वप्रमुख सरिता राईले बताइन्। 

‘सफाइ क्षेत्र अतिजोखिम र संवेदनशील काम हो, पिपिई लगाउँदा गर्मी हुने, पञ्जा लगाउँदा फोहोर उठाउँदा गाह्रो हुने भनेर धेरैजसोले सुरक्षा सामाग्री नलगाउने गरेका छन्’, उनले भनिन्।

सुरक्षा सामग्री प्रयोग गर्न बानी नभएका कारण पनि सफाइकर्मीहरु धेरै बिरामी हुने र चोटपकको शिकार हुने गरेको उनले बताइन्। 

‘स्वास्थ्य सामग्री प्रयोग गरेर काम गर्न बानी नपरेकाले पनि यो समस्या आएको हो’, उनले भनिन्, ‘उनीहरुलाई यसरी केही नलगाएर फोहोरमा काम गर्दा हुने स्वास्थ्य जटिलताबारे सचेतना दिन आवश्यक छ।’ 

धेरैजसो सफाइकर्मीले स्वास्थ्यबारे बेवास्ता गर्छन्। कतिलाई फोहोरमा काम गर्दा स्वास्थ्य समस्या हुने जानकारी नै नभएको उनले बताइन्। 
सफाइकर्मीलाई अनिवार्य सुरक्षा सामाग्री प्रयोग र कडाइसाथ अनुगमन जरुरी रहेको उनको भनाइ छ। 

‘सफाइकर्मीको स्वास्थ्य र उनीहरुका सुरक्षाका सामाग्रीबारे निर्देशिका बनाउन आवश्यक छ’, उनले भनिन्, ‘अहिले उनीहरुबारे कुनै निर्देशिका बनेको छैन। निर्देशिका बनाएर सुरक्षा सामग्री लगाउनै पर्ने नियम ल्याउनु पर्छ।’

सरकारले के दिन्छ?
अहिले उपत्यकाको फोहोर व्यवस्थापन स्थानीय तहसहित ७७ वटा निजी संस्था लागिरहेको राईले बताइन्।

उपत्यकामा ७८ कम्पनीमा ३ हजार बढी सफाइकर्मी कार्यरत रहेको फोहोरमैला व्यवस्थापन संघ नेपाल (स्वामान) का महासचिव नेत्रप्रसाद घिमिरे बताउँछन्।

निजी संस्थाहरुले भित्री सहर र ‘कोर सिटी’का ९ वटा वडाबाहेक सबै स्थानको फोहोर व्यवस्थापन गर्ने राईले बताइन्।

निजी कम्पनीहरुले काठमाडौं महानगरपालिकासँग सम्झौता नगरी स्वयमसेवीका रुपमा काम गर्दै आइरहेको उनले जानकारी दिइन्। 

स्थानीय तहका सफाइकर्मीलाई निश्चित स्वास्थ्य प्याकेजको व्यवस्था नभएको राईले सुनाइन्।

काठमाडौं महानगरका हरेक वडामा सञ्चालित निःशुल्क शहरी स्वास्थ्य क्लिनिकबाट नै  सफाइकर्मीले स्वास्थ्य परीक्षण गर्न व्यवस्था मिलाइएको उनले बताइन्।

उनीहरुलाई  क्रोनिक रोग लागे ५ लाखसम्म औषधोपचार खर्च दिने गरिएको छ। ‘वर्षमा १२ दिन बिरामी बिदा छ। अवकाशमा जाँदा औषधोपचार खर्चस्वरुप सरकारले १८ महिनाको तलब दिन्छ’, उनले भनिन्। 

निजी संस्थामा आवद्ध सरसफाइकर्मीलाई स्थायी कर्मचारीसरह बिदा दिने स्वामानका महासचिव घिमिरे बताउँछन्। 

त्यस्तै सफाइकर्मीको मासिक तलब सामाजिक सुरक्षा कोषमा छुट्याएर पठाउने गरेको उनले बताए। ‘सामाजिक सुरक्षा कोषबाट सेवाअनुसार पाउँछन्, अन्य विशेष स्वास्थ्य सेवाको व्यवस्था भएको छैन’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .