ad ad

समाज


मुठ्ठीदानबाट सुरु भएको विद्यापुर, शैक्षिक हव बनाउने सरकारी योजना

मुठ्ठीदानबाट सुरु भएको विद्यापुर, शैक्षिक हव बनाउने सरकारी योजना

तस्बिर : दिनेश बुढा/नेपालखबर


दिनेश बुढा
माघ २५, २०७९ बुधबार ७:३८, सुर्खेत

सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका–९ मा अवस्थित छ, विद्यापुर जनता बहुमुखी क्याम्पस। क्याम्पसको स्थापना २०५३ माघ १६ गते जनता माध्यमिक विद्यालय पञ्चपुरी–९ विद्यापुर, सुर्खेतको भनाबाट सुरु भएको हो।

क्याम्पसको स्थापना पश्चिम सुर्खेतका शिक्षाप्रेमी, अभिभावक, गुरुवर्ग, राजनीतिक दलका प्रतिनिधिहरुले डाँडादराको छाप्रेबाट सुरु गरेका थिए। प्राथमिक, माध्यमिक, उच्च माध्यमिक तहहुँदै अघि बढ्ने अठोट अठोटलाई साकार पार्न यामबहादुर थापाको अध्यक्षतमा समिति गठन भइ त्यही अनुरुप विद्यालय विस्तारको कामलाई अगाडि बढाइएको थियो। 

जनताको चाहनालाई मूर्तरूप दिनका लागि यस क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिको नेतृत्व तत्कालीन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक यामलाल घिमिरेले गरे। घिमिरेले चालेको कदमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद खराल, त्यति बेलाका क्याम्पस संचालन समितिका अध्यक्ष यामबहादुर थापा लगायतका टिमले सहयोग गर्दै शिक्षक कर्मचारीहरूको मद्दतमा थप काम अगाडि बढायो।

यसै क्रममा क्याम्पसलाई तत्काल स्थापना गर्नका लागि भौतिक पूर्वाधार अन्यत्र नपुग्ने भएकोले तत्कालका लागि जनता उच्च मा.विको भवन, पुस्तकालय, खेलमैदान र आशिंक शिक्षकहरूबाट नै शैक्षिक जनशक्ति समेत उपयोग गर्ने गरी क्याम्पस संचालन गर्नेका लागि अभिभावक भेलाको आयोजना गरियो।

स्नातक तहमा शिक्षा र मानविकी कार्यक्रम संचालन गर्नका लागि वि.स. २०६३ साल माघ १६ गते अभिभावक भेला आव्हान गरिएको थियो।

उक्त भेलाले यामबहादुर थापाको अध्यक्षतामा एक तदर्थ समिति गठन गरि विद्यालयका प्रधानाध्यापक यामलाल घिमिरेलाई सदस्य सचिवको जिम्मेवारी प्रदान गरेको थियो। 

त्यसपछि वि.स.२०६४ साल असोज २१ गते त्रिभुवन विश्वविद्यालबाट स्नातक तहमा मानविकी र शिक्षाशास्त्र संकायका कार्यक्रमहरू संचालन गर्ने गरी सम्बन्धन प्राप्त भयो।

सोही वर्षको मंसिरदेखि शिक्षा विषयको कक्षा संचालनमा आएका थिए।

त्यसको ४ वर्षपछि व्यवस्थापन संकायमा पनि पढाई हुनुपर्ने माग उठ्न थालेपछि वि.सं. २०७० साल असोज २१ गतेदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई ४ वर्षे व्यवस्थापन कार्यक्रममा पनि पठन-पाठन सुरु भयो। उक्त अभिभावक भेलाबाट गठन भएको समितिले विभिन्न व्यक्ति, संघसंस्थाबाट चन्दा संकलन गर्ने, क्याम्पसलाई जग्गा व्यवस्थापन गर्नेमा कार्यमा छुटे। 

सोही क्रममा १० रोपनी जग्गा स्थानीय कलाधर पौडेलको दान दाताबाट, १२ रोपनी स्व कलावति पौडेलबाट, ६ रोपनि तिलकराम पौडेलबाट र ९ रोपनी खरिद गरी भवन निर्माणका लागि कामको थालनि गरिएको थियो। तत्कालिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतको नेतृत्वमा समिति गठन भइ विभिन्न संस्थाबाट आर्थिक स्रोत संकलन गरी क्याम्पसको जग्गामा २३ कोठा भएको भवनको नक्साङ्कन भएको थियो। 

यस्तै, कलाधर पौडेलको अध्यक्षतामा सञ्चालक समिति गठन भइ निर्माणाधिन एकतले भवन निर्माणको कार्य सकिएको र त्यसपछि तत्कालिन सूचना तथा संचार राज्यमन्त्री स्व. तप्तबहादुर विष्टको अध्यक्षतामा समिति गठन भइ उक्त समितिले माथिल्लो तला थप गर्ने र भौतिक पूर्वाधार तयार गर्ने लगायत कार्यलाई अगाडि बढाएको थियो।

पछि २०७५ चैत २ गते त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आगिक क्याम्पस बनाइएको थियो।

हाल क्याम्पसमा महिला छात्रावास, कम्प्युटर ल्याब, २ किलोवाट सोलार, मुलभवनको माथि ट्रस निर्माण, क्याम्पस कार्यालय व्यवस्थापन, क्यान्टिन निर्माण तथा पुरुष छात्रावासको काम जग निर्माणको काम जारी रहेका छन्। हाल आएर विश्वविद्यालयको ३० लाख रकमबाट ट्रस्ट निर्माणको बाँकि कामलाई पूरा गर्ने काम संचालनमा रहेको पनि क्यम्पसले जनाएको छ। 

साथै, कर्णाली प्रदेश सरकारले छुट्याइएको १५ लाख बजेटबाट शौचालय निर्माणको काम अगाडि बढिरहेको छ। यो क्याम्पस सुर्खेत पश्चिमकै चर्चित क्याम्पसका रुपमा परिचित छ भने यस क्याम्पसमा कर्णाली प्रदेशका दैलेख, सुर्खेत, कालीकोट र सुदूरपश्चिम प्रदेशका डोटी, अछाम र कैलालीका विद्यार्थीहरू पढ्न आउँने गरेका क्याम्पसको भनाइ रहेको छ।

क्याम्पस प्रमुख तीर्थबहादुर शाही

छात्रवृत्ति विकासका लागि अक्षय कोष 
क्याम्पसको छात्रवृत्ति विकासको प्रयोजका लागि समाजसेवी हेमप्रकाश भूपालबाट एक लाख एक हजार एक सय १५, यस क्याम्पसका पूर्व क्याम्पस प्रमुख डिल्लीराम भण्डारीबाट एम लाख रकम गरी जम्मा दुई लाख एक हजार एक सय १५ बराबरको अक्षयकोष निर्माण गरिएको छ। 

आगामी दिनमा सुर्खेतको उच्च शिक्षाको विकासमा शिक्षाप्रेमीहरुबाट रकम थप गरी यसलाई विस्तार गर्ने योजना क्याम्पसको रहेको छ। यसरी यस क्याम्पसको विकासक्रममा यसलाई हालको स्थितिसम्म ल्याउनका लागि स्थापना कालका क्याम्पस प्रमुख यामलाल घिमिरेदेखि क्रमशः त्यसपश्चातका क्याम्पस प्रमुख देवप्रकाश सापकोटा, रामकुमारी बारघरे, इन्द्रा पौडेल, डिल्लीराम भण्डारीले प्रशासनिक जिम्मेवारी कुशलतापूर्वक बहन गरी क्याम्पसको विकासमा महत्तवपूर्ण भूमिका निर्वाह गरेको हालका क्याम्पस प्रमुख तीर्थबहादुर शाहीले जानकारी दिए। 

यस क्याम्पसको वृद्धि विकासलाई अगाडि बढाउन सामुदायिक वनसंग ५३ बिगाहा जमिन समन्वय गरी नेपाल सरकारसंग पाविधिक धार विस्तारको लागि बी एससि, फ्रस्टिको सम्भाव्यता अध्ययनको सर्वपक्षिय कार्यदल बनाउने योजना क्याम्पसले लिएको छ।

प्राविधिक  शिक्षा प्रदान गर्ने लक्ष्य, जनशक्ति अभाव
यस्तै, क्याम्पसले आगामी दिनमा प्राविधिक विषयको शिक्षा प्रदान गर्ने महान लक्ष्य बोकेको छ। क्याम्पसमा एक जना उपप्राध्यापक आठ जना करार शिक्षण सहायक र ६ जना आशिक शिक्षण सहायक र तीन जना कर्मचारी र ४८९ जना विद्यार्थी रहेकोका छन्। 

क्याम्पसका लागि आवश्यक जनशक्ति जस्तै शिक्षकहरू लेखा अधिकृत, आई-टि विज्ञ, प्रशासनिक अधिकृत, चौकिदार, सेक्यूरिटी गार्ड र मालीको दरबन्दी समेत नभएकोले काम गर्न कठीन भईरहेकोले क्याम्पसले जनाएको छ। जसको पूर्तिका लागि पहल कदमी अगाडि बढाउन विश्वविद्यालयमा माग गर्दा पनि कुनै सुनुवाइ नभएको क्याम्पस प्रमुख तीर्थबहादुर शाहीको भनाइ रहेको छ। 

यस्तै, क्याम्पसका अनुसार १२ जना कर्मचारीको अभाव छ। 

क्याम्पसको आर्थिक अवस्था
यस क्याम्पसको आर्थिक वर्ष २०७० देखि ०७९ सम्मकोे जम्मा आम्दानी एक करोड २२ लाख ८८ हजार ६५८ रहेको छ। जसमा जम्मा खर्च एक करोड ४१ लख ८६ हजार १३० रुपैयाँ रहेको छ। क्याम्पसको आर्थिक अवस्थालाई बलियो बनाउन एउटा धार्मिक ज्ञान महायज्ञ कार्यक्रम सञ्चालन गर्ने सोच क्याम्पसले राखेको छ। जसबाट  हाल रहेका आर्थिक चुनौतीलाई समाधान गर्न सकिने आंकलन गरेको छ। 

यस्तै, क्याम्पसले विद्यार्थी नियमितता नभएको, जनशक्तिको पर्याप्त र दरबन्दी नभएको, बत्ती, सडक संजाल इन्टरनेट, ब्रेन डेन, विद्यार्थी भर्ना, आधुनिक पुस्तकालय, वाचनालय, खेलकुद सामग्री र खेलमैदान, तारबार र अनुसन्धान लेख रचनामा कमी जस्ता समस्या रहेको क्याम्पसका प्रमुख तीर्थबहादुर शाहीले जानकारी दिए।

विद्यापुरलाई शैक्षिक हव बनाउने योजना छ : अर्थमन्त्री शाह
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले कर्णाली सरकारले विद्यालपुरलाई शैक्षिक हव बनाउन सकिन्छ कि भनेर योजना बनाएको बताएका छन्। मन्त्री शाहले योजनाले सार्थक पाएको खण्डमा प्रदेश सरकारले विद्यापुरमा आवासीय विद्यालयहरु निर्माण गर्ने बताएका छन्।

क्याम्पसको १६ औँ वार्षिकउत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘यस क्षेत्रलाई शैक्षिक हव बनाउने योजना बनाएका छौँ। हिमाली क्षेत्रमा रहेका जिल्लाका विद्यार्थीहरु जसले वर्षमा ६ महिना मात्रै पढ्न पाउँछन्। त्यसपछि त्यहाँ हिउँदको समयमा धेरै चिसोका कारण विद्यालय बिदा हुने गर्दछ। त्यस्ता जिल्लाका विद्यार्थीहरुलाई शैक्षिक पठनपाठन यस विद्यापुरबाट गराउनुपर्छ भनेर योजना बनाएका छौँ। त्यो योजना सफल भएको खण्डमा यहाँका नागरिकलाई समेत राहत मिल्ने छ।’

यस्तै, मन्त्री शाहले क्यम्पसको स्वरुप राम्रो बन्दै क्यम्पसको छेउमै छात्रवासको लागि शिल्यानास भएर डिपीसि भएको र पुरा नभएकोले त्यस भवन निर्माणका लागि पहल थालिने मन्त्री शाहले आश्वासन दिए। 

‘तपाईंहरुले आफ्नो तर्फबाट यसको स्तर उठाउनका लागि यहाँ भएको जनशक्तिलाई माया गर्नुहोस्। सहयोग गर्नुहोस्। मुठीदान गरेर भएपनि यस्को आर्थिक अवस्थामा योगदान बढाउनुहोस्। यसले दिने अरु कुनै चिजले दिँदैन्। किन भने हाम्रो बालबालिका राष्ट्रको योग्य नागरिक बन्ने यहीँ मन्दिर हो। त्यसैले हामीले यसलाई आफ्नै पेशा ठानेर स्याहार सुसार गर्नपर्छ अनि मात्रै देशको विकास हुनसक्छ।’ मन्त्री शाहले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .