स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नर्सहरुको श्रमशोषण गर्ने र न्यूनतम् तलब दिने स्वास्थ संस्थालाई नवीकरण नगरी खारेजसम्म गर्ने चेतावनी दिएका छन्।
नेपाल नर्सिङ संघको ६१ औँ वार्षिकोत्सवलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै गिरीले नर्सको तलब निकै कम भएको सुनेकाले श्रम शोषण गर्ने स्वास्थ्य संस्था अनुगमन गरि कारबाही गर्ने बताए।
`नर्सको तलब ७/८ हजार पनि छ भन्ने सुनें, यसले मलाई गम्भीर बनाएको छ', उनले भने, 'यो भयावह र कहालीलाग्दो अवस्था हो, तपाईंहरु तत्थ्य र प्रमाणसहित हामीलाई जानकारी दिनुस्, त्यस्ता संस्थालाई कारबाही गर्छौँ।'
उनले नर्सको तलब पेन्सिलले लेखिने गरेको भन्दै आक्रोश पोखेका छन। 'नर्सको तलब पेन्सिलले लेखिन्छ भन्ने सुनेको छु, तर अब यस्तो हुँदैन, अब स्वास्थ्य संस्था डिजिटल पेमेन्टमा जानुपर्छ,´ उनले भने।
गिरीले नर्सको नर्समैत्री ऐन, नियम बनाउने पनि प्रतिवद्धता जनाएका छन्। 'नर्सलाई मुस्कानसहित सेवा दिनु पर्छ भनिन्छ, तर उनीहरु बिरामी हेर्दा हेर्दा हाँस्न भुलिसकेका छन्', उनले भने, 'नर्सले बिरामीलाई बचाउन निकै ठूलो भूमिका खेल्छन्। त्यसैले उनीहरुको काँधमा ठूलो जिम्मेवारी रहन्छ।'
'मैले सुनेँ- ८/१० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ। यो निकै चिन्ताको विषय हो । यसरी न्यूनतम तलब भत्ता पनि नदिई श्रमको शोषण गर्ने कुरा कुने पनि हालतमा ठीक हुँदैन। त्यस्ता अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रोगरी अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ', उनले भने।
यसमा कुनै सम्झौता नहुने बताउँदै उनले तथ्य र प्रमाण भेटिए नवीकरण नगर्ने र खारेज गर्नेसम्मको कारबाही हुने उल्लेख गरे।
‘बिरामीको उपचारमा सक्रिय रहने नर्सहरुले मुस्कानसहितको सेवा दिनुपर्छ, बिरामीलाई मुस्कानसहित भूमिका दियो भने आधा रोग आफैं ठीक हुन्छ पनि भनिन्छ,’ उनले भने,‘नर्सिङ पढ्दा तपाईहरुको मुहारमा सधैँ हाँसो हुन्थ्यो। यो पेशामा लागेपछि हाँसो नै गुम्यो । बिरामी आउँछ, ऐया गर्छ, बिरामी ऐया र आत्था गर्दा तपाई हाँस्न सक्नुहुन्न। विस्तारै नहाँस्ने लत नै बस्यो होला । तर तपाईंहरुको अनुहारमा हाँसो आवश्यक छ। तपाईंहरु हाँस्दा बिरामीले पनि राहत महसुस गर्छ।’
संवेदनशील पेशा भएकाले नर्सहरुमा धैर्यता जरुरी रहने उनले बताए।
‘तपाईंहरु यो पेशामा आउँदाखेरि नै यो पेशाका चुनौती के–के हुन् भन्ने थाहा पाएरै आउनुभएको छ। त्यसैले जस्तोसुकै बेलामा पनि धैर्यता चाहिन्छ।
उनका अनुसार तपाईंहरुको सानो लापरवाहीले एकजनाको ज्यान जानसक्छ। उसका बालबच्चा टुहुरा हुनसक्छन् र आफन्तले परिवारको सदस्य गुमाउँछन् । त्यसैले नर्सहरुको काँधमा ठूलो अभिभारा हुन्छ।
Shares
प्रतिक्रिया