ad ad

समाज


विप्लव खोज्न प्रहरी टोली भारतमा, दश महिनामा १२५८ पक्राउ

विप्लव खोज्न प्रहरी टोली भारतमा, दश महिनामा १२५८ पक्राउ

दीपक खरेल
पुस ११, २०७६ शुक्रबार १३:१५,

प्रहरीले धनुषाको महेन्द्रनगरमा मंसिर २७ मा भएको बम विस्फोटमा आफ्नै संगठनका एक अधिकृत गुमायो। इन्स्पेक्टर अमिरकुमार दाहालको मृत्यु भयो।

क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा बम राखिएको सूचनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट दाहाल टोलीसहित घटनास्थल पुगेका थिए। उनी पुग्नेबित्तिकै टाइमर राखिएको बम पड्केको थियो। दाहाल सहित मेडिकल व्यवसायी ४८ वर्षीय राजेश साह र उनका १६ वर्षीय छोरा आनन्द साहको मृत्यु भयो। प्रहरीका एक जवानसहित ४ जना घाइते भए।

मृतक राजेश साह ‘सुदखोर’ भएकोले उनको हत्या गरिएको चर्चा चल्यो। प्रहरीले यसलाई ‘नेत्रविक्रम चन्द विप्लवको समूहले गराएको आपराधिक घटना’ ठहर गरी अनुसन्धान गरिरहेको छ।

‘यो विशुद्ध आपराधिक घटना हो,’ प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्की भन्छन्, ‘यसमा हिजोका आपराधिक समूह नयाँ खोल ओढेर आएका मात्र हुन्।’

उनले घटनालगत्तै डीएसपी रामेश्वर कार्कीसहित १२ जनाको अनुसन्धान टोली बनाएर अनुसन्धान अघि बढेको बताए।

डीआईजी कार्कीका अनुसार काठमाडौंबाट खटिएको टोली र आसपासका जिल्लामा रहेका अनुसन्धानमा पोख्त अधिकृत समेत अनुसन्धानमा सक्रिय छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले हालसम्म यही घटनामा जोडिएका १३ जनालाई पक्राउ गरेको छ। रामजी साह तेली, रामशोभित बाह धानुक, ललितादेवी महरा, रामसुरेश महतो, लतिफ कवाडी, अस्गर कवाडी, जितन राय, गणेश यादव, इसुफ राई, राजगिर यादव, जितेन महरा, अब्दुल रहिम र शेख मिसु पक्राउ परेका छन्।

‘घटनाको योजनादेखि कार्यान्वयनसम्म संलग्न अधिकांशलाई नियन्त्रणमा लिएका छौं,’ धनुषा प्रहरी प्रमुख एसपी रमेश बस्नेतले नेपालखबरसँग भने, ‘थप केही व्यक्तिको खोजीमा छौं, घटनाको वास्तविकता त्यसपछि सार्वजनिक हुनेछ।’

विप्लव खोज्न प्रहरी टोली भारतमा
संगठनका एकजना असल सदस्य गुमाएसँगै यतिबेला प्रहरीले एसएसपी नेतृत्वको एउटा टोली विप्लव सहितका व्यक्तिको खोजीमा भारतमा परिचालन गरेको छ। उच्च प्रहरी अधिकारीहरुका अनुसार केही महिनाअघिसम्म नेपालकै पहाडी र हिमाली भागमा ठाउँ फेर्दै हिँडिरहेका विप्लव र उनको टोली धनुषा विस्फोटभन्दा केही दिनअघि मात्र भारतको उत्तर प्रदेशमा पुगेको थियो।

विप्लव र उनको समूहका प्रमुख सदस्यहरु उत्तर प्रदेशको राजधानी लखनउ आसपासका क्षेत्रमा रहेको र ठाउँ फेर्दै हिँडिरहेको विश्वसनीय सूचना प्रहरीका उच्च अधिकारीहरूले पाएका छन्। र, त्यही अनुसार प्रहरी टोली भारतमा परिचालन गरिएको एक उच्च अधिकारीले बताए।

‘उनी द्वन्द्वकालमा लुक्ने गरेकै ठाउँतिर अहिले पनि जाने गरेको सूचना हामीलाई आएको छ,’ एक उच्च प्रहरी अधिकारीले विप्लवको अहिलेको आश्रयस्थलबारे जानकारी पाएको उल्लेख गर्दै भने, ‘उनले आर्थिक संकलनका लागि आतंकको बाटो अंगीकार गरेका छन्।’

उपस्थिति देखाउने, शक्ति सञ्चय गर्ने रणनीति
प्रारम्भिक अनुसन्धानमा प्रहरीले धनुषा विस्फोट विप्लवका स्थानीय कार्यकर्ताले गराएको आशंका गरेको थियो। तर, दुई साता लामो अनुसन्धानमा पक्राउ परेका व्यक्ति र हैसियतका आधारमा प्रहरीले यो विप्लवको केन्द्रीय निर्णयबाटै भएको निष्कर्ष निकालेको छ। विप्लव मधेसमा सक्रिय हुन खोजेको निचोडसहित प्रहरी सुरक्षा मजबुत बनाउन जुटेको छ।

अनुसन्धान टोलीले पक्राउ गरेर बुझाएका आरोपितमध्ये अधिकांश पुराना माओवादी कार्यकर्ता र समर्थक छन्। यद्यपि विप्लव समूहले धनुषा विस्फोटको औपचारिक जिम्मेवारी लिएको छैन।

प्रहरीले पहाडी र हिमाली जिल्ला तथा पूर्वी र पश्चिम तराईमा विप्लवविरुद्धको कारवाहीलाई तीव्रता दिएपछि उनले मध्य तराई केन्द्रित गतिविधि बढाएका हुन्।

‘मध्य तराईका सशस्त्र समूहका कार्यकर्ता पनि विप्लव समूहमा आवद्ध भएको सूचना पाएका छौं,’ ती अधिकारीले भने, ‘गोइत र जनतान्त्रिकका पुराना नेता कार्यकर्ता समेत हाम्रो निगरानीमा छन्।’

कमान्डरसहित १२५८ पक्राउ
प्रहरीले २०७५ फागुन १० पछि हालसम्म विप्लव समूहका एकहजार दुईसय ५८ जनालाई पक्राउ गरेको छ। जसमध्ये उच्च तहका नेता नै २ सय ५९ छन्। पक्राउ पर्ने उच्च नेतामा स्थायी समिति सदस्य र मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन), मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्र बहादुर चन्द (वीरजंग), पोलिट्ब्युरो सदस्य भरतबहादुर बम र जनवर्गी संगठन ब्युरो इन्चार्ज मोहनबहादुर कार्की (जीवन्त) छन्। यस्तै, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष तथा पार्टीको केन्द्रीय सदस्य बन्धुकुमारी शाह चन्द (शिला) पनि पक्राउ परेकी छन्। पक्राउ पर्ने जिल्ला तहका नेता भने ६ सय ६४ जना रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका यी सबै हाल पूर्पक्षका लागि कारागारमा छन्। नेपाल रेड योङ फोर्सका अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य विवश भनिने बाबुराम राई भने २३ असारमा रिहा भएका छन्। प्रहरीले पक्राउ गरेका अन्य केन्द्रीय नेताहरुमा केन्द्रीय सदस्य एवं न्याय विभाग प्रमुख चुडामणि वली (आदर्श), केन्द्रीय सदस्य एवं सैन्य विभाग केन्द्रीय कार्यालय सुरक्षा तथा मध्यपश्चिम कमान्ड चन्द्रबहादुर खड्का (असल क्षेत्री) समेत पक्राउ परेर छुटेका छन्।

केन्द्रीय सदस्य वसन्त श्रेष्ठ (विजय), कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर), उपत्यका ब्युरो इन्चार्ज माइला लामा र भेरी ब्युरो इन्चार्ज बलबहादुर ओली (शीतल), केन्द्रीय सदस्यहरु श्यामबहादुर बोहोरा (अटल), नवीन विश्वकर्मा (हितमान), केशबहादुर बाठा (सुवास), पूर्व केन्द्रीय सदस्य तथा ईरातोपाटी प्रकाशन गृहका पूर्वअध्यक्ष गुणराज लोहनी, पूर्व केन्द्रीय सदस्य तथा हालको जनवर्गीय संगठनका इन्चार्ज टेकबहादुर केसी र पूर्वसगरमाथा ब्युरो इन्चार्ज दिपेश राई समेत पक्राउ परेका छन्।

छुटेपछि पनि विप्लवको गतिविधिमै संलग्न रहेका ३ सय ३५ जनालई प्रहरीले पुनः पक्राउ गरेको छ।

gun-biplav.jpg

हतियार खोज्दै प्रहरी र सेना
देश शान्ति प्रक्रियामा गएको १२ वर्षपछि पनि द्वन्द्वकालमा सुरक्षाकर्मीबाट तत्कालीन विद्रोहीले लुटेका हतियार बरामद हुँदैछन्।

नेपाली सेनाले सुनसरीको बराहक्षेत्र नगरपालिकाको एउटा घरमा छापा मारेर एकथान स्वचालित हतियार र हजारौँ थान गोली बरामद गरेपछि विप्लवका गतिविधिमा सेनाको समेत चासो रहेको पुष्टि भएको छ। केही दिनअघि पूर्वी पृतना मुख्यालय इटहरीले स्थानीय खेमराज प्रधानको कुखुराको खोरमुनि गाडेर राखेको अवस्थामा एक थान एसएमजी र विभिन्न हतियारमा प्रयोग हुने नौ हजार ९८२ राउन्ड गोली बरामद गरेको थियो।

प्रहरीले २०७५ चैत्र ११ देखि कार्तिकसम्म विप्लवका नेता कार्यकर्ताका साथबाट २९ थान पेस्तोल, एसएलआर एकथान, एलएमजी तथा एसएमजी ५ थान र एम १६ एकथान बरामद गरेको छ। प्रदेश १ प्रहरी कार्यालयको विशेष टोलीले धरानमा १५ फागुन २०७५ मा नेपाली सेनासँगमात्र उपलब्ध अमेरिकी हतियार एम १६ बरामद गरेको थियो।

धरान उपमहानगरपालिका–६ पानबारी चोक्टीबाट २ थान स्वचालित आधुनिक हतियार सहित मोरङ केराबारी गाउँपालिका–१० बाहुनी बस्ने ४२ वर्षीय संगीत उपनाम भएका देवकुमार लिम्बु पक्राउ परे।

सेनाले प्रयोग गर्ने एम–१६ एटु अमेरिकी राइफल र यसमा प्रयोग हुने म्यागजिन १ थान एउटा बाकसबाट र अर्को बाकसबाट लाइट मेसिन गन (एलएमजी) एकथान र यसमा प्रयोग हुने म्यागजिन २ थान बरामद भएको हो।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पानबारी सुनसरीबाट खटिएको प्रहरी टोलीले धरानबाट मोरङको केराबारीतर्फ जाँदै गरेको मे ५ प ७५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्यो। प्रहरी देख्नासाथ मोटरसाइकल भागेपछि पिछा गर्दै जाँदा प्रहरीले लुकाइराखेको हतियार फेला पारेको थियो। लिम्बु कोशी ब्युरो सदस्य थिए।

सुरक्षा निकायबाट लुटिएका हतियार तत्कालीन विद्रोही माओवादी नेता–कार्यकर्ताबाट बरामद भएको यो पहिलो घटना होइन।

३ पुस २०७३ मा जुम्लाबाट २ थान एसएलआर, २०७० कात्तिकमा जाजरकोट सदरमुकाम खलंगाबाट ६ थान थ्रीनट थ्री, २ थान टु इञ्च मोर्टार र ४४ थान एसएलआर बरामद गरेको थियो। प्रहरीले मनाङमा यार्सा लुट्न प्रयोग भएको एके–४७ सहित ६ साउन २०७१ मा दुईजना माओवादी कार्यकर्तालाई पक्राउ गरेको थियो। नेपाली सेनाले ९ चैत २०७१ मा नेपालका तीनै सुरक्षा निकायसँग नभएको एम–१६ एम वान राईफल बरामद गरेको थियो। सेनाले एक–१६ को एमटु राइफलमात्रै प्रयोग गर्छ।

नेपाली सेनाको निकुञ्ज सुरक्षामा रहेको श्रीजंग गणको चप्परचुली पोस्टबाट खटिएको पैदल टोलीले हतियार लुकाएर राखेको अवस्थामा भेटेको थियो। अनुसन्धानमा बरामद हतियारहरु माओवादीको तत्कालीन जीत स्मृति ब्रिगेडका नाममा भएका थिए।

त्यसबेला बरामद हतियार वैद्य पक्षले लुकाएको हुन सक्ने एकीकृत नेकपा माओवादीका नेताहरुले बताएका थिए। त्यस्ता हतियार पछिल्लो समय आपराधिक कार्यमा प्रयोग भइरहेका छन्।

लुटिएकामध्ये आधा मात्रै हतियार बुझाइयो
सरकारी तथ्यांक अनुसार सशस्त्र द्वन्द्वमा माओवादीले सुरक्षाकर्मीबाट ६ हजार ७८ थान सानाठूला हतियार लुटेको थियो।

नेपाल प्रहरीका ३ हजार ४ सय नौ थान, सशस्त्र प्रहरीका एकहजार ८ सय २९ र नेपाली सेनाका ८ सय थान हतियार लुटिएको थियो। नेपालका तीनै सुरक्षा अंगले प्रयोग नगर्ने एके–४७ समेत त्यतिबेला माओवादीसँग थियो।

माओवादी शान्ति प्रक्रियामा आएसँगै उसले आफूसँग ३ हजार ४ सय ७५ थान हतियार रहेको विवरण बुझायो। ती हतियार संयुक्त राष्ट्र संघीय शान्ति मिसन (अनमिन) को रोहबरमा लाहाछाप लगाएर कन्टेनरमा राखियो।

सेना समायोजनको प्रक्रिया सुरु भएपछि तत्कालीन विद्रोही माओवादीले प्रमुख नेताको सुरक्षाका लागि भन्दै केही हतियार आफैँसँग राखे। तरसेना समायोजन भइसक्दा समेत हतियार बुझाउन आलटाल गरियो।

नेपाल सरकारले नेताको सुरक्षाका लागि लगिएका हतियार बुझाउन २२ चैतमा मन्त्रिपरिषद् बैठकबाटै निर्णय गर्नुपर्यो। सरकारले २०७० वैशाख मसान्तसम्म हतियार बुझाउने समय सीमा तोकेको थियो। माओवादीका एकहजार ४ सय ६० लडाकु नेपाली सेनामा १० मंसिर २०६९ मा समायोजन भइसकेका थिए। माओवादीले त्यतिबेला जम्मा ६२ थान हतियार सरकारलाई बुझाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .