काठमाडौंको टोखा नगरपालिका–१० स्थित सामाखुसी चोकबाट टोखा जाने सडक खण्डमा रहेको आकाश जोगिनी पेट्रोल पम्पसँगै रहेका टहरामा आगलागी भएको छ।
शुक्रबार साँझ ८ बजे आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो।
सो आगलागी करिब एक घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगो निभाउन काठमाडौं महानगरपालिकाबाट–१, बालाजु औद्योगिक क्षेत्रबाट–१, बूढानीलकण्ठ नगरपालिकाबाट–१ र प्रहरीको वाटर क्यानन–१ गरी ४ वटा दमकल तथा ५ वटा पानी ट्यांकरको प्रयोग गरिएको थियो।
यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो निभाइएको थियो।
घटनामा मानवीय क्षति भएको छैन भने क्षतिको विवरण आउन बाँकी छ।
आगोलागीको कारण खुलेको छैन। यस सम्बन्धमा प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको बताइएको छ।
Shares

प्रतिक्रिया