आज (शनिबार) देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो। यसैगरी देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
महाशाखाकी मौसमविद् सजिना शाक्यले आज दिउँसो काठमाडौँ उपत्यकाका पनि एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिइन्।
बुलेटिनअनुसार आज राति भने प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ : प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको मौमसविद् शाक्यले जानकारी दिइन्।
Shares
प्रतिक्रिया