नेपाल पत्रकार महासंघले महासंघ मकवानपुर शाखा सदस्यद्वय रामकुमार एलन र रमेश बञ्जरामाथि समाचारको विषयलाई लिएर आक्रमण भएको भन्दै आपत्ति जनाएको छ ।
सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका २०/२२ जनाको समूहले आइतबार पत्रकारद्वयमाथि आक्रमण गरेको महासंघले जनाएको छ।
महासंघका अनुसार पत्रकारमाथि आक्रमण भएपछि छुटाउन जाने क्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महसचिव कृष्ण सारुमगरमाथिसमेत उक्त समूहले आक्रमण र दुर्व्यवहार गरेको थियो। सो क्रममा महासचिव सारुमगर सामान्य घाइते भएको र पत्रकार एलनको देब्रे कान र दाहिने गालामा चोट लागेको महासंघ मकवानपुर शाखाले जनाएको छ।
‘समाचारको विषयमा चित्त नबुझे या कुनै गुनासो भए कानुनी उपचारमा जानसकिने विकल्पलाई छाडेर पत्रकारमाथि आक्रमणमा उत्रिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो’ महासंघले विज्ञप्ति जारी भगरी भनेको छ, ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता हर्कतमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्बाध र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ।’
प्रतिक्रिया