ad ad

समाज


सन्दीपका वकिलको बहस : उमेरदेखि अभियोगसम्म प्रश्न

‘जाहेरी झुटो, तथ्य स्वीकार, अभियोग अस्वीकार’
सन्दीपका वकिलको बहस : उमेरदेखि अभियोगसम्म प्रश्न

फाइल तस्बिर।


नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १०:२२, काठमाडौँ

जिल्ला अदालत काठमाडौंमा सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामा तीनदिनदेखि बहस जारी छ। सोमबार अभियोग पत्र दायर भएपछि पहिलो दिन मंगलबार सन्दीपको बयान गराइएको थियो।

बुधबार पनि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस भएको थियो। तर दुवै पक्षबाट बहस गर्ने कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको हो। 

बुधबार पीडितको पक्षबाट बहस गरेका कानुन व्यवसायीले सन्दीपले बलात्कार गरेको पुष्टि भएको दाबी गरेका थिए। 

सन्दीपको तर्फबाट अधिवक्ता मुरारीप्रसाद सापकोटाले बहस सुरु गरेका थिए। सापकोटाले सुरुवात गर्दै पीडत पक्षले लगाएको आरोपको खण्डन गरे। 

त्यसअघि सरकारी वकिलले सन्दीपले बयानका क्रममा स्वीकार गरेका कुराले पनि बलात्कार पुष्टि हुने बताएका थिए। तर सन्दीपतर्फबाट बहस गरेका सापकोटाले नेपालखबरसँग भने, ‘सन्दीपले कतिपय तथ्य मात्रै स्वीकार गरेका हुन्। अभियोग स्वीकार गरेका होइनन्। अभियोग र तथ्य फरक हो। सन्दीपले नगरकोट गएको, होटलमा बसेको स्वीकार गरेका हुन्। बलात्कार गरेको स्वीकार गरेका होइनन्।’

यस्तै उनले सन्दीपमाथि लगाइएको अभियोगमा कतिपय तथ्य नै गलत रहेको बताएका छन्। जाहेरवालाले सुरुमा सन्दीपले फोन गरेको भनेकी थिइन्। तर सापकोटाले त्यो गलत भएको र किशोरीले नै पहिले फोन गरेको बताएका छन्। 

‘जाहेरीमा भएको यो कुरा पनि झुटो हो, केटीले आफैं सन्दीपलाई फोन गरेको हो। अर्को कुरा क्रिकेटर देव खनालले सन्दीपको भिडियो खिचेर त्यो केटीलाई पठाइदिएका रहेछन्। यो भिडियो पठाउँदा सन्दीपको सहमति लिइएको छैन। यसरी सहमतिबिना भिडिओ पठाउन मिल्दैन। भिडिओमा युजरआईडी पनि पठाइएको रहेछ। फ्रेन्ड रिक्वेस्ट पनि केटीले नै पठाएको हो’, सापकोटाले बहसमा भने। 

उमेर पुगे पनि नपुगे पनि जबरजस्तीकरणीको वारदात स्थापित हुनुपर्ने तर त्यसका लागि प्रत्यक्ष प्रमाणहरु केही पनि नभएको सापकोटाले बताए। उमेरको विषयमा पनि उनले तर्क गरेका थिए। 

त्यसअघि मंगलबार बयानका क्रममा नै सन्दीपले किशोरीको उमेर १९ वर्ष पूरा भएको प्रमाण पेश गरेका थिए। अभियोगमा नागरिकता अनुसार १८ वर्ष मात्रै उमेर रहेको दाबी गरिएको थियो। तर अर्को जन्मदर्ता बनाएर किशोरीको उमेर घटाइएको र सोही अनुसार नागरिकता बनाएको भन्दै किशोरीको बास्तविक उमेर भने १९ वर्ष रहेको दाबी सन्दीप पक्षको रहेको छ। 

सन्दीपले किशोरीको सुरुको जन्मदर्ता, बसाईसराईको प्रमाण पत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण पनि अदालतमा पेश गरेका छन्। जसमा किशोरीको जन्म मिति २०६१ असार १८ गते उल्लेख छ। सन्दीप पक्षले सुरुको जन्म मितिलाई वास्तविक मान्नु पर्ने जिकिर गरेका छन्। 

किशोरीको तर्फबाट बहस गरेका कानुन व्यवसायीले जहिले पनि महिला मात्रै पीडित हुने र इजतमा दाग पनि उनैलाई मात्रै लाग्ने तर्क गरेका थिए। किशोरीको तर्फबाट डा. शसि अधिकारी लगायतले बहस गरेका थिए। उनीहरुले जहिले पनि महिलाको चरित्रमा मात्रै प्रश्न उठ्ने गरेको भन्दै त्यसमा आपत्ति जनाएका थिए। 

त्यसको जवाफमा रोशनी पौडेलले भनिन्, ‘पहिलो कुरा त हामी सबै मान्छे हो, त्यसपछि मात्रै लिंगको कुरा आउँछ। बिहीबार रमनकुमार श्रेष्ठ, शम्भु थापा, सविता भण्डारी, कृष्ण सापकोटा, लव मैनाली लगायतले बहस गर्ने तयारी छ। थापासँग सन्दीप पक्षले कुरा गरेको भएपनि टुंगो भने लागिसकेको छैन। 

सन्दीप पक्षको बहस सकिए आजै थुनछेक आदेश आउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .