समाज


भारतमा ९ जना मान्छे मारेको बाघ नेपाली प्राविधिक टोलीको सहयोगमा समातियो

भारतमा ९ जना मान्छे मारेको बाघ नेपाली प्राविधिक टोलीको सहयोगमा समातियो

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ८:२०, भरतपुर

भारतमा नौ जना मान्छे मार्ने बाघ नियन्त्रणका लागि नेपाली प्राविधिक टोली भारत पुगेको छ। भारतको वाल्मीकि टाइगर रिजर्भको अनुरोधमा चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली भारत पुगेर बाघ नियन्त्रणमा लिन सहयोग गरेको हो। वाल्मीकि टाइगर रिजर्भ बिहार प्रदेश पश्चिम चम्पारण जिल्लाको उत्तर–पश्चिमी भागमा छ।

चम्पारण जिल्लाको वेतिया गोवरदन भन्ने स्थानमा पुगेर बाघ नियन्त्रणका लागि प्राविधिक सहयोग गरिएको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले बताए। 

निकुञ्जको सीमावर्ती क्षेत्रमा पसेको बाघले पटक–पटक मान्छे मारेपछि सहयोगका लागि चितवन राष्ट्रिय निकुञ्जलाई अनुरोध गरिएको थियो। यहाँबाट डा श्रेष्ठको नेतृत्वमा प्राविधिक किरण रिजाल, तीर्थ लामा, टीका थारू, रमेश चौधरी र तेन्जिङ चौधरी गत असोज २६ गते त्यसतर्फ गएको थियो। बाघ रहेको स्थान ‘लोकट’ गरेर दुई हात्तीको साहयताले नियन्त्रणमा लिइएको डा श्रेष्ठले बताए। 

धेरै मान्छेको ज्यान लिइसकेकाले भारत सरकारको निर्देशनमा सो बाघलाई नियन्त्रणमा लिएपछि उनीहरूले सुट गरेर मारेको उनले जानकारी दिए। 

‘एक महिनादेखि त्यहाँको प्राविधिक टोली बाघ नियन्त्रणका लागि खटिएको थियो, तर नसकेपछि हामीसँग सहयोग मागिएको हो’, उनले भने, ‘बाघले मान्छे निरन्तर मारेपछि त्यहाँका स्थानीय र प्रहरी प्रशासनबीच द्वन्द्व चलेको थियो।’ बाघले यति धेरै मान्छे मारेको चम्पारण जिल्लामा पहिलो घटना हो। यो क्षेत्र नेपालको ठोरी नाकाबाट करिब ७० किलोमिटरको दूरीमा पर्छ।

पहिलोपटक नेपालको प्राविधिक टोली भारत पुगेर वन्यजन्तु नियन्त्रणमा लिन सहयोग गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए। 

‘वन्यजन्तुको उद्धारमा हाम्रा प्राविधिकको अनुभव धेरै छ’, उनले भने, ‘त्यहाँ महिनौँसम्म नियन्त्रणमा लिन नसकेको बाघ यहाँका प्राविधिक पुगेको केही बेरमै नियन्त्रणमा आयो।’

विसं २०७४ मा यहाँबाट बगाएर भारत पुर्‍याएको गैँडा यहाँका प्राविधिकहरू नै पुगेर डार्ट गरेर ल्याएका थिए। त्यसबाहेक यहाँका प्राविधिक भारतमा वन्यजन्तु उद्धार र नियन्त्रणमा लागि गएका छैनन्। 

चितवन राष्ट्रिय निकुन्जमा वन्यजन्तु उद्धार र नियन्त्रणका लागि आठ जना प्राविधिक छन्। खुला सिमानाका कारण चितवन राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्वमा बाघ ओहोरदोहोर गर्ने गर्छन्। वाल्मीकि टाइगर रिजर्भमा ५१ बाघ छन् भने चितवन राष्ट्रिय निकुन्जमा एक सय २८ बाघ छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad