सात/आठ वर्षअघिसम्म महेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा जताततै पिङ देखिन्थे।
महेन्द्रनगर बजार क्षेत्रमा आकासमा उडिरहेका रङ्गीबिरङ्गी चङ्गाहरु देख्न पाइन्थ्यो। तर अहिले सहरमा पिङ र चङ्गा उडाएको बिरलै देखिन्छ।
उतिबेला महेन्द्रनगरस्थित खुला मञ्च, गोबरियास्थित निङ्लाशैनी मन्दिर र पूर्व पश्चिम राजमार्ग छेउ झलारी, वनसमिति र दैजीमा पिङ खेल्ने र चङ्गा उडाउनेहरुको भीड देखिन्थ्यो।
दसैँको घटस्थापनासँगै गाउँगाउँमा पिङ बनाउने र चङ्गा उडाउने प्रतिस्पर्धा हुने गर्दथ्यो। यसले समाजमा रमाइलोसँगसँगै सद्भावसमेत कायम थियो। तर, अहिले महेन्द्रनगर सदरमुकामका गाउँमा मात्र होइन, जिल्लाका कुनै पनि गाउँ बस्तीमा पिङ र चङ्गा उडाइरहेको पाइँदैन। पहिलाको जस्तो अहिले दसैँका बेला पिङ हाल्ने र चङ्गा उडाउनेको सङ्ख्या न्यून रहेको कञ्चन समाजका अध्यक्ष धर्मराज जोशीले बताए।
‘चार/पाँच वर्षअघिसम्म हामीले पनि पिङ हाल्थ्यौँ, यो केही वर्ष बीचमा रोकियो’, उनले भने, ‘अहिले त बच्चाहरुले समेत पिङ कस्तो हुन्छ खेल्न पाए हुन्थ्यो भन्न थालेपछि यस वर्ष हामीले पिङ हालेका छौँ।’ उनले अहिलेको पुस्ताले पिङका बारेमा समेत जानकारी नहुने भएपछि कञ्चन समाज र भीमदत्त नगरपालिका–६ को सहयोग महेन्द्रनगरस्थित पूर्व पश्चिम राजमार्ग छेउमै पिङ हालेको बताए।
उतिबेला महेन्द्रनगर बजारमै पनि धेरै ठाउँमा पिङ खेल्नेको घुइँचो हुने गरेको यहाँका स्थानीयवासी धीरज जोशीले बताए। ‘हामी आफैँ पनि पिङ खेल्न दुईरतीन ठाउँमा पुग्थ्यौँ’, उनले भने।
Shares
प्रतिक्रिया