ad ad

समाज


प्रहरीले १८० र सशस्त्रले ६० वटा गाडी किन्न मागे टेन्डर

प्रहरीले १८० र सशस्त्रले ६० वटा गाडी किन्न मागे टेन्डर

उजिर कार्की
भदौ २०, २०७९ सोमबार २२:४५, काठमाडौँ

नेपाल प्रहरीले १८० र सशस्त्र प्रहरीले ६० वटा गाडी किन्ने भएका छन्। निर्वाचनपहिले नै खरिद गरिसक्ने गरी दुवै सुरक्षा निकायले टेन्डर आह्वान गरेका हुन्। 

अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई गाडी खरिदका लागि ७५ करोड दिएको छ। अर्थले नै प्रतिगोटा ५० लाखमा नबढ्ने गरी खरिद गर्न अनुमति दिएपछि प्रहरीले सोही अनुसार टेन्डर आह्वान गरेको छ। प्रहरीले १५ दिने सूचना जारी गर्दै खरिद प्रक्रियाका लागि आवेदन माग गरेको हो। 

नेपाल प्रहरीले दुई प्रकारका गाडी खरिद गर्ने भएको छ। प्रहरीले ५० लाख रुपैयाँ गोटाका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागि टेन्डर माग गरेको हो। 

यस्तै सशस्त्र प्रहरीले पनि ६० वटा गाडी निर्वाचनअघि नै खरिद गरिसक्ने भएको छ। सरकारले सशस्त्र प्रहरीलाई गाडी किन्न २५ करोड रुपैयाँ दिएको छ। नेपाल प्रहरीकै मापदण्डका गाडी किन्न सशस्त्रलाई पनि भनिएको छ। 

सशस्त्र प्रहरीले ५० लाखका दरले २५ वटा र ३५ लाख दरका ३५ वटा गाडी खरिद गर्ने भएको छ। यसका लागि सशस्त्रले सोमबार टेन्डर आह्वान गरेको छ। खरिद गर्ने कम्पनीले नै गाडीमा प्रहरीका लागि आवश्यक रंगरोगन र अन्य सबै सामान जडान गर्नु पर्नेछ। 

गृह मन्त्रालयले २५ वटा गाडी किन्ने भएको छ। गृहले ५० लाख रुपैयाँ प्रतिगोटाका गाडी किन्न लागेको हो। नेपाल प्रहरीले साढे ६ सय गाडी खरिद गर्नका लागि बजेट माग गरेको भए पनि अर्थले माग गरेजति बजेट नदिएको हो। 

यसअघि स्थानीय तहको निर्वाचनको समयमै सबै सुरक्षा संगठनले गाडी खरिदका लागि बजेट माग गरेका थिए। तर अर्थ मन्त्रालयले आर्थिक संकट देखाउँदै गाडी खरिदका लागि बजेट दिन नसकिने जवाफ दिएपछि त्यतिबेला प्रहरीले गाडी किनेको थिएन। 

निर्वाचनका लागि आवश्यक सवारी भाडामा लिइएको थियो। यस पटक गाडी किने पनि प्रहरीले निर्वाचनको समयमा एक हजार सवारी भाडामा लिने भएको छ। त्यसका लागि भने अर्थ मन्त्रालयले बजेट दिइसकेको छ। 

चुनावको समयमा प्रहरीलाई गस्ती गर्न एक हजार ५० वटा सवारी भाडामा लिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .