ad ad

समाज


भगवतीमाई गाउँपालिकामा ‘युवा स्थापित डोजर विस्थापित’

भगवतीमाई गाउँपालिकामा ‘युवा स्थापित डोजर विस्थापित’

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ११:३,

दैलेखको भगवतीमाई गाउँपालिकाले श्रमरोजगार बैंक स्थापनापश्चात् ‘युवा स्थापित डोजर विस्थापित’ नीति अगाडि सारेको छ।

आर्थिक वर्ष २०७६÷०७७ देखि शुरु हुने श्रमरोजगार बैंकमार्फत १४० युवालाई रोजगारी दिएको गाउँपालिकाले युवालाई विकासमा स्थापित गराएर डोजर विस्थापित नीति अघि सारेको हो।

नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको र सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारी हकसम्बन्धी ऐन २०७५ अनुसार श्रमरोजगार बैंक स्थापना गरी रोजगार दिएकोे गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए।

उनले चालू आर्थिक वर्षको नीति तथा बजेटमार्फत पाँँच वर्षभित्र गाउँपालिकाका युवालाई बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्नका लागि श्रमरोजगार बैंकमार्फत रोजगारी दिन लागेको अध्यक्ष थापाले बताए। चालू आर्थिक वर्षमा २१ योजनामा युवाले काम गर्ने बताउँदै उनले यसका लागि युवालाई आवश्यक तालीम प्रदान गरिएको छ भने।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले श्रम रोजगार बैंकमार्फत गाउँपालिकाका सातवटै वडाबाट प्रतिनिधित्व गर्ने गरी युवा छनोट गरेको र अब हुने विकास निर्माणमा डोजर र उपभोक्ता समितिलाई विस्थापित गर्ने तयारीसमेत रहेको बताए।


श्रम रोजगार बैंकमा आबद्ध भएका युवालाई कसरी तलब खुवाउने हो त्यसका लागि कार्यविधि निर्माणको चरणमा रहेको र चाँडै कार्यविधि निर्माण गरिसक्ने तयारीमा गाउँपालिका रहेको उहाँले जानकारी दिए।

श्रम रोजगार बैंकमार्फत रोजगारी सिर्जना गरेसँगै सो गाउँका युवासमेत उत्साहित भएका छन्। गाउँपालिकाले रोजगार बैंकमार्फत रोजगारी दिएसँगै आफूहरुले उत्साहित भएर काम गर्ने भगवती माई गाउँपालिका–२ का मानबहादुर शाहीले बताए।

वैदेशिक रोजगारीमा १० वर्ष काम गरेका युवासमेत रोजगार बैंकमा आबद्ध भएर गाउँमा काम पाएपछि खुशीसमेत भएका छन्। श्रम रोजगार बैंकमा काम गर्न उत्साहित हुँदै यो वर्ष छानिएका १४० युवा मध्ये ५० जना यसअघि रोजगारीका लागि दुवई, मलेसिया, कतार र भारत गएर मजदूरी गर्दै आएको भए पनि गाउँमै रोजगारी शुरु हुने भएपछि यो वर्ष भगवतीमाई गाउँपालिकाका ५० युवाले विदेश नजाने निर्णय गरेर श्रम रोजगारमा लागेको गाउँपालिकाले जनाएको छ।

रोजगार बैंकमार्फत खटिएका कामदारको स्वास्थ्य परीक्षण, तालीम, जीवन बीमा, इपान भर्नेलगायतका अन्य कामसँगै जिल्ला बाहिरसमेत अरुले कामको लागि आवश्यक पर्दा टोली खटाउनका लागि दुईजना छुट्टै व्यक्तिको चयन गरिएको छ। हरेक १० जनामा एक जनालाई टोली कमाण्डर निर्माण गरिएको छ। युवा र युवतीको समान ज्यालाको व्यवस्थापन गरिएको छ।

यो वर्ष १४० युवाले आआफ्नो वडामा रहेका खानेपानी, सडक, सिँचाइका योजनाको काम गर्ने छन्। उनीहरुलाई सामूहिकरुपमा पशुपालन र तरकारी उत्पादनतर्फ अग्रसर गराउने र हरेक एउटा नमूना काम देखाउने तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .