‘एकछिन त मौन रहेँ। यो खबर पहिलोपटक कसलाई सुनाऔँ भन्ने भयो। दायाँबायाँ हेरेँ तर घरमा म एक्लै थिएँ...।’
जीवनका गल्छेडाहरूका सुःख दुःखका साथी जीवनसंगिनी सङ्गीता शनिबार दिउँसो नातिनीलाई लिएर नैकाप बजारतिर निस्किएकाले त्यो खुसीको क्षण केहीबेर महाकाव्यकार डा. नवराज लम्साल वरिपरि मात्रै नाचिरह्यो।
उकुसमुकसको अनुभवबीच ढोकाबाट बाहिरतिर हेर्दा श्रीमती सङ्गीता नातिनीका लागि किनिदिएको जुत्ता हातमा बोकेर आउँदै गरेको देखेपछि कवि नवराजले ‘अलि छिटो आऊ न...’ भन्न नपाउँदै श्रीमती सङ्गीताको जवाफ आयो, ‘किन र बूढा, मदन पुरस्कार जित्यौ कि क्या हो?’
छिमेकी जिल्ला धादिङबाट काठमाडौँ छिरेको ३८ वर्षपछि साहित्यिक जीवनमा सबैभन्दा ठूलो खुसी र उपलब्धिको खबर सुनेपछिको पहिलो अनुभूति आइतबार राससलाई सुनाउँदै थिए– प्रसारण पत्रकारिताका लोकप्रिय प्रतिभा डा. लम्साल। उनलाई ‘अग्नि’ महाकाव्यले यसपटक मदन पुरस्कार के पाउला र भन्ने नलागेको होइन। यसअघिका दुई महाकाव्य ‘कर्ण’ र ‘धरा’ ले पाउने आश गरिए पनि पाउन नसकेकाले यसपटक त्यस पुरस्कारतर्फ कवि लम्सालको त्यति ध्यान थिएन।
मदन पुरस्कार गुठीले उत्कृष्ट आठभित्र पारेपछि यसपटक ‘अग्नि’ले बाजी मार्ने अनुमान धेरैले गरेका थिए तर अन्तिम घोषणा हुनुअघि कवि लम्साललाई प्रसूति गृहभित्र लगिएको गर्भवतीको जस्तो अनुभव भएको थियो। विजयी घोषणा हुनुपूर्वको समय प्रसूति गृहभित्र बच्चा जन्मिएर च्याँ गर्दा बाहिर कुरिरहनेलाई छोरा या छोरी के होला? त्यो शिशु कस्तो होला भन्ने कुतूहलभएजस्तै लागेको थियो कवि लम्साललाई।
बीस वर्षसम्म त्यही महाकाव्यमा हरफहरु मुसारेर निखार गरिएको ‘अग्नि’ मा सीमान्तकृत वर्ग–समुदायका पीडा र भोगाइका गहन विषयवस्तु समेटिएका छन्। त्यही महाकाव्यले अहिले साहित्यिक बजार पिट्न थालेको छ। हालसम्म उक्त कृति पाँच हजार प्रति बिक्री भइसकेको छ।
मुलुकको राजनीति र इतिहासकालदेखि पछाडि पारिएका पात्र र प्रवृत्तिलाई अनुसन्धानका आधारमा ग्रामीण लोकलयमा काव्यमा उतारिएको ‘अग्नि’ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरबारको समेत उल्लेख हुनुले यसले ऐतिहासिकता झल्काएको छ। बुकहिल प्रकाशनले बजारमा ल्याएको ४२ सर्गयुक्त महाकाव्यमा समाजमा सांस्कृतिक शोषणमा परेका पात्रका आवाजलाई सुललित शैलीमा उतारिएको छ।
यस वर्ष साहित्यिक क्षेत्रमा तीन सय १० पुष्ठको उक्त ‘अग्नि’ महाकाव्यलाई पुरस्कृत गर्ने लहर नै चलेको छ। मदन पुरस्कार गुठीले घोषणा गर्नुअघि यस कृति सुदूरपश्चिम साहित्य समाज, सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद्बाट उत्कृष्ट ठहरसहित पुरस्कार घोषित भइसकेको थियो भने पद्यश्री पुरस्कार पनि पाइसकेको थियो। साहित्यिक क्षेत्रको प्रतिष्ठित मानिने मदन पुरस्कार पाउने निश्चयपछि कवि लम्साललाई मनभरिको खुसीसँगै जिम्मेवारीबोधले थिच्न थालेको छ। सस्ता र रुमानी विषय नलेखी नेपाली माटोको इतिहास, भूगोल, संस्कृतिमा टेकेर समय, समाज र संवेदनालाई साहित्यमा लेख्ने स्रष्टा नवराजका कलमले समाजमा रोग, भोक, शोक र गरिबीका बीच प्रेमिल विषयहरू लेख्न मान्दैन।
रेडियो नेपालका कार्यक्रम महाशाखाका निर्देशक डा नवराज केही वर्षअघिसम्म रातमा जम्मा दुई घण्टा मात्रै निदाएर आँखाको थकान मेटाउने गर्थे। रेडियोको सेवाका साथै साहित्यिक लेखन, लेखनका लागि समाज र विषयवस्तुको अध्ययन, बीबीसी नेपाली सेवाका पहिलो कला संवाददाता आदि जिम्मेवारी एकैपटक सम्हाल्नु एउटा महाकाव्यकारका लागि कति सहज होला? तर नवराजले ती दिन पार गरिसकेकाले अब स्रोता र पाठकको माया र प्रतिक्रियामा खुसीका क्षण बिताउन थालेका छन्।
हालसम्म ३५० गीत रेकर्ड गरिसकेका नवराज रेडिओमा ‘मधुवन’ कार्यक्रमका माध्यमबाट निकै लोकप्रिय भएका छन्। प्रत्येक हप्ता एक घण्टाको साहित्यिक कार्यक्रम ‘मधुवन’ रेडिओ नेपालबाट २०५४ सालदेखि निरन्तर सञ्चालन भइरहेको छ।
लम्साल धादिङको नीलकण्ठ नगरपालिका–११ मा पिता टङ्कप्रसाद र आमा हेमकुमारीको कोखबाट विसं २०२६ साउन ८ गते जन्मिएका हुन्। नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव २०५९ मा प्रथम भएका कवि लम्सालले विसं २०४१ अरुणोदय पत्रिकामा ‘बन्दना’ शीर्षकबाट काव्ययात्राको थालनी गरेका थिए।
हाल चन्द्रागिरि नगरपालिका–१५ स्थित शब्दशिविरमा बसिरहेका लम्सालले लोकगीत विषयमा विद्यावारिधि गरेका छन्। उनका ‘पाइलैपिच्छे सगरमाथा’ (कवितासङ्ह, २०६१), ‘आगो छोपेर कतिन्जेल’ (कविता सङ्ग्रह २०६२), ‘धुनभित्र धुनबाहिर’ (गीतिसङ्ग्रह, २०६२०), ‘कर्ण’ (महाकाव्य, २०६६), ‘उडूँ उडूँ लाग्छ!’ (बालगीत सङ्ग्रह), २०७२), ‘धरा’ (महाकाव्य), २०७३), ‘क्रमशः एक्लै एक्लै’ (कविता सङ्ह २०७४) प्रकाशन भइसकेका छन्। रासस
Shares

प्रतिक्रिया