समाज


छुट्टी मनाउन घरबाट घुम्न निस्केका थिए तीन किशोरी

चिया बगानमा काम गर्थे, घरमा झगडा थिएन
छुट्टी मनाउन घरबाट घुम्न निस्केका थिए तीन किशोरी

नेपालखबर
साउन ८, २०७९ आइतबार १३:४, काठमाडौँ

झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले प्रारम्भिक अनुसन्धानबाट तीनै किशोरीले झुन्डिएर आत्महत्या गरेको देखिएको छ।

यद्यपि अनुसन्धान जारी रहेकाले अहिले नै घटनाको निष्कर्षमा पुग्न नसकिने उनले बताएका छन्। 

कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा ती किशोरीहरु झुन्डिएर मृत भेटिएपछि गाउँ शोकमा डुबेको छ।

घटनाको प्रकृति हेर्दा उनीहरु तीनैजनाले आत्महत्या गरेको अनुमान गरिएको पाठकले बताए। 'अहिलेसम्म किशोरीहरुले झुन्डी आत्महत्या गरेको देखिन्छ। तर शवको पोस्टमार्टम अझै बाँकी छ', उनले भने, 'त्यही भएकाले अहिले नै एकीनसाथ निष्कर्षमा पुग्न हतार हुन्छ।'

प्रहरीका अनुसार दुईजना किशोरी एउटै हाँगो र एकजना अर्को हाँगोमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। 

झुन्डिएको अवस्थामा भेटिएकाहरुमा कचनकवल-५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना छन्। 

घुम्न भनेर हिँडेका थिए
गाउँकै चिया बगानमा काम गर्ने ती किशोरीहरु शनिबार घरबाट घुम्न भनेर हिँडेका थिए। शनिबार चिया बगान पनि बिदा हुने भएकाले घुम्न निस्किएका उनीहरु  बेलुकासम्म नफर्किएपछि खोजी थालिएको थियो।

'शनिबार राति अबेरसम्म नआएपछि अभिभावकहरुले खोजी गरेका रहेछन्। तर नभेटिएपछि हामीकहाँ खबर आएको थियो', पाठकले भने, 'तर आइतवार बिहान साढे सात बजेतिर सुनकोसी चिया बगानस्थित बयरको रुखमा उनीहरु झुन्डिएको भेटिए।'

पाठकका अनुसार घटना अहिलेसम्म शंकास्पद देखिएको छैन। 'हिजो शनिबार छुट्टीको दिन घुम्न भनेर घरबाट सँगै निस्किएका रहेछन्',  उनले भने, 'एउटै चिया बगानमा काम गर्थे, छुट्टी भनेर हिँडेका खुलेको छ। रातिसम्म नआएपछि मात्रै खोजी भएको रहेछ।'

पाठकले आत्महत्याको अनुमान गरिए पनि चिकित्सा रिपोर्ट नआउन्जेल एकिनसाथ बोल्न नमिल्ने बताए। 'घटना शंकास्पद त देखिएको छैन। प्रारम्भिक अनुसन्धानबाट हेर्दा शंकास्पद छैन', उनले भने, 'तर हामी अनुसन्धान गर्दैछौँ।'

पाठकका अनुसार ती तीनै किशोरीको घरमा कुनै विवाद नरहेको खुलेको छ। 'अभिभावकहरुसँग छलफल गर्दा झगडा याद विवाद केही पनि नभएको पाएका छौँ', उनले भने, 'घरमा पनि सल्लाह गरेर नै हामी घुम्न जान्छौँ भनेर निस्किएका रहेछन्।'

ती तीनै किशोरीको शव अहिले बयरको रुखबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाइँदैछ। पाठकले ती शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .