ad ad

समाज


बुद्ध जीवनीसँग जोडिएका स्थान समेटेर ‘एकेडेमिक सर्किट’ बनाउँदै लुम्बिनी विश्वविद्यालय

बुद्ध जीवनीसँग जोडिएका स्थान समेटेर ‘एकेडेमिक सर्किट’ बनाउँदै लुम्बिनी विश्वविद्यालय

प्रकाश न्यौपाने
मंसिर २०, २०७६ शुक्रबार ७:४२,

लुम्बिनी बौद्ध विश्वविद्यालयले एकेडेमिक सर्किट बनाउने योजना अघि सारेको छ। बुद्ध जीवनीसँग जोडिएका स्थानलाई जोडेर सर्किट बनाउने योजना सारिएको हो।

लुम्बिनीसहित बुद्ध सर्किट क्षेत्र बुद्धमावली देवदह, सिद्धार्थ हुर्केको तिलौराकोट र अस्तुधातु रहेको रामग्रामसम्म 'एकेडेमिक सर्किट' बनाउने गरी विश्वविद्यालयले योजना बनाएको छ । विश्वविद्यालयको शाखा विस्तारका लागि बुद्ध मावली क्षेत्रमा करिब ९० बिघा जग्गा छनोट गरिएको छ । हाल विश्वविद्यालयको लुम्बिनीस्थित पर्सा चोकमा दुई बिघा तीन कट्ठा, लुम्बिनी विकास कोष भित्र चार बिघा र सक्रोनपकडीमा पाँच बिघा जग्गा छ ।

‘हाम्रो लक्ष्य दैलोदैलोमा बौद्ध शिक्षा पुर्‍याउनु छ, नैतिकवान् व्यक्ति उत्पादन गर्नु छ’, विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले भने, ‘धर्म होइन, शिक्षाका माध्यमद्वारा बुद्ध दर्शन बुझेको जनशक्ति उत्पादन गर्ने योजनामा छौं ।’

बौद्ध दर्शन, साहित्य, संस्कृतिको खोज, अध्ययन, अनुसन्धान र विस्तार गर्नु विश्वविद्यालयको मुख्य उद्देश्य रहेको रजिष्ट्रार आचार्यले बताए । त्यसमा थेरवाद, महायान, बज्रयान, बौद्ध इतिहास, बौद्ध कला र पुरातात्विक, हिमाली बुद्ध दर्शन, बुद्ध दर्शन र आयुर्वेद, बुद्ध दर्शन र पर्यटन लगायतका विभाग राखेर विश्वविद्यालयले प्राज्ञिक गुरुयोजना बनाएको छ ।

शिक्षणका अतिरिक्त मनोशान्तिका लागि विपश्यना, सामाजिक काम, जनचेनतामूलक सेवा र शारीरिक अभ्यासलाई पनि जोड दिइएको छ । बुद्ध दर्शनमा धर्म र कर्मकाण्डका विषय धेरै छन् । यी विषय पढेर मात्रै विद्यार्थी रोजगार बन्न सक्दैनन् । विद्यार्थीलाई अन्य ठाउँमा बिक्ने बनाउन पनि विश्वविद्यालयमा चलेका, विद्यार्थीले रुचाएका र वर्तमान अवस्थामा आवश्यक ठानिएका विषय सञ्चालन गर्ने योजना बनाएको विश्वविद्यालयका डिन डा.माणिकरत्न शाक्यले बताए।

यसअघि विश्वविद्यालयले कस्तो शिक्षा सञ्चालन गर्नुपर्छ भन्नेबारे विभिन्न जिल्लामा अन्तर्क्रिया चलाएको थियो । त्यसमा बुद्ध शिक्षालाई धर्म भन्दा माथि उठेर दर्शनका रूपमा बुझ्न बुझाउन, बुद्धकालीन समय र सन्दर्भका विषयलाई वर्तमान अवस्थासँग दाँजेर अभ्यास गराउन सक्ने गरी पाठ्यक्रम निर्माण गर्न सुझाव आएको थियो ।

यही सुझावलाई लिएर बौद्ध दर्शनलाई मूल विषय बनाएर अन्य विषयमा पनि कक्षा चलाउने योजना बनाएको शाक्यले बताए ।

‘बुद्ध दर्शन विशाल छ । यसमा विज्ञान, आयुर्वेद, अर्थशास्त्र व्यवस्थापन सबै छ’, उनले भने, ‘त्यसैलाई समेट्न लागेका हौं ।’ लुम्बिनी बौद्ध विश्वविद्यालयले शैक्षिक र भौतिक व्यवस्थापन सुधार अभियान पनि सँगसँगै थालेको छ । सरकारी अपनत्व र बौद्ध देशसँगको समन्वय अभावमा लक्ष्य अनुसार अघि बढ्न नसकेको विश्वविद्यालयलाई सरकारले आवश्यक जग्गा उपलब्ध गराउने र ऐनमा भएका व्यवधान फुकाउन सहयोग गर्ने भएको छ ।

रकम अभाव हुन नदिन लुम्बिनी विकास कोषको कुल आम्दानीको पाँच प्रतिशत रकम उपलब्ध गराउने निर्णय सरकारले गरिसकेको छ । अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र, प्रशासनिक भवन, विद्यार्थी आवास, शिक्षक कर्मचारी आवास लगायत सात वटा भवन निर्माण हुने भएका छन् ।

अनुसन्धान केन्द्रको केही दिन अघि मात्रै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरेका थिए। पुस्तकालय र ध्यान केन्द्र निर्माणको चरणमा छन् । ‘भौतिक व्यवस्थापनमा विश्वविद्यालय अब्बल बन्दैछ’, रजिष्ट्रार आचार्यले भने, ‘शैक्षिक व्यवस्थापनलाई समेत नमुना बनाउन दर्जन भन्दा बढी योजना अघि बढाएका छौं ।’

विश्वविद्यालयले २०६७ सालमा काठमाडौंमा विद्यावारिधि र २०७० देखि केन्द्रीय क्याम्पस लुम्बिनीमा थेरवाद, महायान, बज्रयान र एप्लाइड विषयमा बौद्ध दर्शन पढाउन थालेको हो ।

गत वर्षबाट तिलोत्तमामा स्नातक तहको बौद्ध दर्शन र यात्रा पढाउन थालेको छ । केन्द्रीय क्याम्पसमा प्रमाणपत्र तहमा भाषाका कक्षा सञ्चालन भएका छन् । विश्वविद्यालयबाट ९ वटा क्याम्पसले सम्बन्धन लिएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .