समाज


बागलुङका रेष्टुराँ र शो-रूममा निःशुल्क शौचालय

बागलुङका रेष्टुराँ र शो-रूममा निःशुल्क शौचालय

नेपालखबर
जेठ २९, २०७९ आइतबार ५:२६, काठमाडौँ

बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या बढेपछि बागलुङका रेष्टुराँ र शो–रूमका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन थालिएको छ।

होन्डा नेपालको शो–रूमले सर्वसाधारणका लागि निःशुल्क शौचालय सेवा सुरू गरेको केहीदिनमै सदरमुकामस्थित वर्ल्ड हाउस क्याफे एन्ड लाउन्जले शुक्रबारदेखि निःशुल्क शौचालय उपलब्ध गराएको हो। 

क्याफेको अघि सडक छेउ निःशुल्क शौचालय सेवा लेखेर सङ्केत पाटी सेवा सुरू गरिएको क्याफे व्यवस्थापनले जनाएको छ।

क्याफेका सञ्चालक सञ्जय खड्काले बजारमा हिँड्डुल गर्ने जो कोहीले पनि क्याफेमा रहेको शौचालय प्रयोग गर्न सक्ने बताए।

‘हुन त पहिले पनि बाहिरी मान्छे आउँदा शौचालयमा त्यस्तो रोकतोक थिएन, अहिले सबैलाई सहज होस् भनेर बोर्ड नै राखेर जानकारी दिएका हौं’, उनले भने, ‘हामीले सुरू गरिसकेपछि बजारका अरू पनि प्रेरित होलान् कि भन्ने लागेको छ।’

सञ्चालक खड्काले बजारमा ओहोरदोहोर गर्ने सर्वसाधारणले सार्वजनिक शौचालय नहुँदा समस्या झेलिरहेकाले आफू निःशुल्क शौचालय सेवा दिने सोचमा पुगेको उल्लेख गरे।

उनले सदरमुकाममा एउटा पनि सार्वजनिक शौचालय नहुनु दुःखद रहेको टिप्पणी गरे। होन्डाको शो–रूम सञ्चालन गरिरहेको यादव ब्रदर्सले बागलुङ नगरपालिका–२ पुरानो बसर्पाकमा यसअघि नै सार्वजनिक शौचालय सेवा सुरू गरिसकेको थियो।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन शाहले होटल, रेष्टुराँलगायत व्यावसायिकस्थलका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने घोषणा गरेसँगै होन्डा नेपालले देशभरका शो–रूमहरूमा निःशुल्क शौचालय सेवा दिने घोषणा गरेको थियो।

कम्पनीले ‘परिवर्तन सुरू हुन्छ हामीबाट’ भन्दै निःशुल्क शौचालय सेवा सुरू गरेको हो। यहाँको यादव ब्रदर्सले भने ‘जिम्मेवार नेपाली म’ भन्ने आदर्श वाक्यसहित आफ्नो शो–रुमको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको छ।

बिस्तारै निजी क्षेत्रका अरू व्यावसायिक सङ्घसंस्थाले पनि सार्वजनिक शौचालयको अवधारणमा सघाउने विश्वास लिइएको छ । बढ्दो आवादी र तीव्र बजारीकरणका बीच यहाँ सार्वजनिक शौचालयको अभाव खड्किएको छ। 

बागलुङ नगरपालिकाले सदरमुकामको समीक्षालयरोडमा केही वर्षअघि बनाएको सार्वजनिक शौचालय प्रयोगमा नआई जीर्ण बनेको छ । सार्वजनिक शौचालय नहुँदा सबैभन्दा बढी गाउँबाट झर्ने सर्वसाधारणलाई सास्ती छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad