ad ad

समाज


जून महिनाभित्र नेपाली विद्यार्थी चीन फर्किन पाउने, पहिलो चरणमा ३ सय जाने

जून महिनाभित्र नेपाली विद्यार्थी चीन फर्किन पाउने, पहिलो चरणमा ३ सय जाने

सन्तोष घिमिरे
जेठ १७, २०७९ मंगलबार ५:३१, काठमाडौँ

चीनले जून महिनाभित्र नेपाली विद्यार्थी फर्काउने भएको छ। पहिलो चरणमा करिब तीन सय विद्यार्थी चीन फर्काउने तयारी छ। 

परराष्ट्र मन्त्रालयका एक अधिकारीले पहिलो चरणमा २६५ विद्यार्थी चार्टर्ड विमानमा चीन लैजाने तयारी भएको जानकारी दिए। 

‘जून महिनाभित्र नेपाली विद्यार्थी लैजाने सहमति बनेको छ। त्यसैअनुसार चीनले तयारी गरेको बुझेका छौँ,’ उनले भने। 

चीनले चरण-चरणमा गरी नेपाली विद्यार्थीलाई लैजाने तयारी गरेको छ। पहिलो चरणमा चीन जाने विद्यार्थीले सेप्टेम्बर महिनादेखि आफ्नो अध्ययन भौतिक उपस्थितिमा सुरु गर्न पाउनेछन्। 

हालै सम्पन्न नेपाल-चीन परराष्ट्र सचिवस्तरीय कूटनीतिक परामर्श बैठकमा चिनियाँ पक्षले जून महिनाभित्र चीनमा अध्ययनका लागि जान नपाएका विद्यार्थी फर्काउने प्रतिबद्धता जनाएको थियो। सरकारले चीनमा अध्ययनका लागि फर्किन कुरिरहेका ७५० जना नेपाली विद्यार्थीको नाम चीन सरकारलाई पठाइसकेको छ। 

शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालयमा फर्किन चाहेका विद्यार्थीको सूची अप्रिल तेश्रो साता चीन सरकारलाई पठाएको थियो। 

त्यसअघि चीनले तत्काल चीनमा अध्ययनका लागि फर्किन चाहेका विद्यार्थीको सूची सरकारसँग मागेको थियो। 

अन्य मुलुकका विद्यार्थी पनि कोरोनाका कारण नेपालमा रोकिएका छन्। ती विद्यार्थीलाई पनि फर्काउने प्रयास भइरहेको शिक्षा मन्त्रालयका सचिव यादव कोइरालाले बताए। 

‘तर अन्य मुलुकमा भन्दा चीन जान नपाउने विद्यार्थीको संख्या ठूलो छ,’ सचिव कोइरालाले भने। 

शिक्षा मन्त्रालयले गत चैत अन्तिम साता एक सूचना निकालेर चीन लगायत देशका उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थी कोरोना महामारीका बेला नेपाल फर्किआएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीलाई निवेदनसहित आफ्नो विवरण पठाउन भनेको थियो। 

वैशाख पहिलो साता सञ्चारकर्मीसँगको कुराकानीमा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाली विद्यार्थीलाई व्यवस्थित रुपमा चाँडै चीन फर्काउनबारे चीन र नेपालका परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको प्रतिक्रिया दिएकी थिइन्। उनले चीनका विश्वविद्यालय नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको बताएकी थिइन्।

‘उनीहरुलाई अनलाइन माध्यमबाट पढाइरहेका छन्। साथै मनोवैज्ञानिक परामर्श पनि दिइरहेका छन्,’ उनले भनेकी थिइन्। 

चीनमा अध्ययरत करिब दुई हजार नेपाली विद्यार्थी कोरोना महामारीका कारण बीचमै पढाइ छाडेर नेपाल आउन बाध्य भएका थिए। कोरोना संक्रमण दरमा कमी आएसँगै फर्किन उनीहरुले सरकारी निकायमा हारगुहार गर्दै आएका छन्। नेपालले त्यसखालको मर्कामा परेका विद्यार्थीलाई चीन फर्काइदिन कूटनीतिक च्यानलबाट पटक-पटक आग्रह गरिसकेको छ। 

चैत दोस्रो साता नेपाल भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीलाई परराष्ट्रमन्त्री नारायण खड्काले पनि नेपाली विद्यार्थीको चीन फिर्तीको लागि आग्रह गरेका थिए। त्यस क्रममा वाङले नेपाली विद्यार्थी चाँडै चीन फर्काउने आश्वासन दिएका थिए। उनले प्राथमिकताका आधारमा नेपाली विद्यार्थीलाई चीन फर्काउने बताएका थिए।

चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी कोरोनाको पहिलो लहर सुरु भएसँगै अध्ययन अपुरै छाडेर स्वदेश फर्किन बाध्य भएका थिए। दुई वर्ष बिते पनि उनीहरुको चीन फिर्तीबारे कुनै टुंगो लाग्न सकेको थिएन। 

चीन फर्किने वातावरण बन्न नसकेपछि नेपाली विद्यार्थी निराश थिए भने नेपाल सरकार पनि उनीहरुको गुनासो सम्बोधन गर्न नसक्दा दबाबमा परेको थियो। दक्षिण कोरिया लगायत मुलुकबाट विद्यार्थी फिर्ता लिए पनि नेपालबाट विद्यार्थी फिर्ता नलगेपछि चीनको समेत आलोचना भएको थियो। 

चिनियाँ अधिकारीले एकैचोटि विदेशबाट लाखौँ विद्यार्थीलाई फर्काउँदा कोरोना संक्रमण दर बढ्न सक्नेप्रति आफूहरु चिन्तित रहेको बताउँदै आएका थिए। चीनले दक्षिण कोरिया तथा युरोपका केही मुलुकबाट विद्यार्थीलाई केही महिनाअघि नै फर्काएको थियो। 

विशेषगरी चिकित्सा शिक्षाअन्तर्गत एमडी, एमएस, एमडीएस र एमबीबीएससहित विभिन्न संकायका पीएचडी, एमबीए र इन्जिनियरिङका नेपाली विद्यार्थीहरू चीनमा कोरोना संक्रमण बढेपछि सन् २०२० को सुरुमै स्वदेश फर्किका थिए। 

कोरोना महामारीका बीच चीनको वुहानबाट नेपाली विद्यार्थीलाई सरकारले आफ्नै खर्चमा समेत उद्धार गरेर स्वदेश फर्काएको थियो। 

चीनले अध्ययन भिसामा आफ्नो मुलुक प्रवेश बन्द गरे पनि दक्षिण कोरिया र युरोपका कतिपय मुलुकका विद्यार्थी ग्रिन च्यानल र फास्ट ट्रयाक भनिने विशेष व्यवस्थाबाट चीन गइरहेको बताइएको छ। 

चीन फर्किन नपाएका नेपाली विद्यार्थीले चाहिँ नेपाल सरकारले कूटनीतिक पहलकदमी राम्रोसँग गर्न नसकेका कारण आफूहरु समस्यामा परेको बताउने गरेका छन्। 

नेपाल फर्किएपछि केही विद्यार्थीले अनलाइन कक्षा लिएको भए पनि प्रयोगात्मक परीक्षामा सहभागी हुन विश्वविद्यालय नै जानुपर्ने बाध्यता छ। 

केही महिनाअघि एसोसिएसन अफ नेप्लिज स्टुडेन्ट इन चाइनाले नेपालको स्वास्थ्य मन्त्रालयलाई एक ज्ञापनपत्र बुझाएको थियो। 

‘चिकित्साशास्त्र प्रयोगात्मक शिक्षा भएको हुनाले नेपालमा बसेर अनलाइन कक्षा लिएर हाम्रो चिकित्सा शास्त्रको डिग्रीलाई नेपाल मेडिकल काउन्सिलले मान्यता दिँदैन,’ ज्ञापनपत्रमा भनिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .