समाज


६६ वर्षकाे उमेरमा वकिल बन्ने शान्ति चौधरीकाे कसरत

६६ वर्षकाे उमेरमा वकिल बन्ने शान्ति चौधरीकाे कसरत

मीना खड्का
जेठ १८ , काठमाडौँ

शान्ति चौधरीको दिन आजभोलि पुस्तकालयमा बित्छ। सबेरै साढे चार बजे उठ्ने, साढे ६ बजे कलेज हिँड्ने, कक्षा सकिएपछि पुस्तकालयमा किताब खोजेर पढ्ने। 

‘बढी पढ्ने प्रयास गर्छु। प्रायः मार्टिन चौतारी र कानुन पुस्तकालयतिरै हुन्छु,’ उनी भन्छिन्। 

६६ वर्षको उमेरमा वकिल बन्ने प्रयासमा रहेकी शान्ति राजधानीमै जन्मेकी थिइन्। पढेलेखेका उनका बुबा जागिरे थिए। कक्षा १० सम्म उनले कन्या स्कुलमा पढिन्। तर, त्यहीबेला उनको विवाह भयो।

स्नातकसम्म पढेका बाराका केटासँग उनको विवाह भएको थियो। बिहेपछि मात्रै शान्तिलाई थाहा भयो, उनका पतिको पहिले पनि बिहे भइसकेको रहेछ। 

‘मेरै श्रीमान विवाहित रहेछन्। श्रीमती हुँदाहुँदै मलाइ झुक्याएर बिहे गरेका थिए,’ उनी भन्छिन्, ‘१६ वर्षकी मलाई २७ वर्षकासँग बिहे गरिदिए।’

बिहेपछि पतिसँगै जनकपुर गइन्, जहाँ उनी जागिर गर्थे। केही समयपछि उनका पतिको जागिर छुट्यो। फर्केर उनीहरु बारास्थित गाउँ गए। 

विवाह भएको २ वर्षपछि एसएलसी दिइन्। 

‘आर्थिक स्थिति नाजुक, बेरोजगार श्रीमान्। पढाइलाई निरन्तरता दिन सकिएन,’ उनी भन्छिन्। 

गाउँको जिन्दगी एकदम अलग थियो।

गाउँमा गरिबमाथि धनीको शासन चल्थ्यो। गरिब, थारु र दलितमाथि ठूलो अत्याचार गरेका थिए साहुहरुले। खेतबारी नभएकोले खानको लागि ऋण लिनुपर्थ्यो। त्यो ऋण तिरिनसक्दै गरिबको जिन्दगी बितिजान्थ्यो।

‘धनीले गरिबलाई धेरै ब्याज मागेर ऋण दिन्थे। तिर्न नसके दास बनाउँथे। राम्री छोरी मान्छे हिँडेका देख्न सक्दैनथे,’ शान्तिले सुनाइन्, ‘छोरीहरुलाई गर्भवती बनाइदिन्थे। केही दिनमा नै गर्भ देखिन्थ्यो। त्यसपछि कति छोरीले मेरैै आँखाअघि नदीमा हाम फालेर आत्महत्या गरे।’ 

उनको मनमा बारम्बार प्रश्न उठ्थ्यो, ‘किन यस्तो अन्याय सहनुपरेको होला?’

तर, उनी उत्तर फेला पार्न सक्दिनथिन्।

श्रीमान् निकै रक्सी खान्थे। घरमा कतिबेला आउने टुंगो हुँदैनथ्यो। 

‘यस्तो जँड्याहासँग किन मेरो विवाह गरिदिएको होला?’ उनी सोच्थिन्। 

अत्याचार सहने बानी उनलाई थिएन। लागेको कुरा बोलिहाल्थिन्। गाउँलेहरुमाथिको अन्यायको पनि उनले विरोध गर्न थालिन्। 

एकदिन उनले आँट गरेर सीडीओकहाँ उजुरी गरिन्। उनको विरोध गाउँका साहुमहाजनलाई सह्य थिएन।

‘मान्छेले बुहारी भएर पनि किन यस्तो गरेकी घुम्टोभित्र बस्ने मान्छे भन्थे। बुहारीले गर्न नहुने काम थियो,’ उनी भन्छिन्। 

कम्युनिस्टको आरोप
पञ्चहरुको शासन। राज्यले सर्वसाधारणको कुरा किन पत्याउँथ्यो! साहुमहाजनको विरोध गर्न थालेपछि उनीमाथि कम्युनिस्टको आरोप लाग्यो।

‘कम्युनिस्ट भनेको के हो मलाई थाहा थिएन,’ उनी भन्छिन्, ‘मैले त खाना नपाएको र गरिब र निमुखामाथि अत्याचार भएको भनेर निवेदन लेखेकी थिएँ।’ 

गाउँमा उनलाई साथ दिने कोही थिएन। उनीविरुद्ध पक्राउ पुर्जी जारी भयो। 

‘०३७ सालतिर मलाई २४ घण्टाको पुर्जी लगाइयो,’ उनी भन्छिन्, ‘त्यसपछि मलाई साथ दिने कोही भएन अनि म भागेर काठमाडौँ आएँ।’ 

उनका दाजुभाइ नक्सालमा बसेका थिए। बालबच्चा, पति छाडेर भागेकी उनी त्यहीँ बस्न थालिन्। तर, बिहे गरेर गइसकेकी छोरीलाई सधैँ माइतीमा राख्न उनीहरु तयार थिएनन्।

उसो त त्यसयता उनले जिन्दगीमा कहिल्यै भरपर्दो सहारा पाइनन्। कहिले कहाँ, कहिले कहाँ काम गर्दै जिन्दगी अघि बढाइन्। अहिले पनि उनी एउटा संस्थाको सहयोगमा होस्टेलमा बसेकी छन्।

उनको साथमा कोही छैन। पढ्ने, समाज बुझ्ने अनि सत्य र अन्यायमा परेकाका पक्षमा वकालत गर्ने उनको सपना छ।

केही समय उनले बालबच्चा हेरचाह गर्ने काम गरिन्।

‘आफ्नो बच्चा सँगै राख्न नपाएर पोलेको मन ती बच्चा हेर्दा रमाउन थाल्यो। त्यसबाट मैले केही पारिश्रमिक पनि पाएँ,’ उनले भनिन्।

यो अनुभवले उनलाई एउटा संस्था खोल्ने प्रेरणा मिल्यो। २०४५ सालमा उनले सिर्जना विकास केन्द्र स्थापना गरिन्। फर्ममा काम गर्दा भेटिएका पीडित महिलाहरूलाई सम्पर्क गरेर भेला पारिन्, अनि संस्था स्थापना गरिन्। दर्ता गर्न भने सकिनन्।

बहुदल आएपछि सय रुपैयाँ तिरेर संस्था दर्ता गरिन्।

त्यो संस्थाबाट चेलिबेटी बेचबिखनविरुद्ध अभियान चलाउने, हिंसामा परेका महिलालाई कानुनी परामर्श दिने, महिला साक्षरता, हस्तकलाजस्ता कार्यक्रम लिएर उनी धेरै ठाउँ पुगिन्। 

न्यायसम्बन्धी काम गरिरहँदा र आफैँ अन्यायमा परिरहँदा विभिन्न समयमा आफूमाथि भएको अन्याय र न्याय पाउन नसकेको पीडाले उनलाई खाइरह्यो। 

कानुन नजान्दा सबथोक गुमाएको महसुस गरिन्। 

‘मलाई जसरी पनि कानुन जान्नु थियो, मैले सर्वज्ञरत्न तुलाधरको ल फर्ममा काम गरेँ,’ उनले भनिन्, ‘थुप्रै अदालती काम सिकेँ। जीवनमा केही गर्न सकिन्छ भन्ने आडभरोसा पाएँ। त्यतिखेर पढ्न भने पाइनँ।’

संस्था चलाउँदा प्रशासनले बारम्बार दुःख दिएपछि उनले संस्थाको काम छाडी लेखेर जीविका गर्न थालिन्। 

पढाइ र क्यान्सर
सारा जिन्दगी एक्लै लडेकी उनी कहिल्यै विचलित भइनन्। उनले गरिबी, अभाव, पीडाका कुरा लेखिन्। तर, किताब बिकेनन्।

‘सुरूमा महिलाका विषयमा कलम चलाएँ,’ उनले भनिन्, ‘कसैले सहयोग गरेनन्। जब राजनीतिक नेताका बारेमा लेख्न थालेँ, पैसाको खाँचो भएन।’

आफूले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापालगायतबारे लेखेको उनको भनाइ छ।

अर्कोतिर उनको पढ्ने उत्साह मरेको थिएन। पद्यकन्यामा कक्षा ११ मा मेजर नेपाली लिएर भर्ना भइन् र पढाइ अघि बढाइन्।

एकदिन उनले आफ्नो छोरा पनि भेटिन्। कक्षा ११ मा पढ्न भनेर छोराले केही पैसा दिए। 

‘पैसा त ठूलो कुरा थिएन। त्यसले दिएको ऊर्जा भने गजब थियो,’ उनी भन्छिन्। 

११ कक्षामा परीक्षा चल्यो। परीक्षा हलमै उनी बिरामी परिन्। प्रहरीको भ्यानमा राखेर उनलाई अस्पताल लैजान थालियो। होस् नगुमाउँदै उनले भन्न भ्याइन्, ‘मलाई प्राइभेट अस्पतालमा नलग्नुहोला। मसँग पैसा छैन। वीर अस्पताल लैजानुहोला।’

अस्पतालमा जाँचपछि थाहा भयो, उनलाई पाठेघरको क्यान्सर भएको थियो। अप्रेसनपछि किमोथेरापीका लागि पैसा थिएन। 

डाक्टरहरु भन्थे, ‘पढाइको चिन्ता नलिनू।’ तर, उनी पढाइलाई निरन्तरता दिन चाहन्थिन्।

क्यान्सरसँग जुध्दै उनले १२ उत्तीर्ण गरिन्।

२०७३ मा चौधरी नेकपा (एमाले) मा प्रवेश गरिन्। 

वकिल बन्ने सपनाको नजिक
१२ कक्षा पास गरेपछि वकिल बन्ने ढोका खुल्यो।

बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजमा उनी अहिले एलएलबी चौथो वर्षमा पढ्दै छिन्। एक वर्षमा उनको पढाइ पुरा हुँदैछ। 

क्याम्पस प्रमुख लक्ष्मण उपाध्यायले २० हजार रुपैयाँ सहयोग गरेपछि एलएलबीको अध्ययन सम्भव भएको थियो।

स्वास्थ्यले साथ दिएसम्म अब मास्टर्स र पिएचडी गर्ने योजना रहेको उनी बताउँछिन्। 

कलेजका विद्यार्थीले पनि उनलाई खुब माया गर्छन्।

‘सुरूमा क्याम्पस जाँदा यो उमेरमा किन पढ्न आएको भन्नेहरू थिए, तर अहिले राम्रो ग¥यौ भन्नेहरुको जमात छ,’ शान्ति भन्छिन्।

राज्यले भने आफूलाई नहेरेको उनको गुनासो छ।

‘मैले सबथोक गुमाएँ, तर राज्यबाट उचित स्थान पाइनँ,’ उनी भन्छिन्।

जेठ १८, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad