ad ad

समाज


जहाज बेपत्ता भएको स्थानसम्म पुग्न नसकेपछि फर्कियो हेलिकप्टर

जहाज बेपत्ता भएको स्थानसम्म पुग्न नसकेपछि फर्कियो हेलिकप्टर

फिस्टेल एयरको हेलिकप्टर (नेपाल हेलिकप्टर सर्भिस) ।


नेपालखबर
जेठ १५, २०७९ आइतबार १२:४९, काठमाडौँ

जहाज बेपत्ता भएको स्थानसम्म पुग्न नसकेपछि फिस्टेल एयरको हेलिकप्टर मुस्ताङ नै फर्किएको छ। 

केही बेरअघि विमान दुर्घटना भएको आशंका गरिएको धौलागिरि आसपासको क्षेत्रमा हेलिकप्टर पुगे पनि मौसम खराबका कारण आशंका गरिएको क्षेत्रमा पुग्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए। 

‘अहिलेसम्म दुर्घटना शंका गरिएको क्षेत्रमा हेलिकप्टर पुग्नसकेको छैन। तत्काल हिँडेर पुग्नसकिने अवस्था पनि छैन। बाहिर आएका कुरा हल्ला मात्रै हुन् अहिलेसम्म केही खबर आधिकारिक आएको छैन’, शर्माले नेपालखबरसँग भने। 

कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा दुईवटा हेलिकप्टर परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टर पनि त्यसक्षेत्रमा पुगिसकेको छैन। 

पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो। लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको गृह मन्त्रालयले जानकारी दिएको छ। 

अहिले धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरुलाई त्यस क्षेत्रमा केन्द्रित रहन र अलर्टमा रहन निर्देशन दिइएको छ। 

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक गरी १९ जना सवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .