ad ad

समाज


कर्णालीमा बढ्दो महिला हिंसा

कर्णालीमा बढ्दो महिला हिंसा

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ११:१३,

दुई वर्षअघि लेकबेँसी–७ सुर्खेतकी १७ वर्षीया एक किशोरीले अन्तरजातीय बिहे गरिन्। बिहे गरेको चार महिनासम्म दुवैको सम्बन्ध राम्रो थियो।

एकअर्काबीच गहिरो माया थियो तर, यो माया लामो समयसम्म टिक्न सकेन। विवाह भएको पाँचौँ महिनाबाट उनीहरुबीचको माया यातनामा परिणत भयो। पतिले किशोरीलाई खर्च बन्द गराइदिनुको साथै राति अबेर घरमा आएर कुट्न थाले। पतिको कुटाइ सहन नसकेपछि ती किशोरी बाध्य भएर न्यायका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी छन्।

‘शुरुमा आफूलाई पतिले पिट्दा ठिकै छ, पछि सुध्रेलान् अहिले नै बाहिर भनेर किन आफ्नै बेइज्जत गर्नु भन्ने लाग्यो।’ न्यायका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पुगेकी उनले भनिन्, ‘दुई वर्षसम्म हरेक दिनको कुटाइ नहट्ने भएपछि अलग हुने निधो गरेँ।’

कनकासुन्दरी गाउँपालिका–६ लुड्कु जुम्लाकी झनमाया रोकायालाई उनका पतिले छोरा नजन्माएको भन्दै कुट्न थाले। छ छोरीमात्रै जन्माएको भन्दै उनका पति गङ्गाराम रोकायाले घरबाट निकाले। हरेक पटक सुत्केरी हुँदा छोराको आस गरेका परिवारको अपेक्षाअनुसार छोरा नजन्मेपछि परिवारको दबाबमा झनमाया घरबाट निकालिनुप¥यो। आफैँ भागेर विवाह गरेकी सोरु गाउँपालिका–५ की अर्की २४ वर्षीया किशोरी महिलाले पतिको कुटाइ खाएको निन्तर छ वर्ष भयो। पतिको यातना सहन नसकेर उनले मङ्सिर २ गते स्थानीय प्रहरी चौकीमा उजुरी गरेकी छन्।

यी त कर्णालीका प्रतिनिधि पात्र मात्र हुन्। महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि सचेतना कार्यक्रम र कडा कानून ल्याइए पनि कर्णाली प्रदेशमा यस्ता घटना वर्षेनी बढ्दै गएका छन्।

बहुविवाह, दाइजो, यौन दुराचार, बालविवाह, सामाजिक अवहेलना, शारीरिक कुटपिट, सासु बुहारीको झगडाजस्ता कारणले महिलामाथि हिंसाका घटना हुने गरेको महिला अधिकारकर्मी पवित्रा शाहीले बताइन्। महिलाको चेतनास्तर उकास्ने, शिक्षा र रोजगारीका अवसर दिने काम गरेर आत्मनिर्भर नभएसम्म महिलामाथिका हिंसाको कमी आउन नसक्ने उनको तर्क छ। तर, पछिल्लो समय बढ्दै गएका महिलामाथि हुने लैङ्गिक हिंसाका घटना बढ्नुभन्दा घटना सार्वजनिक हुने दर बढेको छ। ‘लैङ्गिक हिंसाका घटनाको संख्यामा केही सुधार भएको देखिन्छ।’

सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख विश्वमणि जोशीले भने, ‘सञ्चारमाध्यमको पहुँच गाउँ–गाउँमा पुग्नु र स्वयं महिलामा चेतनाको विकास हुनुले महिलामाथि हुने हिंसाका घटनाको बाहिर आउनेक्रम बढी देखिएको हो।’ सामाजिक सञ्जालको बढ्दो प्रयोगले लैङ्गिक हिंसाको प्रकृति भने पछिल्लो समय निकै परिवर्तन भएको निष्कर्ष जोशीको छ।

हिंसा नरोकिएपछि न्यायका लागि प्रहरी कार्यालय पुग्ने महिलाको सङ्ख्या पनि बढ्दो क्रममा छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनयता प्रदेशका १० वटै जिल्लामा घरेलु हिंसासम्बन्धीका २१७ मुद्दा दर्ता भएका छन्। जसमध्ये १६३ मुद्दा मिलापत्र गरिएको छ भने बाँकी माथिल्लो निकायमा पठाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।

आर्थिक वर्ष २०७३/७४ मा गाउँमा नमिलेका ७९६ लैङ्गिक हिंसाका घटना प्रहरीमा दर्ता भएको बताए। तिम्सिनाले २०७५/७६ मा उक्त मुद्दाको संख्या बढेर ८५८ पुग्नुले पनि महिलामाथि हुने हिंसामा कमी नआएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .