ad ad

समाज


विद्यार्थीमा चुनावको असर : विद्यालय तीन दिन, कलेज २३ दिन बिदा

विद्यार्थीमा चुनावको असर : विद्यालय तीन दिन, कलेज २३ दिन बिदा

मीना खड्का
बैशाख २८, २०७९ बुधबार ८:९, काठमाडौँ

वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि तीन दिन विद्यालय विदा गरिने भएको छ। त्यस्तै त्रिभुवन विद्यालय अन्तरगतका कलेजको बर्खे बिदा लम्ब्याएर २३ दिन बनाइएको छ ।

मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकाले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आग्रह गरेको छ।

मन्त्रालयको आग्रहअनुसार देशभरका मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुने भएका हुन्।

विद्यालय बन्द रहेको तीन दिनको अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्रबमोजिम आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न विद्यालय बन्द गर्न निर्देशन दिइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुने भएको हो। यस्तै ३१ गते शनिबार, जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयले र जेठ २ गते बुद्धजयन्ती परेकाले ३ गते मात्र विद्यालय खुल्ने देखिन्छ।

उसो त सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल कायमै देखिन्छ।

विद्यार्थीको सिकाइमा असर पर्ने भन्दै निजी शिक्षालय सञ्चालकहरुले सातामा दुई दिन बिदा नहुने तर्क गरिरहेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पालना गराउनु आफूहरूको कर्तव्य भएको जनाएको छ। तर, निष्कर्ष भने आइसकेको अवस्था छैन। यद्यपि दुई दिन बिदा पनि दिने र पाठ्यक्रमले तोकेअनुसारको पाठ्यभार पनि पूरा हुने गरी अध्यापनको खाका तर्जुमा गर्ने छलफलमा जुटेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन्। प्रवक्ता शर्माका अनुसार या विषयमा १/२ दिनभित्रैमा ठोस निर्णय गरिने छ।

यता त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ। त्रिवि कार्यकारी परिषद्ले वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म बर्खे बिदा दिने निर्णय गरेको हो।

वार्षिक क्यालेन्डरमा जेठ १५ देखि बर्खे बिदा दिने उल्लेख भए पनि चुनावलाई मध्यनजर गरेर बिदा अघि सारिएको पाइन्छ।

त्रिविद्वारा जारी सूचनामा ‘सेमेस्टर अन्त्य गरी बिदा दिने क्याम्पसहरूमा सम्बन्धित अध्यययन संस्थानको निर्णयअनुसार र अन्य क्याम्पस, विभाग, स्कुलहरूमा नियमित परीक्षा सञ्चालन रहने गरी चालु शैक्षिक सत्रको बर्खे बिदा दिने निर्णय गरिएको छ’, भनिएको छ।

त्रिविले चुनावको मौका पारेर बर्खे बिदा सारेको भन्दै शिक्षाकर्मी र सरोकारवालाहरूले भने असुन्तष्टि जनाएका छन्।

शिक्षाविद् विद्यानाथ कोइरालाले क्यालेन्डर प्रभावित हुने गरी चुनाव लक्षित बिदा दिनु नाजायज भएको बताए।

‘व्यावहारिक रूपमा शिक्षक, विद्यार्थी चुनावमा खटिएर पठनपाठन हुन नसक्ने अवस्था आयो होला’, उनले भने, ‘विश्वविद्यालयले व्यवहारभन्दा पनि आफ्नो क्यालेन्डर हेरेर निर्णय गर्नुपर्छ।’

त्रिविका उपकुलपति धर्मकान्त बास्कोटाले शिक्षक, विद्यार्थी र सरोकारवालाको आग्रह र सल्लाहमा नै बिदा सार्ने निर्णय भएको बताएका छन्। ‘विद्यार्थीहरूको उपस्थिति कम भयो, चुनावले पनि पढाइ नहुने, पछि पनि बर्खे बिदा दिनुभन्दा पठनपाठनमा क्षति नपुगोस् भनेर बिदा सारिएको हो’, उनले नेपालखबरसँग भने।

यद्यपि राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले कुनै पनि बहानामा शिक्षण संस्था बन्द गर्न नहुने तर्क गरेका छन्।

‘कानुनतः विद्यार्थीको पठनपाठनमा अवरोध पुर्याउन हुँदैन’, उनले भने, ‘यो कुरा सरकार र निर्वाचन आयोगले पनि पालना गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .