समाज


चैते छठ पर्वको आज मुख्य दिन: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

चैते छठ पर्वको आज मुख्य दिन: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शैलेन्द्र महतो
चैत २४, २०७८ बिहिबार ११:३, जनकपुरधाम

जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज बिहीबार चैते छठपर्व मनाइँदै छ। मंगलबार सुरु चैते छठ पर्वको आज तेस्रो अर्थात् मुख्य दिन हो। 

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भालि शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समाप गरिन्छ। 

कात्तिकमा मनाइने छठ पर्वमा जस्तै श्रद्धालुभक्तजन नभए पनि बिस्तारै चैते छठ मनाउनेहरूको संख्या बिस्तारै बढिरहेको छ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना गरिन्छ। खरनाका अवसरमा व्रतालु निराहार उपवास बसी साँझपख खष्ठी देवीलाई प्रसाद चढाएर मात्र खानेकुरा खान्छन्। प्रसादमा खीर ,केरा, दूध एवं विभिन्न फलफूल चढाउने चलन छ। 

पर्वको तेस्रो दिन अर्घ्य व्रतालु अस्ताउँदो सूर्यको प्रतीक्षामा हुन्छन्। त्यसका लागि सूर्य अस्ताउनु एक घण्टा अघिदेखि नै उनीहरू पोखरीमा पसेर खष्ठी माताको ध्यान गर्छन्। अर्घ्यमा मूला, उँखु, भन्टा, ठकुवा, भुसवा, केरा, नरिवललागायत सामग्री चढाउने गरिन्छ। यसपछि रातभर जाग्राम बसी भोलिपल्ट बिहान चैत्र शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई चैते छठ समापन गरिन्छ। 

जनकपुरको गंगासागर, अंर्गजा सागर, धनुष सागरसहित विभिन्न जलाशयमा छठ पर्व मनाउने तथा हेर्नेहरूको घुइँचो लाग्छ। चैते छठ पर्व गर्नाले चिताएको कुरा पुग्ने, चर्म रोग निको हुने तथा प्रसन्नता प्राप्त हुने जनविश्वास छ। 
धार्मिक आस्था, विश्वास तथा सद्भावका रूपमा मनाइने यो पर्व केही वर्ष अघिसम्म मारबाडी समुदायका केही व्यक्तिले मात्र मनाउँथे। तर बर्सेनि यो पर्व मनाउनेको संख्या बढ्दै गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .