नाबालिग गायिका बलात्कार अभियोगमा अभिनेता पल शाह पक्राउ परेको र त्यस विषयमा बाहिर भइरहेका गतिविधिप्रति राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई नै असर पर्ने गरी पक्ष र विपक्षमा अभिव्यक्ति सार्वजनिक भइरहेकाे तथा प्रतिवादीका पक्षमा प्रदर्शन भइरहेकाे भन्दै दुवै आयोगले आपत्ति जनाएका हुन्।
मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ। अधिकार प्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुने सम्भावना रहन्छ।’
त्यस्ता गतिविधि आफूले अध्ययन गरिरहेको भन्दै त्यसो नगर्न आयोगले सम्बन्धित पक्षलाई सचेत गराएको छ।
यस्तै महिला आयोगले भनेको छ, ‘एक नाबालिकाले आफूमाथि भएको अपराधको उजुर गरी जिम्मेवार निकायबाट अनुसन्धान भइरहेको अवस्थामा विभिन्न माध्यमबाट न्यायिक प्रक्रियालाई असर पार्ने तथा पीडितमाथि मानसिक हिंसा र दबाब सिर्जना गर्ने कार्य भएकाले सो कार्यहरू कानुनविपरीत भएको हुँदा यस घटनाबारे तदारुकताका साथ सत्यतथ्य छानबिन गरी त्यस्तो कार्य हुन नदिन र पीडितलाई न्याय दिलाउन राष्ट्रिय महिला आयोग सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँछ।’
हेर्नुहाेस् दुवै विज्ञप्ति :


Shares

प्रतिक्रिया