ad ad

समाज


थपिएका नयाँ पदमा २० हजार प्रहरी बढुवा हुँदै, यस्तो छ व्यवस्था

थपिएका नयाँ पदमा २० हजार प्रहरी बढुवा हुँदै, यस्तो छ व्यवस्था

उजिर कार्की
माघ ९, २०७८ आइतबार २१:२६, काठमाडौँ

हालसालै थपिएका नयाँ पदमा नेपाल प्रहरीका २० हजार बढी जनशक्ति बढुवा हुने भएका छन्। नेपाल प्रहरीले नियमावली संशोधन गर्दै जवानमाथि इन्सपेक्टरसम्म तीन तह थप गरेको छ। यस्तै प्रहरी कार्यालय सहयोगीलाई पनि ५ तहमा विभाजन गरिनेछ। 

नियमावली संशोधनपछि राजपत्रमा प्रकाशित भएसँगै निर्णय कार्यान्वयन सुरु भइसकेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए। 

‘अहिले विवरण संकलन गर्ने काम भइरहेको छ। १३ गतेसम्म निर्वाचन आचारसंहिताका कारण बढुवा गर्न मिल्दैन। त्यसलगतै बढुवा गर्ने गरी प्रधान कार्यालयले तयारी गरेको छ,’ प्रवक्ता केसीले नेपालखबरसँग भने। 

संशोधित नियमावलीअनुसार १५ हजार ४ सय ६ जना जवानलाई सहायक हवल्दारमा बढुवा गरिनेछ। जवानको ३३ प्रतिशतलाई सहायक हवल्दारमा बढुवा गरिने नियमावलीमा व्यवस्था छ। नेपाल प्रहरीमा ४६ हजार २१९ जना जवानको दरबन्दी छ। 

यस्तै ३ हजार ७४७ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा हुनेछन्। हवल्दारको २५ प्रतिशत हिस्सालाई वरिष्ठ हवल्दार बनाइने भएको हो। १४ हजार ९८९ जना हवल्दार छन्। 

नियमावलीअनुसार एक हजार १४ जना प्रहरी नायब निरीक्षक (सइ) वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सइ) मा बढुवा हुने भएका छन्। प्रहरीमा सइको दरबन्दी ४ हजार २९६ जना छ। यसको २५ प्रतिशतलाई बरिष्ठ सइमा बढुवा गरिने प्रवक्ता केसीले बताए। 

नयाँ दरबन्दीमा मात्रै २० हजार बढुवा हुने भए पनि बढुवा भएपछि रिक्त हुने दरबन्दीमा उति नै संख्यामा थप बढुवा हुनेछन्। यस्तै थप गरिएका दरबन्दीबाट माथिल्लो तहमा जानका लागि यति नै वर्ष काम गरेको हुनु पर्ने भन्ने मापदण्ड नराखिने भएको छ। 

वरिष्ठ सइबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा हुनका लागि सइमा काम गरेको अवधिलाई पनि गणना गरिने भएको छ। यस्तै वरिष्ठ हवल्दार र सहायक हवल्दारमा बढुवा हुनेको पनि एक तह मुनिलाई समेत गणना गरिने भएको छ। 

‘नियमावलीमा संशोधन गरेर तल्लो दर्जालाई प्रोत्साहन गर्न खोजिएको हो। माथिल्लो तहमा बढुवा हुने बेलामा बीचमा ब्रेकर बन्यो भन्ने कतिपयलाई लागेको रहेछ। तर त्यस्तो होइन लगतै हुने माथिल्लो तहमा पनि उनीहरु नै बढुवा हुने हुन्,’ प्रवक्ता केसीले भने। 

इन्सपेक्टरमा बढुवा हुने तयारीमा रहेका सिनियर सइहरुले वरिष्ठ सइको पद थप गरेर इन्सपेक्टर हुन रोकिने हो कि भन्ने चिन्ता गरेका थिए। तर अहिले वरिष्ठ सइमा बढुवा हुनेहरु नै इन्सपेक्टर रिक्त हुँदा बढुवा हुने भएकाले उनीहरु हतोत्साही नहुने र माथिल्लो तहमा जान ढिलाइ भए पनि वरिष्ठ सइ भएर काम गर्न पाउँदा हौसला मिल्ने प्रवक्ताले केसीले प्रस्ट्याए। 

प्रहरीमा पद थप भए पनि जम्मा प्रहरीको संख्या भने नबढ्ने भएको छ। यस्तै कार्यालय सहयोगी पनि बढुवा हुने भएका छन्। त्यसका लागि पाँच तह बनाउने व्यवस्था गरिएको छ। 

पाँच तहमा यसरी बढुवा हुन्छन् कार्यालय सहयोगी
नेपाल प्रहरीमा कार्यालय सहयोगीको दरबन्दी ३ हजार ३१ छ। हाल उनीहरु सबै एउटै तहका हुन्। तर अब उनीहरुलाई पाँच तहमा वर्गीकरण गरिने भएको छ। उनीहरुलाई कार्यावधिको आधारमा कुन तहमा लैजाने भन्ने प्रष्ट व्यवस्था गरिएको छ। 

प्रहरी सेवामा भर्ती भएको ५ वर्ष पुरा भएकाहरु हाल कार्यरत तहबाट दोश्रो तहमा बढुवा हुनेछन्। १० वर्ष पुरा भएका सहयोगीलाई तेश्रो तहमा, १५ वर्ष पुरा भएकालाई चौथो तहमा र २० वर्ष बढी काम गरेकालाई पाँचौँ तहमा बढुवा गर्ने व्यवस्था छ। 

२० वर्ष बढी सेवा गरिसकेका ३०५ जना छन्। यस्तै १५ देखि २० वर्ष काम गरेका ३७३ जना छन्। उनीहरु पाँचौँ र चौथो तहमा बढुवा हुनेछन्। 

१० देखि १५ वर्षसम्म काम गरेका ६५५ जना र भर्ना भएको ५ वर्षदेखि १० वर्षसम्मका ५५६ रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा छ। उनीहरु क्रमशः तेश्रो र दोश्रो तहमा बढुवा हुनेछन्। 

९२८ जना भने ५ वर्षभित्रै भर्ना भएका हुन्। उनीहरु पहिलो तहमै रहेछन्, तत्काल बढुवा हुने छैनन्। तर उनीहरुले पनि ५ वर्ष पुरा भएपछि क्रमशः बढुवा हुनेछन्। 

सेवा सुविधा पनि हरेक तहअनुसार फरक कायम गरिएको छ। 

नेपाल प्रहरीमा जम्मा दरबन्दी ७९ हजार ५३८ जना छ। तीमध्ये प्रहरी कार्यालय सहयोगी ३ हजार ३१, प्रहरी जवान ४६ हजार २१९, हवल्दार १४ हजार ९८९, असइ  ७ हजार ७८५ र सइ ४ हजार २९६ जनाको दरबन्दी छ। 

यस्तै इन्सपेक्टर १ हजार ४८८, डीएसपी ४५३, एसपी १७०, एसएसपी ७९, डीआईजी २७ र एआईजी ६ जनाको दरबन्दी छ। 

यस्तै प्रशिक्षार्थी जवान ८३४, असई १३० र इन्सपेक्टर ३० जना छन्। हाल नेपाल प्रहरीमा थप गरिएका पद सशस्त्र प्रहरीमा भने पहिल्यैबाट कायम छन्। अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकै खालको संरचना बनेको हो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .