ad ad

समाज


बुस्टर डोजमा ढिलाइले स्वास्थ्यकर्मीको संकट चुलिँदै

बुस्टर डोजमा ढिलाइले स्वास्थ्यकर्मीको संकट चुलिँदै

फाइल फाेटाे


यज्ञराज जोशी
माघ ३, २०७८ सोमबार १६:५, काठमाडौँ

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई समयमै बुस्टर डोज लगाउन सरकारले ध्यान नदिँदा अस्पतालहरुमा स्वास्थ्यकर्मीको संकट निम्तिने अवस्था श्रृजना भएको छ। 

ओमिक्रोन भेरियन्टको संक्रामक असरबारे जानकार हुँदाहुँदै सरकारले समयमै स्वास्थ्यकर्मीलाई बुस्टर डोज लगाउने कार्यक्रम अघि नबढाएका कारण अस्पतालहरुको सेवा नै प्रभावित भएको छ।

दैनिक झण्डै ५ हजारको हाराहारीमा संक्रमित देखिएर दुई सय बढी स्वास्थ्यकर्मी संक्रमित भइसक्दा सरकारले आइतबारबाट मात्रै बुस्टर डोज लगाउन सुरु गरेको छ। 

कोभिड–१९ केन्द्रीय यूनिफाइड वीर अस्पतालमा मात्रै सोमबारसम्म २० चिकित्सक, ४२ नर्सिङ स्टाफसहित ८१ जना कर्मचारीमा कोरोनाभाइरसबाट संक्रमण देखिएको छ। ठूलो संख्यामा कर्मचारीहरु संक्रमित हुँदा सेवा प्रवाहमा ठूलो असर गरेको यूनिफाइड अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठले बताए। 

‘तेस्रो लहरको चुनौती भनेको अस्पतालहरुमा जनशक्ति व्यवस्थापन हो। हरेक अस्पतालमा अहिले नियमित सेवा र कोभिडमा उस्तै चाप छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘बुस्टर डोज अलि अगाडि लगाएको भए यो अवस्था आउँदैनथ्यो। यस्तो रुपमा स्वास्थ्यकर्मीमा पोजिटिभ आउँदा एकदमै गाह्रो भएको छ।’ 
 

स्वास्थ्यकर्मीको अभाव देखिएसँगै अस्पतालमा ग्यास्ट्रो, काडियो र मेल सर्जिकल वार्डको सेवा एउटै स्थानबाट दिइरहनुपरेको छ। 

अस्पतालमा हाल ८० जना कोरोना संक्रमितका बिरामीमध्ये १६ जना आईसीयू, ४ जना भेन्टिलेटर र १२ जना एचडीयूमा उपचाररत छन्। 

यता पाटन शिक्षण अस्पतालका निर्देशक डा.रवि शाक्यले कोरानाका कारण ५० बढी स्टाफहरु संक्रमित हुँदा जनशक्ति अभाव देखिन थालिसकेको बताए।

‘अहिले हाम्रो मुख्य कठिनाई भनेको स्टाफहरु पोजिटिभ हुनेक्रम बढ्दो हो,’ उनले भने, ‘अहिले नै कर्मचारीहरुको अभाव देखिन थालिसक्यो। यहीक्रम रह्यो भने संकट नमिम्तेला भन्न सकिन्न।’

एउटै विभागमा ६–७ जनालाई संक्रमण देखिँदा गाह्रो अवस्था श्रृजना भएको उनले बताए। ननकोभिड ठाउँबाट कर्मचारी तानतुन पारेर काम चलाइरहनुपरेको उनले बताए। 

त्रिवि शिक्षण अस्पतालमा आइतबारसम्म स्वास्थ्यकर्मीसहित १५० जनामा कोरोना संक्रमण देखिएको  छाती रोग विशेषज्ञ डा.निरज बमले बताए। स्वास्थ्यकर्मीहरु संक्रमित भएकाले शनिबार मेडिकल आईसीयू नै बन्द गर्नुपर्ने अवस्था श्रृजना भएको थियो। 

स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा प्रत्येक दिन स्वास्थ्यकर्मीमा संक्रमण देखिनेक्रम बढ्दो छ। जनवरी १० मा मन्त्रालयको सिस्टममा २४ जना स्वास्थ्यकर्मीहरु पोजिटिभ आएको विवरण प्रविष्ठ भएको थियो। त्यसयता आइतबारसम्म क्रमशः २७, २४, २७, ५६ र ३७ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको उल्लेख छ। 

बुस्टर डोज दिन किन ढिलो?
स्वास्थ्य मन्त्रालयको खोप सल्लाहकार समितिले गत डिसेम्बर २९ मा नै मन्त्रालयलाई स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिन सिफारिस गरेको थियो। समितिका सदस्य रमेशकान्त अधिकारीले आफूहरुले दुई हप्ताअघि सिफारिस गरेपनि कार्यान्वयनमा ढिलाइ भएको बताए।

‘अलि छिटो बुस्टर डोज दिएको भए स्वास्थ्यकर्मीहरु संक्रमित भए हुन्थेनन् कि भन्ने एउटा कुरो हो,’ उनले भने, ‘दुई हप्ता अगाडि नै बुस्टर डोजका लागि हामीले सल्लाह दिएका हौं तर ४० प्रतिशत जनतामा खोप लगाएर मात्रै बुस्टर डोजलाई कार्यान्वयनमा लैजाउ भन्ने कुरो भएको हो।’ 

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले ४० प्रतिशत जनतामा पूर्णमात्रा खोप लगाएर बुस्टर डोजमा जाने निर्णय अनुसार अहिले बुस्टर डोज सुरु गरिएको बताए। 

‘हामीले खोप नलगाएका अनि जोखिममा भएका मान्छेलाई बढी प्राथमिकता दिनुपर्ने हुन्छ। ती मान्छेहरु नहुञ्जेलसम्म अरुमा जान हुँदैन भनेर मन्त्रालयले अलिकति पछि सारेको हो,’ अधिकारीले भने, ‘खोप नलगाएका मान्छेहरूमा बढी जोखिम हुन्छ भनेर ४० प्रतिशत कभरेजपछि बुस्टर डोज लगाउने निर्णय भएको हो।’

मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म कुल जनसंख्याको करिब झन्डै ४० प्रतिशतले खोपको पूर्णमात्रा लगाएका छन्। ५२.१ प्रतिशतलाई कम्तीमा एकमात्र र ४९.९ प्रतिशतलाई पूर्णमात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, १८ वर्षमाथिका ७९.५ प्रतिशतलाई पहिलो मात्रा र ६०.९ प्रतिशतलाई पूर्णमात्रा खोप लगाइसकिएको छ। 

नेपालमा हाल २५ हजार ६८० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

सरकारले झण्डै ९ लाख अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलगायतलाई आइतबारदेखि बुस्टर डोज लगाउन थालेको हो। अग्रपंक्तिमा खटिनेदेखि ६० वर्षमाथिका सबै नागरिक र रोगप्रतिरोधी क्षमता कम भएका नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिने सरकारको निर्णय छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .