ad ad

समाज


नारायणहिटीमा बतास समूह : मिलेमतोमा ठेक्का, अनुमति नलिइ १४ रोपनीमा रेस्टुरेन्ट निर्माण

विकास समिति पनि मौन बसेर मिलेको निष्कर्ष
नारायणहिटीमा बतास समूह : मिलेमतोमा ठेक्का, अनुमति नलिइ १४ रोपनीमा रेस्टुरेन्ट निर्माण

प्रतिवेदन सार्वजनिक गर्दै समिति संयोजक लुइँटेल साथमा पर्यटनमन्त्री प्रेम आले। तस्बिर : यज्ञराज जोशी/नेपालखबर


यज्ञराज जोशी
पुस २६, २०७८ सोमबार १७:१, काठमाडौँ

नारायणहिटी दरबार संग्रहालय परिसरभित्र रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले मिलेमतोमा ठेक्का लिएको प्रतिवेदन छानबिन समितिले दिएको छ। 

यस प्रकरणबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित समितिले सोमबार २१ पेज लामो यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनमा गठन भएको समितिले दिएको प्रतिवेदन अनुसार बतास समूहले सरकारी निकायको मिलेमतोमा संग्रहालय भित्र रेष्टुराँ चलाउने ठेक्का हत्याएको खुलेको छ। 

गत बिहीबार मन्त्रालयका सहसचिव लुइँटेलको संयोजकत्वमा गठित समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै ठेक्का प्रक्रियामै गडबडी भएको निचोड निकालेको हो। 

तर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बतासलाई ठेक्का दिँदा आवश्यक कानुनी प्रक्रिया पनि पूरा नगरेको समितिले जनाएको छ।

बतासले नारायणहिटीको दक्षिण गेट नजिकै बनाएको पूर्वाधार भत्काइएको पनि समितिले जनाएको छ। तर बतास अन्तर्गत वि म्यानेजमेन्ट प्रालिले क्यान्टिन/क्याफ्टेरिया सञ्चालनका लागि प्रयोग गर्न पाउने जग्गा र त्यसको क्षेत्रफलको पनि निर्धारण नगरी ठेक्कामा दिइएको निष्कर्ष लुइँटेल नेतृत्वको समितिले निकालेको छ।

समितिले वि म्यानेजमेन्ट प्रालिले सम्झौताविपरीत संरचना निर्माण गर्दा पनि विकास समितिका कार्यकारी निर्देशकले कुनै कानुनी कारवाही गरेको नभेटिएको पनि उल्लेख गरेको छ। 

'त्यहाँ भइरहेको अवैध निर्माण कार्य तत्काल रोक्न र निर्माण नै हुन नदिनेतर्फ कुनै पहल भएको देखिएन', समितिले प्रतिवेदनमा भनेको छ।

त्यस्तै प्रतिवेदनमा विकास समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर कार्यकारी निर्देशकले वि म्यानेजमेन्ट प्रालिसँग जग्गा भाडा सम्झौता गरेको पनि उल्लेख छ।

यो जग्गाको ठेक्का प्रक्रियाका क्रममा सार्वजनिक खरिद कानुन २०६३ को दफा २६ को उपदफा ६ मा व्यवस्था भए बमोजिम एउटै परिवारका सेयर सदस्यहरु रहेका तीनवटा फार्मका बोलपत्रदाताहरु आपसमा मिलेमतो गरी न्यूनतम् मूल्याङ्कन २ लाख २० हजार ४४०/२६ भन्दा १ हजार १७७/७४ पैसा मात्रै बढी कबोल गरी ठेक्का सम्झौता गरेको पनि प्रतिवेदनमा उल्लेख छ। 

यसले दरबारमार्ग संग्रहालय भित्रको जग्गा भाडामा लाउँदा विकास समितिले समेत मिलेमतो गरेको ठहर प्रतिवेदकमा गरिएको छ। 

प्रतिवेदनमा आधिकारिक निकायबाट नक्सा पास नगरी, निर्माण स्वीकृति नलिई र मन्त्रालय एवम् विकास समितिको पूर्व स्वीकृतिसमेत नलिई अनुमानित १४ रोपनी क्षेत्रफलको जग्गामा थप नयाँ संरचना बनाइएको पनि लुइँटेल नेतृत्वको समितिले निष्कर्ष निकालेको छ। 

तर बि म्यानेजमेन्टसँग दरबार सङ्ग्रहालयभित्र रेष्टुराँ निर्माणका लागि विकास समितिले ६ रोपनी जग्गा दिने गरी सम्झौता गरेको थियो।

बि म्यानेजमेन्ट प्रालिले अनुमति पाएको भन्दा बढी क्षेत्रफलको जग्गामा स्वीकृति नलिइ नयाँ संरचनाहरु निर्माण गरेको देखिएकोले निर्माणकार्य तत्काल रोकी आवश्यक कारबाही गर्न पनि मन्त्रालयलाई सिफारिस गरेको छ।

यो समितिमा सहसचिव लुइँटेल संयोजक, उपसचिव टेकनारायण पौडेल, उपसचिव सूर्यमणि गौतम र उपसचिव पुरुषोत्तम खतिवडा सदस्य थिए। त्यस्तै शाखा अधिकृत टंकबहादुर नेगी समितिका सदस्य सचिव थिए। 

समितिले प्रतिवेदन दिनुअघि नै विकास समितिले नारायणहिटी संग्रहालय भित्र बतास समूहले बनाएको संरचना भत्काइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .